तिहार अघिको सेयर बजारः सामान्य अंकले बढ्यो, तीन शीर्षकमा नबिलको अग्रता

  २०७८ कार्तिक १७ गते १६:२१     विकासन्युज

काठमाडौं । तिहार अघिको सेयर बजार सामान्य अंकले बढेको छ । कार्त्तिक १७ गते बुधबारको सेयर बजार ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो ।

दिनभरको कारोबारमा ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन एक अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेयर कित्ता र कारोबार संख्याको आधारमा पनि नबिल अग्रस्थानमा रहेको छ । बैंकको एकैदिन ७ लाख ५ हजार ४३० कित्ता सेयर ७ हजार ४८३ पटकमा किनबेच भएको छ ।

बैंकले सेयरधनीलाई उच्च लाभांशको घोषणा गरेसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै, बुधबार तीन कम्पनीको सेयर मूल्यमा सर्किट भएको छ । महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स र साहस उर्जाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । यससँगै महालक्ष्मीको सेयर मूल्य प्रतिकित्ता ८०३, आईसीएफसीको ९६६ र साहसको प्रतिकित्ता ५९३ रुपैयाँ रहेको छ ।

बजारमा छ्याङ्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ४९० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.