सहकारीको व्याजदर नबढ्ने, तरलता सहज हुने निष्कर्ष

  २०७८ पुष २० गते १७:४०     विकासन्युज

काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले सन्दर्भ व्याजदर नबढाउने संकेत दिएकाे छ । समितिले यसअघि सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने तयारी गरिरहेको भएपनि पछिल्लो केही दिन यता बैंकहरुमा तरलताकाे समस्या हल हुँदै गएकाे निष्कर्षसहित व्याजदर बढाउने जनाए दिएकाे हाे ।

यसअघि सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिमा सदस्य समेत रहेका सहकारी अभियानकर्मीहरु व्याजदर बढाउनका लागि दवाव दिँदै आएका थिए । तर, अब व्याजदर उनीहरू नै व्याजदर बढाउन नपर्ने निष्कर्षमा पुगेका छन् ।

सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीले तत्कालका लागि व्याजदर नबढ्ने बताए । उनका अनुसार पछिल्लो केही दिन तरलताको सहज अवस्था देखिने संकेत देखिएकोले व्याजदर बढाउने गरी बैठक पनि स्थगित गरिएकाे हाे ।

‘हामीले पुस १५ गते समितिको बैठक बोलाएका थियौं, त्यो दिन धेरैको राय बाझिएकोले बैठक स्थगित भयो, बुधबारका लागि बोलाएका थियौं, हिजो आज तरलता सहज हुने समाचारहरु आएपछि हामीले पनि बैठक स्थगित गर्यौं,’ उनले विकासन्युजसँग भने ।

यसअघि व्याजदर पुनरावलोकन गर्ने भन्दै बुधबारका लागि समितिको बैठक बोलाइएको थियो । तर, सो बैठक स्थगित भइसकेकाे छ । यसअघि पनि ब्याजदर बढाउनकै लागि भनेर पुस १५ गते बैठक बोलाइएको थियो । सो बैठक पनि बिना निश्कर्ष सकिएको थियो । सो बैठकमा समितिका केही सदस्यहरुले तत्कालका लागि व्याजदर बढाउनु पर्ने आधार नभएको भन्दै पछिका लागि बस्ने भन्दै बैठक टुङ्गिएको थियो ।

अभियानकर्मीहरुले हालको १४.७५ प्रतिशत सन्दर्भ व्याजदरलाई बढाएर १६.७५ प्रतिशतसम्म पुर्याउनु पर्ने माग गर्दै आएका थिए ।

सहकारी ऐन–२०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । सहकारी विभागका रजिष्टार संयोजक रहेको समितिमा सहकारी मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रि सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रि सहकारी बैंक र सहकारी विभागकै उप–रजिस्टार सदस्य रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.