टेलरवाली कि सीएसडीवाली ?

  २०७८ असोज ३ गते ११:५९     सुशिल घिमिरे ‘त्रैलोक्य’

सानै पोस्टको सरकारी जागिर खाएपनि आमाले मलाई सानोमा हुर्काउन धेरै दुःख गर्नुभयो । आफ्ना रहर र खुसीहरु बिर्सिएर एक्लो छोरालाई नै हेरेर चित्त बुझाउनु भयो । छोराकै खुसीमा आफनो खुसी देख्नुभयो ।

आमाले मेरो लागि गरेको दुःख सम्झेर होला, म आमाले भनेको हरेक कुरा मान्दछु । आमाले भनेपछि नाई भन्न जानिनँ मैले । आमा पनि मैले भनेको हरेक कुरा मान्नु हुन्छ ।

हामी सकारात्मक सोचको छौं । दुवै जना कर्मलाई विश्वास र पुजा गर्ने । दुई जनाको परिवार, आमा र छोराको परिवार । सायद त्यही आमाको दुःख र आशिषले होला, आज म पनि नेपाल सरकार अन्तर्गतकाे राजस्व विभागको शाखा अधिकृत भएको ।

मेरी आमालाई गफ गरिरहनु पर्छ । आफन्त इष्टमित्रकोमा गईरहनु पर्दछ । आफन्त भनेपछि हुरुक्कै हुने बानी । आमा सानैदेखि व्यवहारमा परेर होला, बोल्न र जुनसुकै कुरा पनि टाक्क टुक्क मिलाउन सिपालु । हरेक कुराको समाधान भएको मान्छेमा गन्छु म मेरी आमालाई । आफन्तहरुले पनि खुब मन पराउँछन् आमालाई । मन पनि किन नपराउनन त, लगभग धेरै इष्ट मित्रहरुको विवाह गराइ दिनुभएको छ । कसैको छोरी बढिन् भने आमालाई नै गुहार्छन् । तिम्रो त धेरै जनासँग चिनजान छ, राम्रो छ, यसो केटा खोज न भन्छन् । अनि कसैको छोरा बढे भने राम्रो र सुशील केटेी खोज न भन्छन् । एक हिसाबले आमा टोलकै लमी जस्तै हो ।

एक दिन आमाले म अफिस जाने बेलामा भन्नुभयो– सुन त, दुनियाँलाई केटा खोजें, केटी खोजें, अव तँ पनि जागिरे भइहालिस्, तेरो पनि विवाह गर्ने बेला भयो, कोही छ मन पराएको ?

मैले अनकनाउँदै छैन भने । जवाफमा आमाले त्यसो भए म केटी खोज्छु है, राम्रो बुहारी खोज्छु है, तँ पनि जागिरे, बुहारी पनि जगिरे ल्याउनु पर्दछ नि भन्नुभयो । दुबै जना जागिरे भयो भने आर्थिक हिसाबले सजिलो र सुख हुन्छ भन्ने आमाको भनाई थियो । कमाउने केटी विवाह गर्नु पर्दछ भन्ने सुनाउनु भयो ।

आमाको नजर बैंकमा काम गर्ने केटीहरुतिर गएको रहेछ । त्यसैले भन्दै हुनुहुन्थ्यो– बैंक छ्यापछ्याप्ति छन् । कुनै एक बैंकको नोकरीवाला केटी विवाह गर्नु पर्दछ बुझिस ? घरधन्दा गर्ने म छदैँछु, सकुन्जेल घर सफागर्ने खाना पकाउने म गर्छु, तिमीहरु जागिर गर, म हुन्जेल, मेरा हातगोडा चलुन्जेल, बुहारीले दु:ख र घरको काम गर्नु पर्दैन ।

