सिभिल, कुमारी र सिन्धु विकास बैंक प्रकरणः बैंकरकै नियत खराब कि राष्ट्र बैंकको कमजोरी ?

  २०७८ मंसिर ९ गते १८:३०     सन्तोष रोकाया

काठमाडौं । अहिले नेपाली बैंकिङ क्षेत्रमा तीन वटा ठूला ‘बैंकिङ फ्रड’ का घटनाहरु बाहिरिएका छन् । पहिलो, सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप ।

सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले तामाङलाई गत असोज १८ गते पक्राउ गर्यो । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका तामाङको विषयमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

तामाङले सहकारीको ५ अर्ब ६३ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । तामाङ सहित पक्राउ परेका १२ जनालाई सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी भइरहेको सीईआईबीको भनाई छ ।

अहिले सार्वजनिक भएको बैंकिङ क्षेत्रकै अर्काे घटना हो नक्कली कागजातको आधारमा प्रवाह भएको कुमारी बैंकको १९ करोड रुपैयाँको कर्जा प्रकरण । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरण अहिले बैंकिङ क्षेत्रमा वहसको विषय बनेको छ । अहिले कुमारी बैंकका एक्टिङ प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिना सो प्रकरणमा बैंकिङ कसुरको अभियोगमा सीआईबीको बयान दिन गइरहेका छन् । तिमिल्सिना पनि सो प्रकरणको अनुसन्धानमा तानिएका छन् ।

यस्तै, बैंकिङ क्षेत्रमै देखिएको अर्को डरलाग्दो घटना हो बैंकको भल्टको रकम निकालेर मिटर व्याजमा लगानी गर्ने । सिन्धु विकास बैंकको काभ्रेको दोलालघाट शाखाका म्यानेजर सुमन खरेलले बैंकको भल्टमा रहेको रकमबाट निजी प्रयोजनका लागि मिटर व्याजमा लगानी गर्ने गरेको विषयले पनि बैंक र बैंकरमाथि प्रश्न उठाएको छ ।

प्रहरीले अनुसन्धान गर्दा खरेलसहित ५ जना मिलेर बैंकको भल्टमा राखिएको पैसा मिटर व्याजमा लगाउने गरेको पाइएको छ ।

यी तीन घटना मात्रै होइनन्, केही महिना अगाडि महालक्ष्मी विकास बैंकले बैंकमा धितोको रुपमा राखेको ऋणीको सुनलाई नक्कली बनाएको विषयले पनि बैंकहरुको छविमाथि प्रश्न उठाएको छ ।

यद्यपि, यी फरक प्रकृतिका घटनामाथि सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् । एकपछि अर्को डरलाग्दो ‘बैंकिङ फ्रड’का रुपमा बाहिर आएका यी विषयहरुले केही प्रश्नहरु भने उब्जाएको छ । नेपाली बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीको मनोविज्ञान तथा नियत, बैंकिङ क्षेत्रको ‘इन्टरनल कन्ट्रोल सिस्टम’ र नियमनकारी निकायको नियमन, कार्यशैली, कौशलता र भूमिकाको विषयमा भने प्रश्न अवश्य नै उठेको छ ।

पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बैंकरको नाफा कमाउने होडबाजी र गलत अभ्यासले नै यस्ता घटनाहरु बढ्न थालेको बताउँछन् ।

‘राम्रो–नराम्रो जुनसुकै उपाय अपनाएर पनि नाफा गर्नुपर्छ भन्ने मानसिकताले बैंकहरुलाई थिचेको छ, नाफा गर्ने क्रममा आश्चर्यनक हर्कतहरु भएका हामीले देखेका छौं, यसमा सही सुपरभिजन गर्न आवश्यक छ, राष्ट्र बैंकले गर्न खोजे पनि प्रभावकारी हुन सकेन भन्ने त यस्ता घटनाले देखाएकै छ,’ पूर्व गभर्नर क्षेत्रीले भने ।

