‘शेखरले काम गर्न सक्छ र भन्थे, एक वर्षमै महासंघको ‘इमेज’ चेन्ज गरेँ’

  २०७८ मंसिर १४ गते १५:०२     सन्तोष रोकाया

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नयाँ नेतृत्व पाएको आज (मंगलबार) एक वर्ष पुरा भएको छ । गत वर्ष मंसिर १३ गते भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष सहितका पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएका थिए भने अघिल्लो पटक भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका शेखर गोल्छा स्वतः अध्यक्ष बनेका थिए ।

गत वर्ष मंसिर १४ गते महासंघको नयाँ कार्यसमितिमा निर्वाचित भएकाहरुको आज एक वर्ष पुगेको छ । यो एक वर्षको समयावधिमा महासंघले उल्लेख्य काम गरेको महासंघको ठहर छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासमा नयाँ कार्यसमति आए पनि यो अवधिमा लक्ष्य अनुसारको काम गर्न सकेको महासंघका अध्यक्ष शेखर गोल्छा दावी गर्छन् ।

गोल्छाका अनुसार यो एक वर्षको अवधिमा महासंघ १० वर्षे भिजन पेपर बनाउने, सम्पूर्ण उद्योगी व्यवसायीका समस्याहरुलाई लिएर सरकारसँग लविङ गर्नेदेखि अन्तर्राष्ट्रिय स्तरका उद्योगी व्यवसायीहरुसँग पनि सुमधुर सम्बन्ध स्थापित गर्ने र महासंघको विधान संशोधनको विषय अगाडि बढाउने लगायत कार्यमा सफल भएको उनको बुझाई छ ।

निर्वाचनमा जितपछि तस्वीर खिचाउँदै अध्यक्ष गोल्छा र वरिष्ठ उपाध्यक्ष ढकालसहितका पदाधिकारी ।

‘हामीले कार्य समितिमा आउँदा जे जस्ता प्रतिवद्धता र योजनाहरु बनाएर अगाडि बढेका थियौं ती योजना र लक्ष्यहरु पूरा गर्नको लागि काम गरिरहेका छौं, कतिपय काम पुरा पनि भए, कतिपय प्रक्रियामा नै छन्, हामीले महासंघको साधारणसभा अगाडि नै भिजन पेपर बनाएर प्रस्तुत गर्ने योजना बनाएका थियौं, त्यसमा हामी सफल भयौं,’ गोल्छाले एक वर्षमा गरेको कामको फेहरिस्थ सुनाउँदै भने ।

भिजन पेपर मुख्य उपलब्धी

अध्यक्ष गोल्छा वर्तमान कार्य समितिले एक वर्षमा गरेको मुख्य काम ‘भिजन पेपर’ बनाउने नै भएकाे बताउँछन् । उनले भिजन पेपर बनाउँदा देशभरका सम्पूर्ण साना तथा मझौला र ठूला उद्योगी व्यवसायीहरुको समस्याहरु सुन्दै उनीहरुका सल्लाह सुझावहरु पनि समेटेकोले यसले पूर्णता पाउनेमा दुविधा नरहेको बताए ।

‘यो एक वर्षको अवधि निकै उपलब्धिमुलक भएको मैले महसुस गरेको छु, जुन चुनौतिमामा हामीले नेतृत्व सम्हालेका थियौं, त्यसबेला सम्पूर्ण कोरोना भाइरसको महामारीको कारण आर्थिक क्षेत्र जोखिममा थियो, त्यतिखेर हाम्रो चुनौतिको विषय कोरोना भाइरसले सिर्जना गरेको समस्याहरुलाई समाधान गर्ने र आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने थियो, जुन सम्भव भयो, र, अहिले आर्थिक गतिविधिहरु बढेका छन्,’ उनले भने ।

उनका अनुसार मौद्रिक नीति मार्फत साना तथा मझौला व्यवसायीहरुसँगै ठूला व्यवसायीहरुलाई पनि राहतका कार्यक्रम ल्याउनका लागि पहल गरेकोले पनि आर्थिक पुनरुत्थानमा धेरै टेवा पुगेको हो ।

राष्ट्र बैंकको नीतिको कारण ठूला व्यवसायीहरुलाई पुनरताकिकरण गर्न पनि सजिलो भएको बताउँदै राष्ट्र बैंकको विभिन्न सहज नीतिले अर्थतन्त्र चाँडै नै लयमा आउन सहयोग पुगेको बताए ।

‘महामारीमा बैंकको व्याजदर पनि घट्यो, तरलता मेन्टेन पनि भयो, त्यही समयमा हामीले भिजन पेपर पनि ल्याऔं, त्यसलाई सरकारले ग्रहण पनि गर्यो,’ अब हामी यसलाई कार्यान्वयन गर्ने पक्षमा जान्छौं,’ उनले थपे ।

वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष भएपछि पदवहाली गर्दै अध्यक्ष गोल्छा ।

महासंघले निजी क्षेत्रको आर्थिक विकाससँगै समग्र मुलुकै अर्थतन्त्र सुधारको खाकासहित भिजन पेपर २०३० तयार पारेको थियो । महासंघले भिजन पेपरमार्फत २०३० सम्ममा १०० विलियन डलरको अर्थतन्त्र बनाउने, व्यापार घाटालाई आधा बनाउने, २२ लाख युवाहरुलाई स्वरोजगार दिने योजना बनाएको छ ।

उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौला व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम भजिन पेपर मार्फत नै काम गर्ने बताए ।

अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि लागि पर्ने उनको भनाई छ । अर्थतन्त्रको विकासका लागि महत्वका हिसाबले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्नेदेखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ ।

यस्तै महासंघले महासंघको सचिवालयको सुधार, विभिन्न कार्य समितिहरूको गठन र जिम्मेवारी बाँडफाँड लगायतका काममा उल्लेखनीय काम गरेको गोल्छाको भनाई छ ।

प्रतिवद्धता क्रमशः पालना

महासंघको निर्वाचनमा बेला लिएका प्रतिवद्धताहरु पालना गर्नमा आफु सफल भएको अध्यक्ष गोल्छाको दावी छ । उनका अनुसार निर्वाचनमा होमिदा व्यक्तिगत वा समूहगत प्रतिवद्धता भएपनि अब ती प्रतिवद्धता साझा भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि महासंघ लागि परेको छ ।

‘हामी कार्यै समितिमा आउँदा नै समय कठिन थियो, जुन खालाको लक्ष्य र योजना लिएर हामी महासंघमा आयौं, यो अवधिमा राम्रै प्रगति भएको जस्तो मलाई महसुस भएको छ, यति नै प्रतिशत काम गरेँ भन्न गाह्रो छ, तर, काम धेरै अगाडि बढाइसकेका छौं, यसको नतिजा विस्तारै देखिन्छ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालसहित उपाध्यक्षहरु अध्यक्ष गोल्छाबाट सपथ लिँदै ।

उनका अनुसार सुरु भएका कामहरुलाई पूरा गर्न अर्थात त्यसको नतिजा देखिने समय लाग्छ । ‘महासंघको नेतृत्व लिइकसेपछि यो एक वर्षको अवधिलाई हेर्ने हो भने हाम्रो टीमले राम्रो काम गरेको छ, यो नेतृत्वले लिएका लक्ष्यहरु पुरा गर्न सफल भएको छ, टीम राम्रो छ, काम भइरहेको छ,’ उनले थपे ।

उनका अनुसार यो एक वर्षको समय महासंघका रहेका कमि कमजोरी र लिनु पर्ने कदमहरुको पहिचान पनि नयाँ कार्यसमतिले गरेको बताए । प्रतिनिधिसभाका विभिन्न समिति मार्फत लविङ गर्न सुरु गर्ने देखि उद्योगी व्यवसायीलाई परेको समस्या राष्ट्र बैंकमा राखेर राष्ट्र बैंक मार्फत विभिन्न राहतका प्याकेजको व्यवस्था गर्नमा आफु नेतृत्वको महासंघले धेरै काम गरेको उनको भनाई छ ।

‘हामीले साना तथा मझौला व्यवसायीका लागि व्याजदर घटाउनका लागि हामीले भिजन पेपरमा पनि उल्लेख गरेका छौं, १ करोडभन्दा कमको कर्जामा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने जुन व्यवस्था भएको छ, यस्ता व्यवस्था ल्याउनका लागि हामीले धेरै पहल गर्यौं, विस्तारै हामीले गरेका कामहरु सुरु भइरहेका छन्, कतिपय सुरु गर्न पनि बाँकी छन्, हामीले संगठन विकास तथा सचिवालय सुधारको काम पनि गर्यौं, पूर्वाधार विकासमा पनि काम भयो,’ उनले एक वर्षमा गरेको कामको अनुभव सुनाउँदै भने ।

अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि महासंघले राम्रो काम गरेको उनको बुझाई छ ।

विधान संशोधनको अन्तिम मस्यौदा तयार

महासंघको वर्तमान कार्य समितिको मुख्य एजेण्डा विधान संशोधनको थियो । अहिले विधान संशोधनको प्रक्रिया भइरहेको गोल्छाले बताए ।

