यसरी लिनुस् जग्गा किन्न सञ्चय कोषबाट १ करोडसम्म सापटी

  २०७८ मंसिर ९ गते १४:२८     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिद गर्नका लागि १ करोड रुपैयाँसम्म सापटी दिने भएको छ । यसअघि घर खरिद गर्नका लागि ५० लाख रुपैयाँ सापटी दिँदै आएपनि अब भने जग्गा खरिद गर्नको लागि अधिकतम १ करोड रुपैयाँसम्म सापटी दिने कोषले जनाएको हाे ।

कोषले वार्षिक ७.९ प्रतिशत व्याजमा सापटी दिने भएको छ । सो रकमको भुक्तानी भने सञ्चयकर्ताको सेवा अवधि अनुसार हुनेछ । यद्यपि यो सुविधा कोषका सञ्चयकर्ताहरुका लागि मात्रै हो ।

एक वर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा यो सापटी दिन लागिएको हो । सेवा अवधि २ वर्षभन्दा कम भएका संचयकर्तालाई जग्गा खरिद गर्न सापटी दिइने छैन ।

कोष अनुसार सञ्चयकर्ताको सेवा अवधि हेरेर सापटी दिइनेछ । यदि सञ्चयकर्ता सेवा गरेको २ वर्ष भइसकेको छ भने उसले सो रकम भुक्तानी गर्न लामो समय पाउने छ भने सेवाबाट अवकास पाउन ५ वर्ष मात्रै बाँकी रहेका सञ्चयकर्ताले ५ वर्षभित्र नै सो रकम भुक्तानी गरिसक्नु पर्ने कोषका प्रवक्ता दामोदर सुवेदीले बताए ।

उनका अनुसार यसअघि कोषबाट अन्य सापटी सुविधा लिएका सञ्चयकर्ताले ५० लाख रुपैयाँ र कुनै पनि सुविधा नलिएका सञ्चयकर्ताले १ करोड रुपैयाँ पाउनेछन् ।

तर, सो सापटी भने जग्गाको मूल्यांकन गरेर दिइनेछ । १ करोड रुपैयाँ सापटी लिनेको जग्गाको मूल्याकंन १ करोड रुपैयाँभन्दा बढीको हुनु पर्ने कोषको भनाई छ ।

सुवेदीका अनुसार जग्गाको मूल्यांकन र १५ वर्ष जतिको तलब जुन कम हुन्छ सोही रकम सापटीका रुपमा प्रदान गरिनेछ। कोषका अनुसार जग्गा खरिद गर्नका लागि १ करोड रुपैयाँ सापटी लिनका लागि केही कागजातहरुको आवश्यक पर्छ ।

यी हुन् चाहिने कागजात:

१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

२. जागिर सेवा अवधि वा पदावधि र तलब प्रमाणित कागजपत्र

३. जग्गाको प्रिन्ट नक्सा

४. चार किल्ला प्रमाणपत्रको कागज (कम्पाउण्ड गरेको हुनु पर्ने)

५. माथिका कागजपत्र सहित केही शुल्क र सञ्चयकोषको जग्गा सापटी फारम भर्ने ।

६. सञ्चय कोषले उक्त कागजपत्र मूल्याङ्कनको लागि मूल्याङ्कन विभागमा पठाउने ।

७. सञ्चय कोषमा रहेका सूचिकृत मुल्यांकनकर्तालाई केही शुल्क तिरेर भाैचर लिनु पर्ने ।

८. मुल्यांकन रिपोर्ट आएमा धितो मुल्यांकन पास हुन्छ ।

कसले पाउँछन् सापटी ?

कोषले दिने यो सेवा लिन चाहने सञ्चयकर्ता एक वर्षदेखि नियमति रुपमा कोषमा योगदान गरेको हुनु पर्नेछ । काेषले ताेकेकाे रकम, धिताे मूल्यांकन र १५ वर्षकाे अवधिमा हुन आउने जुन रकम कम हुन्छ साे रकम सापटीकाे रुपमा पाइने काेषकाे भनाई छ ।

यदि सञ्चयकर्ताको तलब ३० हजार रुपैयाँ छ भने उसकाे १५ वर्षकाे तलब ५४ लाख रुपैयाँ हुन आउँछ । जग्गा खरिदका लागि जग्गाको मूल्यांकनका आधारमा ५० लाख रुपैयाँ सापटी पाउँछ ।

बढी सेवा अवधि रहने व्यक्ति यो कोषको बढी फाइदा उठाउन सक्छन् । किनकि उसले न्यूनतम किस्तामा लामो समयसम्म रकम भुक्तानी गर्ने समय पाउँछ । सेवा अवधि ५ वर्ष मात्रै बाँकी रहेका सञ्चयकर्ताले ५ वर्ष भित्रै लिएको सबै सापटी भुक्तानी गरिसक्नु पर्ने हुन्छ । यसले उसलाई किस्ता पनि बढी तिर्नु पर्ने बाध्यता रहन्छ ।

२ वर्षभन्दा कम सेवा अवधि रहेका सञ्चयकर्ता भने यो योजना पाउने छैनन् । सापटीको किस्ता त्रैमासिक रुपमा तिर्नु पर्नेछ ।

कहाँबाट लिने सापटी ?

काठमाडौं उपत्यकाका लागि ठमेलमा रहेको सञ्चयकोषको कार्यालयले जग्गा सापटी दिन्छ । उपत्यका बाहिरका ३२ जिल्लामा यो सापटी पाइने कोषले जनाएको छ । नगरपालिका र  उपमहानगरभित्रका केही मापदण्ड तोकिएका ठाउँहरुको जग्गा हेरेर सापटी पाइने सुवेदीको भनाई छ ।

सापटी शाखा कार्यालयबाट सजिलै पाउन सकिन्छ ।  कोषका अनुसार किन्नु पर्ने जग्गानै धितोका रुपमा राख्नु पर्नेछ । यसमा कुनै सीमा तोकिएको छैन । जति पनि सञ्चयकर्ताले यो योजनामा सहभागी हुन पाउनेछन् । अर्थात उनीहरुले जग्गा खरिद गर्नका लागि रकम सापटी लिन सक्नेछन् । हालसम्म घर सापटी दिइरहेका ठाउँमा जग्गा सापटी पाइनेछ ।

व्याजदर प्रत्येक आर्थिक वर्षमा परिपवर्तन हुने कोषको भनाई छ । कोषको शाखा कार्यालय धनगढी, सुर्खेत, कोहलपुर, बुटवल, पोखरा, हेटौडा र बिराटनगर लगायतका ठाउँहरुबाट यो सुविधा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.