उनका अनुसार जब संख्यात्मक रुपले बैंक तथा वित्तीय संस्थाहरु बढ्छन्, त्यसपछि यस्ता अपराधिक घटनाहरु बढ्छन् । हिजो पनि बैंक तथा वित्तीय संस्थाहरु धेरै भएको कारण तिनलार्ई खारेजीमै लैजानु पर्ने अवस्था आएको भन्दै उनले राष्ट्र बैंकले अझै प्रभावकारी रुपमा नियमन गर्नुपर्ने बताए ।

‘नियमन र सुपरीवेक्षण अनसाइड र अफ साइडबाट हुन्छ, अनसाइड भनेको फिल्डमै गएर अध्ययन अनुसन्धान गरेर गर्न सकिन्छ, अफसाइड भनेको कागजातहरु माग गरेर अध्ययन गर्न सकिन्छ, जब कागजातहरु मगाएर मात्रै नियमन गर्न खोजिन्छ, त्यहाँ अवश्य पनि ढाँट छलहरु हुन्छन्, अहिले राष्ट्र बैंकमा पनि कर्मचारीको संख्या घट्दै गएको छ, पुराना गएर नयाँ कर्मचराीको प्रवेश भइरहेको छ, त्यसले पनि नियमनमा केही कमजोरी हुन सक्छ तर, आफ्नो कर्तव्यप्रति राष्ट्र बैंक सचेत नै देखिन्छ,’ क्षेत्रीले थपे ।

बैंक तथा वित्तीय संस्थाहरुले ल्याएको प्रडक्ट सुन्दा राम्रो भएपनि भित्री रुपमा केही तिता घटनाहरु हुने गरेको उनी अनुभव सुनाउँछन् ।

‘बैंक तथा वित्तीय संस्थाहरुले पहिले उक्साएर कर्जा दिने, पछि एउटा किस्ता पनि बन्द भयो भने धितो लिलाम गर्ने प्रक्रिया अगाडि बढाइहाल्छन्, राम्रो धितोलाई जानीबुझी हडप्ने घटनाहरु पनि हामीले देखेका छौं, पहिलेका बैंकका पदाधिकारीहरु अहिले खर्बपति भएका छन्, यस्तो प्रवृतिले नै उनीहरुका अहिले मुख्यमुख्य ठाउँमा ५/६ रोपनी जग्गा जोडेको देखिन्छ,’ क्षेत्रीले भने ।

ऋणीकै दोष बढीः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ‘बैंकिङ फ्रड’का घटनाहरुमा ऋणीहरुकै बढी दोष हुने गरेको बताउँछन् । उनले पछिल्लो समय ‘बैंकिङ फ्रड’ बढी नभएको बताउँदै बढी बाहिर आएको दाबी गरे ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल

‘घटनाहरु पहिले पनि हुन्थे तर, गुपचुप नै हुन्थे, अहिले बाहिर आएकोले बढी घटना भएका हुन् कि भन्ने जस्तो भएको हो, यस्ता घटनाहरुमा कर्मचारीको मनोविज्ञान पनि गलत हुन सक्छ तर, मुख्य दोष गलत नियत ऋणीको नै भएको हामीले पाएका छौं,’ उनले भने ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले सबै ग्राहकको नियत एउटै नहुने भन्दै ग्राहकको लापरवाही र नियतले नै पनि यस्ता घटनाहरु बढ्ने गरेको बताए ।

‘कुनै ऋणीको नियम सही त कुनैको गलत पनि होला, यस्ता घटना संसारभर नै हुन्छन् तर, ती घटनालाई समयमै उजागर गरेर समाधान गर्नुपर्छ, बैंक तथा वित्तीय संस्थाहरुले पनि धितो रोक्कादेखि कर्जा दिनेसम्मका प्रक्रियामा जुनस्तरको ‘डेडिकेशन’ हुनुपर्ने हो, त्यो पुगेको देखिँदैन,’ ढकालले थपे ।

राष्ट्र बैंकले नियमनका व्यवस्था अनुसार नै नियमन गर्नुपर्ने बताउँदै उनले बैंकका कर्मचारीले पनि कर्जा दिँदा अवलम्बन गर्नु पर्ने उपाय र सजकतालाई बढी ध्यान दिनु पर्ने ढकालको भनाई छ ।