‘हामीले महासंघको विधान संशोधनको विषयलाई प्रमुख एजेण्डा बनाएर अगाडि बढेका थियौं, विधान संशोधनको अन्तिम मस्र्यौदा आइसकेको छ, अब हामी विभिन्न प्रदेश, एसोसिएट, वस्तुगत तथा जिल्लाका व्यवसायीहरुसँग छलफल तथा उहाँहरुका धारणाहरु लिने प्रक्रिया सुरु गर्छौं, त्यसपछि हामी कार्य समितिमा त्यसलाई प्रस्तुत गर्छौं,’ उनले भने ।

विधान संशोधन साधारणसभाले गर्ने विषय भएको बताउँदै उनले पहिलेको विधानमा धेरै कमि कमजोरीहरु रहेको र ती कमि कमजोरीहरुलाई पूरा गर्ने महासंघले लक्ष्य लिएको बताए ।

उनले महासंघको विधान संशोधनको विषयमा सबैलाई समेटेर सबैका सुझाव तथा सल्लाहहरुलाई लिएर मात्रै अगाडि बढ्ने बताए ।

गुटको पत्तासाफ

अध्यक्ष गोल्छा यसअघि महासंघभित्र हुने गुट उपगुटको अन्त्य गर्न आफु सफल भएको दाबी गर्छन् । यसअघि निर्वाचनमा जाँदा पनि विभिन्न समूह गरेर जाने र एक पक्षले अर्को पक्षलाई असहयोग गर्ने प्रवृति भएपनि आफुले अन्त्य गर्न सफल भएको उनको ठहर छ ।

दुई फरक समूहबाट निर्वाचत महासंघको वर्तमान पदाधिकारीको टीम ।

‘अहिले महासंघको ‘इमेज चेन्ज’ भएको छ, हामी सबै जना मिलेर काम गरिरहेका छौं, कार्य समितिमा को कुन समूहबाटभन्दा पनि हामी सबै कार्य समितिको सदस्य तथा पदाधिकारी हौं, सबैले मिलेर उद्योगी व्यवसायीका समस्या समाधानका लागि लाग्नु पर्छ भन्ने भावना सिर्जना भएको छ, हामी एक भएको सन्देश दिइसकेका छौं, महासंघमा अब कुनै समूह छैन,’ उनले भने ।

‘महासंघ ‘फुल टाइम जब’ हो, म आफ्नो व्यवसायमा पनि एकदमै व्यस्त हुन्छु, तर, अधिकांश समय महासंघको लागि निकालेको छु, शेखरले समय निकाल्न सक्दैन, काम गर्न सक्दैन भनेर पहिले धेरै साथीहरुले शंका पनि गरे, अहिले पनि गरिरहेका पनि छन्, तर त्यसको वेवास्ता गर्दै म अहिले मेरो सम्पूर्ण समय महासंघका लागि खटिरहेको छु, लिएका लक्ष्यहरु पुरा गरिरहेको छु,’ उनले थपे ।

सरकार र समकक्षीसँग समुधर सम्बन्ध

अध्यक्ष गोल्छाले आफु नेतृत्वको कार्यसमिति आएपनि सरकार र विदेशी समकक्षीहरुसँग पनि राम्रो सम्बन्ध कायम भएको बताएका छन् । उनले निजी क्षेत्र सरकारसँगको सहकार्य, समन्य र हातेमालो बिना अगाडि बढ्न नसक्ने बताउँदै त्यसको लागि महासंघ सधैँ काम गरिरहेको बताए ।

कोरोनाको कालमा पनि सरकारले उद्योगी व्यवसायीहरुलाई भन्दै विभिन्न राहतका प्याकेज ल्याएको बताउँदै सरकारको पनि केही लिमिटेशनका कारण कहिले काँही समस्या सिर्जना हुने बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग महासंघका पदाधिकारी ।

‘हामीले पनि हाम्रो ठाउँबाट लविङ गरिरहेका छौं, अस्थिर सरकार भएको कारणले मात्रै कहिले काँही समस्या आउँछ, भनेको बेला समस्या समाधान हुँदैन, चाहेको बेला उद्योगी तथा व्यवसायीमैत्री नीति बन्दैनन्, समग्रमा सरकार र निजी क्षेत्रको सहकार्यले नै यो देशको विकास हुने हो,’ उनले भने ।

उनका अनुसार गोल्छाको नेतृत्वको महासंघले यो एक वर्षको अवधिमा विदेशी समकक्षीहरुसँग पनि राम्रो सम्बन्ध विस्तार गरेको छ । उनले देशमा विदेशी लगानी भित्र्याउनका लागि पनि आफुले ठूलो पहल गरेको बताए ।

