२०७८ असोज ७ गते ११:५३ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित सो निर्णय गरेको हो ।
अध्यक्ष शाक्यले सरकारले गरेका निर्णयको पुन पालना गर्दै कोभिड–१९ विरुद्धको खोप लगाएपछि विद्यालय सञ्चालन गर्न सकिने बताए । ‘सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्छ । अनुगमन आए पालना गरौँला, नत्र आफ्नो अनुकुल हेरौँला भन्ने सोच राख्नुहुन्न । विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोविड १९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ । यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौँ,’ उनले भने ।
उनले कक्षा सञ्चालन गर्नु अघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाएपछि मात्र विद्यालय सञ्चालन गर्न सकिने जनाए ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रतिकुल परिस्थिति व्यवस्थापनका लागि निर्णय भइरहेकोले यसप्रति सबै जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।
विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ ।
यसमा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.