अनामनगरमा यस्तो बन्यो ७३ करोड लागतमा महालेखाको १० तले अत्याधुनिक भवन

  २०७८ मंसिर ७ गते १६:०३     विकासन्युज

काठमाडौं । महालेखा परीक्षकको कार्यालयका लागि काठमाडौंको अनामनगरमा अत्याधुनिक भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सकिएकोले मंसिर ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

२०७२ को शक्तिशाली भूकम्पको कारण महालेखाको बबरमहलमा भएको भवनमा क्षति पुगेर प्रयोग गर्नै नसक्ने अवस्था आएपछि अनामनगरमा नयाँ भवन बनाइएको हो । कार्यालयले २०७३ साल साउन ३१ गते लुम्बिनी/गौरी पार्वती शान्ति जेभीलाई भवन निर्माणको ठेक्का दिएको थियो ।

सुरुमा सो भवन बनाउनको लागि ७८ करोड २० लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । यद्यपि, ठेकेदारसँग सुरुमा ६१ करोड २७ लाख १७ हजार रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो । ठेकेदारलाई भेरियसन वापद सुरु ठेक्का रकमको ६.६६ प्रतिशत रकम थप गरी कुल ७३ करोड ९ लाख ४३ हजार रुपैयाँमा सो भवन निर्माण भएको हो ।

महालेखा परीक्षकको कार्यालयका सहप्रवक्ता नेत्रप्रसाद पौडेलले दिएको जानकारी अनुसार भवन निर्माणको लागि ठेकेदारसँग सम्झौता हुँदा २०७६ साल भदौ २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर, समयमै तोकिएको समयभित्र भवन निर्माण सम्पन्न नभएपछि ४ पटक म्याद थप गरेर यही कात्तिक मसान्तभित्र भवन बनाइसक्ने सम्झौता भएको थियो ।

सो भवन ७ रोपनी क्षेत्रफलको जग्गामा बनेको छ । भवनमा बेसमेन्ट सहित १० तला छन् भने अण्डर ग्राउन्ड २ तलाको छ । जसलाई पार्किङको लागि प्रयोग गरिनेछ । सो पार्किङमा ५० वटा ४ पांग्रे सवारी साधन र २४० वटा दुई पांग्रे सवारी साधन अट्ने छन् ।

भवनको भुईतलामा रिसेप्सन, पुस्तकालय, सोधपुछ कक्ष र चमेनागृह हुनेछ भने पहिलो तलामा फाइल व्यवस्थापन कक्ष बनाइएको छ । दोस्रो तलामा महालेखा परीक्षकको कार्यकक्ष, ७५ जना अट्ने क्षमताको बैठक कक्ष र विशिष्ट व्यक्ति भेटघाट कक्ष हुनेछ । अन्य तलाहरुमा कार्यालयका विभिन्न विभागहरु हुनेछन् ।

कार्यालयमा १ जना महालेखा परीक्षक, ४ जना उपमहालेखापरीक्षक, १८ जना नायब महालेखापरीक्षक सहित ६४३ जनाको दरबन्दी छ । बबरमहलमा रहेको भवनमा भूकम्पबाट क्षति पुगेपछि कार्यालयले बबरमहलको आफ्नै भवनका प्रयोग गर्न मिल्ने कोठाहरु तथा पुल्चोक, ताहाचल, अनामनगर र डिल्लीबजारमा भवन भाडामा लिएर कार्यालय संचालन भइरहेको छ ।

अनामनगरमा रहेको भवन बनिसकेपछि कार्यालयका विभिन्न स्थानमा रहेका विभागहरु सोही स्थानमा सार्ने योजना रहेको छ ।

भवनका विशेषता

सो भवन परम्परागत र आधुनिक ढाँचाको संयुक्त आवरणको छ । पार्किङको लागि दुई तला छन्, जसमा २४० वटा दुई पांग्रे सवारी साधान र ५० वटा ४ पांग्रे गाडी अट्ने छन् ।

यस्तै, भवनमा २ सय जना अट्ने क्षमताको सभाकक्ष छ भने खुल्ला कार्यकक्षको अवधारणमा बनाइएको छ । फाइल व्यवस्थापनको लागि एकीकृत कक्षको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.