२०७८ कार्तिक १७ गते १५:१४ विकासन्युज
काठमाडाैं । चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदुत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिईसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए ।
उता, चिनियाँ राजदुत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले २ दिन पछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिए ।
नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड कोभिडविरुद्धको खोप ल्याईसकेकाे छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.