आमाले यसो भन्दै गर्दा ल ल, जे गर्नु भन्दै म अफिसतिर लागे ।

वेलुका साँझ परेपछि म घर आउँदा आमा फतफताउँदै भान्सामा खाना पकाउँदै हुनुहुँदो रहेछ । के भयो ? किन फतफताएर एक्लै बाेलिराखेको ? हात गोढा धुँदै मैले प्रश्न गरे । हेर्न आज एउटा निजी बैंक गएको, तलाई केटी हेर्न र कुन केटी ठिक हुन्छ भनेर जाँच्न । त्यहाँ अविवाहित उमेर अलि पाकै भएकी मेनेजर रहिछिन् । यसो लोनको बहानामा कुरा गरेको बढै बाम्ठेकी पो रहिछन् । मन परेन ।

अनि मैले आमालाई भने, चिन्नु न जान्नु तपाईंलाई मन परेपनि को हुन्, कहाँका हुन, विवाह विवाह गर्न मान्छन् मान्दैनन ? उनीहरुको राय नबुझी सिधै जाने हो त ? मैले आमालाई प्रश्न गरे ।

सिधै त कहाँ हो र, बैंककै कामको बहानाले पो कुरा गरेको त हो नि । चिन्नु किन परेको छ र ? मलाई केटी ठिक लाग्यो भने म टाक्कटुक्क एक एक ओटा नाता केलाएर साइनो लगाई हाल्छु नि । दुनियाँको विवाह गराएँ, तेरो लागि त राम्रो खोज्नु परो नि दिमाग लगाएर । आमाले यसो भन्दै गर्दा म ट्वा, परें ।

भोलिपल्ट फेरि म अफिसतिर लागे । अचेल मेरी आमाको म अफिस गएपछि कामै यहि भएको छ । खाता खोल्ने बहानाले, लोन लिने बहानाले दैनिक जसो एक एक ओटा बैंक जाने, अनि बैंकका लेडिज कर्मचारीलाई सुटुक्क चियो गर्ने । उनीहरुको बोली विचार गर्ने, चालचलन विचार गर्ने, हिँडाई, लगाई, अग्लाई, मोटाइ विचार गर्ने ।

म अफिसबाट घर आउँदा आज पनि आमा भान्सामा एक्लै फतफताई रहनुभएको थियो । हात गोढा धुँदै मैले प्रश्न गरें, के भयो आमा ? आमाले भन्नुभयो– हेर न आज एक बैंक गएको इन्चार्ज सिन्चार्ज के भन्दा रहिछन्, त्यो केटीले त झपारी पो बाइ मलाई । हजुर आमा धेरै प्रश्न गर्नुहुँदो रहेछ पो भनी । राम्रो लागेर घर कहाँ हो भनेर सोेधेको, भरे त रिसाई पो । म आमाको कुरा सुनेर मुसुक्क हाँसे, केही भन्नै सकिन ।

लगभग एक डेढ महिना जति आमा दैनिकजसो यो शहरको हरेक बैंक धाउनु भयो । आमाले आफनो लागि चित्त बुझदो बुहारी भेट्टाउनु भएन । तर हरेस पनि खानु भएन । लागि रहनु भयो । हराएकी बुहारी खोज्न । दुई तीन महिनासम्म आमाले बुहारी नभेट्टाएपछि मलाई पनि आमाले यसरी मेरो हुनेवाला श्रीमती खोज्न सक्नु हुन्न भन्ने लागिसकेको थियो ।