बैंकिङ क्षेत्रमा देखिने जोखिमहरु कम गर्न वा यस्ता खालका घटना हुन नदिनका लागि बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीलाई त्यस्तो खालको तालिम तथा दक्षताको पनि आवश्यकता रहेको उनको भनाई छ ।

क्रस चेकिङ युनिट खोलौंः विज्ञ

बैंकर पर्शुराम कुवँर क्षेत्री बैंकिङ व्यवसाय जोखिम व्यवस्थापन गरेर गरिने भएकोले अभिमुखिकरणको कल्चर बढाउन आवश्यक रहेको बताउँछन् ।

बैंकर पर्शुराम कुवँर क्षेत्री

उनका अनुसार यस्ता घटनाहरु कतिपय कर्मचारीको कम दक्षता र केही गलत मनोविज्ञानका ऋणीहरुको कारण पनि हुने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको क्षमता विकास र प्रविधिमैत्री बनाउनका लागि अभिमूखिकरण तालिमहरु दिन आवश्यक छ ।

‘अहिले प्रविधिको समय छ, मालपोतले सम्पूर्ण जग्गाहरु इन्टरनेटमै राख्यो, बैंकरले पनि मालपोतको वेसाइडमै गएर त्यो जग्गाको कित्ता नम्बर, क्षेत्रफलदेखि जग्गा भएको ठाउँ पनि हेर्न सक्छ, भ्यालुएटरले पनि त्यसकै आधारमा मूल्यांकन गर्न सक्छ, त्यो बीचमा फसाउने वा फसिने सम्भावना कम हुन्छ, यसले पनि यस्ता खालका फ्रड कम गर्न सकिन्छ,’ बैंकर क्षेत्रीले भने ।

धेरे घटनामा कर्मचारीलाई पनि फसाउने काम भइरहेको भन्दै उनले केही घटना बाहेक धेरैमा ऋणीको नै गलत मनोविज्ञान हुने गरेको बताए ।

‘हामीले धेरै विषयहरुमा सुधार गर्न आवश्यक छ तर, सुधार नभएकै होइन, हामीले गर्ने हाम्रा क्रियाकलापमा के कस्ता जोखिम छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक छ, राष्ट्र बैंकले पनि नियमनमा केही सुधार गरेको छ तर, अझै धेरै विषयमा ध्यान दिन आवश्यक छ,’ क्षेत्रीले थपे ।

यस्तै, बैंकर कृष्णराज लामिछाने बैंकिङ फ्रडका ठूला घटनाहरु हुन नदिनका लागि छुट्टै खालको संयन्त्र स्थापना गर्नु पर्ने बताउँछन् ।

विभिन्न कारणले यस्ता खालको घटनाहरु हुने र बैंक तथा वित्तीय संस्थाहरु नै बद्नामी हुनुपर्ने अवस्था सिर्जना हुने गरेकोले अब ठूलो रकमको कर्जा प्रवाह गर्नका लागि क्रस चेकिङ युनिट खोल्नु पर्ने राय लामिछानेको छ ।

बैंकर कृष्णराज लामिछाने

यस्ता घटनाहरु सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको स्वनियमनको कमिका कारण नै हुने गरेको उनको बुझाई छ ।

‘यस्ता घटनाहरुमा कसैलाई दोष दिन मिल्दैन, बैंक तथा वित्तीय संस्थाहरुमा लाखौंको संख्यामा ग्राहक हुन्छन्, त्यसमा सीमित इस्यूहरु आउनु धेरै ठूलो विषय पनि होइन तर, सचेत हुन आवश्यक छ, एकले अर्कालाई विश्वास र भरोसा नगर्दासम्म काम पनि अगाडि बढ्दैन, एक जना कर्मचारीले बदमासी गर्यो भने दोष सबैले भोग्नु परेको छ,’ लामिछानेले भने ।

मालपोत तथा भ्यालुएटरले गलत गरे पनि दोष सीईओलाई आउने भएकोले आगामी दिनमा यस्ता घटना नदोहोरिनका लागि थप लगानी गरेर भएपनि केन्द्रियस्तरमै ‘क्रस चेकिङ युनिट’ स्थापना गरेर काम गर्नु पर्ने लामिछानेको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X