अर्थमन्त्री, विनोद चौधरी र राजेन्द्र मल्लले देखेका नीतिगत बिचौलिया को हुन् ? (भिडियोसहित)

  २०७८ मंसिर १६ गते १३:४५     सन्तोष रोकाया

काठमाडौं । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेकाे एक कार्यक्रममा उद्योगी व्यवसायी र अर्थमन्त्री जनार्दन शर्माले समेत देशमा नीतिगत बिचौलिया बढेको धारणा राखे ।

नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी, जसले नीतिगत तहमा पनि आफ्नो दख्खलता राख्न सक्छन, उनीहरुले देशमा बिचौलिया र दलाली गर्नेहरु बढेको भन्नु र देशको बहालवाला अर्थमन्त्रीको रुपमा काम गरिरहेका शर्माले पनि सोही विषयलाई गम्भीरताका साथ सार्वजनिक कार्यक्रममा धारणा राख्नु आश्चर्यजनक मात्रै होइन देश काेबाट र कसरी चल्दैछ भन्ने विषयमाथि पनि प्रश्न खडा भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो छोटो भनाई राख्दै नेपालमा विदेशी लगानीकर्ताहरुलाई नेपालमा ढुक्क भएर लगानी गर्न र त्यसको ग्यारेन्टी सरकारले लिने धारणा व्यक्त गरे र बिदा मागे ।

कार्यक्रममा प्रधानमन्त्री पछि आफ्नो धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले देशमा कमिशन खाएर नीतिगत बिचिौलियाकाे काम गर्नेहरु बढेको सन्देश दिए ।

उनले कार्यक्रममा भने, ‘बिचको कमिसन खाएर अर्थतन्त्र चलाउने प्रवृतिको अन्त्य हुन आवश्यक छ, त्यस्ता बिचौलियाको अन्त्य कसरी गर्न सकिन्छ हामी काम गरिरहेका छौं, व्यवसायिकतालाई उन्मुख पार्नको लागि प्राथमिकता प्राप्त क्षेत्रले बैंक ग्यारेन्टी लिएर वैदेशिक ऋण पाउने व्यवस्था छ, अब केही नीतिहरु संशोधन गर्ने तयारी गरिरहेका छौं, सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरको छ ।’

नेपाल सरकारको अर्थमन्त्रालय सम्हालेर काम गरिरहेका व्यक्तिले बिचौलिया बढेको भनेर सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राख्दै हिँड्ने कि त्यस्तो प्रवृति विरुद्द ‘अन दि स्पोट’ एक्सन लिएर काम गर्ने ? यो विषय वहसको त छँदैछ । उनको यो भनाईले उद्योगी व्यवसायी तथा लगानीकर्ता मात्रै होइन सर्वसाधारणहरुका लागि पनि डर त्रास र चिन्ताको विषय भने अवश्य नै हो ।

देशका वहालवाला अर्थमन्त्री नै बिचौलिया बढे, बिचको कमिसन खाएर अर्थतन्त्रलाई नै गलत ट्रयाकमा लिए, नीतिगत भ्रष्ट्राचार बढ्यो भनेर सार्वजनिक कार्यक्रममा भनिरहँदा सर्वसाधारण र लगानीकर्ताले गुनासो गर्न कहाँ जाने ?

कार्यक्रममा अर्थमन्त्री शर्मापछि बोल्ने अवसर पाएका उद्योगी विनोद चौधरीले पनि बिचौलिया बढेको सन्देश  गज्जवले खफैलाए । देशका सांसद समेत रहेका उनले पनि बडो गम्भीरताका साथ अर्थतन्त्र बिचौलियाहरु द्वारा ‘लिड’ हुने गरेको जानकारी गराए ।

‘अर्थतन्त्रलाई फ्रन्टबाट लिड गर्नु पर्ने अवस्थामा बिचौलियाहरुबाट लिड हुने काम भइरहेको छ, फन्डामेन्टल (आधारभुत) पोलिसीहरु बिचौलियाबाट निर्देशित हुने वातावरण बनेको छ, यही कारणले अहिले तरलताको संकट सिर्जना भएको छ, लगानीमा उदाशिनता देखिएको छ, उनले निराश हुँदै भने ।

देशको प्रतिष्ठित उद्योगपति त्यसैमा वर्तमान शेर बहादुर देउवा नेतृत्व गरेको सरकारको सासंद, जसले नीति निर्माण र उद्योगी तथा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नमा पनि उनको योगदान महत्वपूर्ण हुनु पर्ने हो ।

