यूएईको गोल्डेन कार्ड लिँदै पहुँचवाला नेपाली, ठूलो परिमाणमा पुँजी पलायन

  २०७८ पुष १४ गते ११:४७     विकासन्युज

काठमाडौं । उच्च तहसम्मको पहुँच, अपारदर्शी कमाई र नेपालको भविष्यप्रति शंकालु नेपालीहरुले युनाइटेड अरब इमिरेट्स (यूएई) को गोल्डेन कार्ड लिन थालेका छन् । युएईले आकर्षक सुविधा सहितको गोल्डेन कार्ड दिन थालेपछि नेपालका व्यवसायीहरु पनि यसप्रति आकर्षित भएका छन् ।

१० लाख दिराम अर्थात ३ करोड २५ लाख नेपाली रुपैयाँ यूएईमा लगानी गरेर गोल्डेन कार्ड लिन सकिने यूएई सरकारको नीति छ । यूएई सरकारले त्यसको स्रोत खोज्दैन ।

पछिल्लो समय उच्च तहमा राजनीतिक पहुँच बनाएर प्रसस्त पैसा कमाएका व्यवसायी, भ्रष्टाचार गरेर मनग्य सम्पत्ति जोडेको नेता तथा प्रशासकहरुले युएईको गोल्डेन कार्ड लिने गरेका स्रोतले बतायो । यूएईमा लगानी गर्ने लगानीकर्तालाई सरकारको तर्फबाट आकर्षक सुविधा दिइने र लगानीको अवसर बढी प्राप्त हुने र लगानीको स्रोत खोजीमा पनि सहज व्यवस्था भएको कारण नब धनाढ्या नेपालीहरु युएईको गोल्डेन कार्डप्रति आकर्षित भएका हुन् ।

‘कमाएको सम्पत्तिको स्रोत देखाउनदेखि अन्य कानुनी अल्झनमा पर्न सकिने खतरा पनि रह्यो, त्यसैले हाम्रा धेरै साथीहरु यूएईको गोल्डेन कार्ड लिएर बसेका छन्, नेपालमा केही समस्या हुने अवस्था देखियो भने उतै (युएई) सिफ्ट हुने उदेश्य देखिन्छ,’ एक व्यवसायी नाम उल्लेख नगर्ने सर्तमा भने । विजनेश कम्यूनिटीका धेरै मानिसले यस्तो कार्ड लिइसकेको उनको भनाई छ ।

के हो गोल्डेन कार्ड ?

यूएईले सन् २०१९ देखि गोल्डेन कार्ड जारी गर्न थालेको हो । यूएईमा लामो समय बस्नको लागि लगानीकर्ता, व्यवसायी, विशेष क्षमता भएका तथा विज्ञान प्रविधिमा विषेश दक्षता भएका अनुसन्धानकर्ता र वैज्ञानिक क्षमता भएका विद्यार्थीको लागि १० वर्षे गोल्डेन भिसा दिने गरिएको छ ।

युएई सरकारले सन् २०१८ मा पारित गरेको ‘रिजोलुसन नम्बर ५६’ को अधिनमा रहेर गोल्डेन कार्ड दिने गरेको छ । यस्तो कार्ड लिनको लागि लगानीकर्ता, उद्यमी र प्रोफेसनल ट्यालेन्ट योग्य हुने भनिएको छ ।

यस्तो कार्ड १० वर्षपछि र स्वतः नविकरणको व्यवस्था भएको जनाइएको छ । गोल्डेन कार्डलाई युएईले विदेशी नागरिकका लागि युएईमा स्थायी बसोबास सुविधा पनि भनेको छ ।

कसले पाउँछ ?

गोल्डेन कार्ड लिनको लागि जुनसुकै देशको नागरिकले पनि कम्तिमा पनि १० लाख दिराम (नेपाली रुपैयाँसँग विनियम दर प्रतिदिराम ३२.५९ रुपैयाँ) अर्थात ३ करोड २५ लाख रुपैयाँ बराबर लगानी गरेको हुनुपर्छ । यस्तो लगानीको रकम कर्जा लिएर लगानी गरेको भने हुनु हुदैन । यस्तै, युएईभित्रको कुनै पनि इन्भेष्टमेन्ट फण्डमा १० लाख दिराम जम्मा गरेको व्यक्ति पनि १० वर्षे गोल्डेन कार्डको लागि योग्य हुने भनिएको छ ।

सुविधा कस्ता छन् ?

युएईको गोल्डेन कार्ड प्राप्त गरेको लगानीकर्ता तथा व्यवसायीले आफ्नो श्रीमान् वा श्रीमती, छोराछोरी, एक जना कार्यकारी निर्देशक र एक जना सल्लाहकारलाई युएईमा लैजान र सँगै राख्न पाउँछन् । यस्तो कार्ड वाहकलाई व्यक्तिगत आम्दानीमा कर नलाग्ने, युएईको वित्तीय गतिविधिमा संलग्न हुन पाइने, लगानी गर्न र काम गर्न स्वतन्त्रता पूर्वक पाइने, स्वास्थ्य बीमा सुविधा पाइने, सवारी चालक अनुमतिपत्र पाइने र प्रत्येक वर्ष ६ महिनाको लागि विश्वका १६७ देशहरुमा अनअराइभल भिसा सुविधा सहित घुम्न पाइने जस्ता सुविधा प्राप्त हुने अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

५ वर्षे गोल्डेन कार्ड पनि

युएईले अहिले ५ वर्षे गोल्डेन कार्ड पनि जारी गरिरहेको छ । यस्तो कार्ड विशेष गरेर युएईका कम्पनीहरुमा कार्यरत विदेशी दक्ष कामदारलाई लक्षित गरेर ल्याइएको हो ।

तर, लगानीकर्ताले ५ लाख दिराम लगानी गरेको अवस्थामा ५ वर्षे अवधिको गोल्डेन कार्ड पाउने र यस्तो कार्ड दिने पनि १० वर्षे गोल्डेन कार्डवाहकले जस्तै सुविधा पाउने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

को–को नेपाली व्यवसायीले लिए गोल्डेन कार्ड ?

अहिले नेपाली उद्यमी व्यवसायीको बीचमा युएईको गोल्डेन कार्डबारे चर्चा बढेको छ । सरकारले नियम अनुसार नेपालबाट विदेशमा लगानी गर्न नपाइने कानुन बनाएको भएपनि विभिन्न विकल्पहरु प्रयोग गरेर नेपाली व्यवसायीले युएईको गोल्डेन कार्ड लिने गरेका छन् ।

‘सरकारले विदेशमा लगानी गर्नको लागि नेपालीलाई दिएको छैन, त्यसैले मैले लिएको छु भनेर कसैले पनि भन्ने कुरा भएन तर, धेरै व्यवसायी साथीहरुले गोल्डेन कार्ड लिएका छन्’ एक व्यवसायीले भने ।

यसले गर्दा नेपालबाट अदृष्य रुपमा ठूला परिणाममा पुँजी पलाएन भएको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्समा गिरावट आउने र बैकिङ क्षेत्रमा तरलताको अभाव हुनुमा धेरै कारणहरू मध्ये पुँजी पालायन एउटा महत्वपूर्ण कारण भएको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.