‘जबसम्म लगानीको प्रतिफल राम्रो छ भनेर हामी कन्भिन्स गर्न सक्दैनौं तबसम्म विदेशी लगानी आउँदैन, हामीले रहर गरेर विदेशी लगानी आउँदैन, हामीले तुलनात्मक लाभ देखाउन सक्नु पर्छ, त्यसका लागि एउटा तुलनात्मक अध्ययन पनि गरेका छौं, लगानी सम्मेलन गर्दा पनि हामी त्यसलाई अगाडि बढाउने छौं,’ उनले आगामी योजना सुनाउँदै भने ।

तरलताको संकटले समस्या

अध्यक्ष गोल्छा अहिले बैंकिङ प्रणालीमा तरलताको अभाव रहेको बताउँदै यसको व्यवस्थापन हुनु पर्ने धारणा राख्छन् । अहिले उद्योगी व्यवसायीलाई बैंकबाट कर्जा लिन गाह्रो र व्यवसाय विस्तार गर्न पनि समस्या भइहरेको भन्दै उनले राष्ट्र बैंकले तरलताको व्यवस्थापनमा ध्यान दिनु पर्ने सुझाव दिन्छन् ।

‘अहिले भइरहेको तरलताको अभावको समस्या समाधान होस् भन्ने हामी चाहन्छौं, सीसीडी रेसियो वा सीडी रेसियो यी सबै प्राविधिक विषयहरु मात्रै हुन्, हामी उद्योगी व्यवसायीलाई बैंकबाट ऋण चाहिएको छ, हामीले चाहेको बेला सहजै सस्तो दरमा ऋण उपलब्ध होस् भन्ने हाम्रो चाहना हुन्छ,’ उनले भने ।

उनका अनुसार अहिले बैंकहरुले ऋण दिन सकिरहेको अवस्था छैन । ‘अलिकति जोखिम लियो भनेपनि त्यसले हामीले नाफा नै हुन्छ, हामीले जोखिम लिन सक्नु पर्छ, सधैं सुरक्षित अवस्थामा पनि बस्नु हुँदैन,’ उनले थपे ।

उनले अहिले कोरोना तरलताको चुनौति मात्रै रहेको बताउँदै पर्यटनसँग सम्बन्धित क्षेत्रहरु, साना तथा मझौला उद्योग, मिडिया लगायतका क्षेत्रहरु अझै समस्याग्रस्त अवस्थामा रहेको बताए । यी क्षेत्रको क्रमशः सुधार गर्दै जान आवश्यक रहेको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघका पदाधिकारी ।

‘प्रतिवद्धता भइसकेको अर्थात स्वीकृत भइसकेको डकुमेन्टमार्फत ऋण पाउन पनि हामीलाई गाह्रो भइरहेको अवस्था छ, यी विभिन्न व्यवस्थाहरु भन्दा पनि राष्ट्र बैंकले जति सक्दो तरलताको व्यवस्थापन गर्न तर्फ लाग्नु पर्छ ,अहिले अवस्था गम्भीर छ,’ उनले थपे ।

नेपालमै अन्तर्राष्ट्रिय लगानी सम्मेलन

नेपाल उद्योग वाणिजय महासंघले नेपालमै अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने योजना बनाइरहेको अध्यक्ष गोल्छाको भनाई छ । महासंघले नेपालमै लगानी सम्मलेन गरेर विदेशी लगानी भित्र्याउने योजना महासंघको भएपनि कोरोनाले समस्या सिर्जना गरेको सुनाए ।

‘हामीले नेपालमै अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न चाहेका थियौं, चीन र भारतलाई फोकस गरेर लगानी सम्मेलन गर्ने हाम्रो योजना थियो, त्यसका लागि केही प्रयास पनि गर्यौं तर, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण त्यो सम्भव हुन सकेको छैन । परिस्थिती सामान्य भयो भने लगानी सम्मेलन गर्ने लक्ष्य छ,’ उनले भने ।

महासंघ साना तथा मझौला उद्योगी व्यवसायीहरुकै लागि बढी बोलिरहेका बताउँदै उनले विदेशी लगानी भित्र्याएर युवाहरुलाई स्वरोजगार बनाउने र नयाँ उद्यमी जन्माउने बताए ।

महासंघले भिजन पेपर अनुसार नै हामी अगाडि बढ्ने बताउँदै उनले कोरोना भाइरसले समस्या परेको क्षेत्रलाई कसरी पुनरुत्थान गर्ने, कसरी संगठनलाई दह्रो बनाउने, भौतिक पूर्वाधार विकासका काम कसरी बढाउने भन्ने विषयमा पनि गम्भीर किसिमले योजना बनाइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.