उनको उद्योग व्यवसायमा भएको अनुभवले पनि उनले सरकारलाई सही, उद्योगी–व्यवसायी र लगानीमैत्री वातावरण सिर्जना गर्नमा पहल हुनु पर्थ्यो । तर, तिनै उद्योगी चौधरी पनि सार्वजनिक कार्यक्रममै आफ्ना धारणा राख्दै गुनासो पोख्छन् र भन्छन् ‘देशमा बिचौलिया बढे, अर्थतन्त्रको नेतृत्व बिचाैलियाले नै गरे ।’

१/२ आइसोलटेड उदाहरण अगाडि सारेर त्यो क्षेत्रलाई नै धोका थुन्नु राज्यलाई विकासको बाटोबाट अगाडि बढ्नुबाट थुन्नु भएके उनको भनाई छ ।

यस्तै, उनले उनले बिचौलियाहरुले नै लाइसेन्स राज तर्फ देशलाई फर्काउन खोजेको पनि बताए । ‘अहिले स्टक एक्सचेन्ज खोल्न पनि लाइसेन्स चाहिने, ब्रोकर खोल्न लाइसेन्स चाहिने, बीमा कम्पनी खोल्न पनि लाइसेन्स चाहिने, हरेक क्षेत्रमा लाइसेन्स चाहिने हुँदा अब मुलुक लाइसेन्स युगमा फर्क्यो, लाइसेन्स दिने औचित्य हरेर मात्रै त्यसको निर्णय गर्नु पर्छ,’ उनले भने ।

अर्थमन्त्री शर्मा र उद्योगी चौधरीले बिचौलियाको सन्देश फैलाएर कार्यक्रमबाट बाहिरिएपछि बिचौलियाको बारेमा खुलेर बोल्ने मौका पाए नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ।

उनले सुरुमै भने, ‘मलाई प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई कुरा सुनाउन मन थियो, तर, उहाँहरु गइसक्नु भयो, अब तपाईं पत्रकार साथी सुनाइदिनु होला, नीतिगत दलाली गरेर अर्थतन्त्रमा चलखेल गर्ने तत्व तथा बिचौलियालाई कसरी निराकण गर्न सकिन्छ, नीति नियमहरु बिचौलियाकै निर्देशनमा आएको हामीलाई महसुस हुँदैछ ।’

उनले नीतिगत बिचौलियाहरुको न्यूनीकरण गर्नको लागि पहल गर्न पत्रकारहरुलाई नै आग्रह गरे ।

‘अहिले भर्खरै बीमा क्षेत्रमा नयाँ किसिमको थ्रेट आएको छ, बीमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्नु पर्ने नीतिले विदेशी कम्पनीहरुसँगको सम्बन्ध विच्छेद हुने सम्भावना छ, यो नीतिले देशलाई भलो हुन्छ भने छलफल गरौं तर, नेपालमा रहेका दुईटा पुनर्बीमा कम्पनीहरुले मात्रै जोखिम धान्न सक्दैनन्,’ उनले भने ।

कनै पनि नयाँ नीतिहरु ल्याउँदा सम्बन्धित सरोकारहरुवालासँग छलफल नभई बिचौलियाहरुको स्वार्थमा नीति आउने गरेको पनि उनकाे गुनासाे छ ।

‘सरोकारवालासँग छलफल नै नगरेर नीति तथा निर्देशन आइरहेका छन्, बीमा समितिले सबै नेपाली बीमा कम्पनीले नेपालकै पुनर्बीमा कम्पनीमै पनर्बीमा गर्नु पर्ने निर्देशन दियो, अहिले पुनर्बीमा कम्पनीको पुँजी १७ अर्ब रुपैयाँ मात्रै छ, बीमा कम्पनीको व्यवसाय खर्बौंको हुन्छ, यो अवस्थामा नेपालका पुनर्बीमा कम्पनीले जोखिम नै वहन गर्न सक्दैनन्, नीतिको सम्पूर्ण ‘इप्याक्ट’ अध्ययन र छलफल गरेर मात्रै यस्ता नीति तथा निर्देशन आउन पर्छ,’ उनले थपे ।

बीमा रिक्स सेयर गर्ने क्षेत्र भएकोले नियामक निकायले यसरी बन्धकमा राख्नु नपर्ने उनको भनाई छ । उनका अनुसार एउटा व्यक्तिभन्दा पनि देशभर बिचौलियाको बिगबिगी छ ।

‘बिचौलियाका लागि न प्यान कार्ड चाहिने नत नागरिकता नै, नत कर नै तिर्छन्, जुनसुकै अफिसमा पनि बिचौलियाको बिगबिगी छ, यसलाई नियन्त्रण गर्न आवश्यक छ,’ उनले भने ।

भिडियाे:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.