एक दिन अफिसबाट घर फर्कदै घरको मुल गेट खोल्दै गर्दा सधै भान्सामा हुने आमा आज हस्याङ फस्याङ गर्दै मेरो बाइकको आवाज सुनेर गेटमै दैडिएर आउनु भयो । के भयो ? किन दौडिदै आउनु भएको आमा ? भनेर भन्दा आमाले सायद आँगनमा बाेलेको छिमेकीले सुन्छन् भनेर होला मेरो कानमा साउती मार्दै भन्नु भयो आज बुहारी खोजे नि । कहिले भेटिँदैन कहिले दुई दुई वटा । ल हेर फोटो भन्दै आफ्नो मोवाइलमा दुईजना बैंकर केटीको फोटो, जुन आमाले उनीहरुसँग गफै गफमा तिम्रो अनुहार त मेरी छोरीको जस्तै छ, म उसलाई देखाउछु ल, आउ त फोटो खिचुम् भन्दै फकाउँदै उनीहरुसँग सेल्फी खिच्नु भएको रहेछ । त्यो देखाउनु भयो । आमाले मलाई अझ प्रष्ट पार्दै भन्न थाल्नु भयो– ल हेर यो गोरी अनि गालामा हाँस्दा खोविल्टो (डिम्पल) परेको छ नि, यो फलानो बैंकको फलानो शाखाको टेलरमा काम गर्ने । अनि अर्को सेल्फी फोटो देखाउँदै भन्नुभयो– यो ओठमाथि कोठी छ नि, यो चाहि फलानो बैंकको फलानो शाखाको सीएसडीमा काम गर्ने ।

अब तँ निक्र्याेल गर है, सीएसडीवाली कि टेलरवाली ? मलाई भोलि भन् भन्दै आमाले फेरि भन्नुभयो सुन त अस्ति गाउँको जग्गा बेचेको पैसा पचास लाख छ नि त्यो यो टेलरवालीको बैंकमा राखेर उसैले ल्याएको कस्टमर भनेर भन्नुपर्छ बुझिस् । अहिले र्माकेटमा डिपोजिट क्राइसिस छ क्या, त्यहि टेलरवालीले ल्याएको कस्टमर हो म, भनेर डिपोजिट उसको बैंकमा गर्यो भने उसको पनि अफिसमा सान बढ्ने अनि मलाई पनि चिनजान र कुरा अगाडि बढाउन सजिलो । तंँलाई पनि आमाको खाता छ भन्दै यसो दिनै पच्छिे सानो तिनो हजार पाँच सयको चेक काट्नु क्या, जाने हेर्ने बाटो खुल्छ । नभए कुरा मिलेन भने आफनो डिपोजिट हो निकाल्ने नि । आमाले आफ्नो चलाखीपन सुनाउनु भयो । म फेरि ट्वा परे । र, खाना खाइसकेपछि सुत्न कोठातिर लागें ।

आमाको मोवाइल मैसँग । अनायसै के सम्झे कुन्नि, आमाको मोवाइल खोलेर उही आमाले मन पराउनु भएको सीएसडीवाली र टेलरवालीको पालैपालो फोटो हेर्न थाले । साच्चै दुवै जना राम्रा थिए, गोरा, हँसिला । आमाले भनेझै हाँस्दा गालामा डिम्पल देखिने त्यो टेलरवालीमा मलाई हिन्दी सिनेमाको प्रिती जिन्टाको जस्तै झझल्को आयो ।

अनि म के के सम्झदै आफैसँगै हाँसे । अनि अर्को फोटोमा ओठ माथि कोठी भएकी सीएसडीवाली मलाई नेपाली सिनेमाकी रेखा थापा जस्तै लाग्यो । कता कता काउकुति लागेर आयो । उता पल्लो कोठामा आमाले भोलिको मेरो रोजाई र निर्णय के होला भन्दै सोच्दै गर्दा म भने डिम्पल र कोठीको बीचको दोधारमा फसेको थिए ।

मलाई हाँस्दा डिम्पल भएको मन पर्दछ । मलाई कोठी पनि मन पर्दछ । डिम्पल कोठी दुवै भएको केटी त औधि मन पर्दछ । तर, पनि आज मैले एक निर्णय गर्नु थियो । दुबै जना हेर्दा बत्तिसै लक्षणले युक्त थिए । तर, पनि टेलरवाली कि सीएसडीवाली आजको रातमा एक रोज्नु थियो । सोच्दा सोच्दै खै कति खेर भुसुक्कै निदाए, थाहै भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.