कांग्रेसकाे रूपान्तरण अपरिहार्य भइसकेको छ: पूर्वसभामुख रानाभाट

  २०७८ भदौ ३० गते १९:४०     विकासन्युज

पोखरा । नेपाली कांग्रेस पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले नेपाली काङ्ग्रेसमा रूपान्तरण अपरिहार्य भइसकेको बताएका छन् ।

कांग्रेसमा २००७ र २०४६ सालको जस्तो ऊर्जा कायम राख्नका लागि सुवर्ण शमशेर र गणेशमानका जस्तो त्याग र बीपी कोइरालाका जस्तो जीवनसापेक्ष वैचारिक हस्तक्षेप राख्ने गरी नेतृत्वमा रूपान्तरण आवश्यक रहेको रानाभाटले बताए । नेपाली लेखक संघ, कास्कीद्वारा आयोजित किशोरदत्त बरालद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको रूपान्तरणका सूत्रहरू’ को लोकार्पण समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै रानाभाटले यस्ताे बताएका हुन् ।

कार्यक्रममा पुस्तकमाथि समीक्षकीय दृष्टिकोण प्रस्तुत गर्दै प्रा.डा. यादव शर्मा गौँडेलले लेखकले पुस्तकमा नवीन चिन्तन र विचार प्रक्षेपण गरेको बताए । राजनीतिक दल भनेका समाजका अगुवाहरूको जमात बन्नुपर्ने उद्घोष पुस्तकमा गरिएको बताउँदै उनले पुस्तकमा उद्यमशीलता, रोजगारी र पुँजी निर्माणलाई विशेष जोड दिइएको बताए ।

कृषि, जडीबुटी, पर्यटन र जलस्रोतलाई केन्द्रमा राखेर पार्टीको नेतृत्वले आफूलाई उद्यमशील बनाउँदै कार्यकर्ता पङ्क्तिलाई समेत उद्यमशीलतातर्फ अग्रसर गराउनु पर्ने वर्तमान आवश्यकतालाई पुस्तकले दह्रोसँग उठान गरेको उनले बताए ।

पुस्तकमा विचार मात्रै नदिएर पार्टीको रूपान्तरणका व्यावहारिक एवम् वैज्ञानिक उपायलाई समेत प्रस्तुत गरिएकाले प्रस्तुत पुस्तक एकपटक राजनीतिमा लाग्ने र आफूलाई व्यावहारिक बनाउन चाहने सबैले अध्ययन गर्नुपर्ने गौँडेलले बताए । विगत र वर्तमानको ऐनाका रूपमा पुस्तक आएको उल्लेख गर्दै उनले शिक्षा, प्रविधि एवम् आर्थिक क्षेत्रलाई राजनीतिक दल सञ्चालनसँग जोडेर व्यवस्थापन कौशल र अर्थशास्त्रीय दृष्टिकोणसमेत पुस्तकमा आउनुले पुस्तक ओजिलो बनेको बताए ।

अर्का समीक्षक एवम्कांग्रेस नेता देवराज चालिसेले प्रस्तुत पुस्तक किशोरदत्त बरालको अनुभवबाट खारिएको विचार बोकेर आएको उल्लेख गरे । काङ्ग्रेसको मूल्य, मान्यता र लक्ष्य के हुनुपर्छ भन्नेबारे पुस्तकले विभिन्न आधार प्रस्तुत गरेको बताउँदै चालिसेले नेतृत्व सङ्लिए मात्र सिङ्गो राजनीति सङ्लिने कुरालाई पुस्तकले विशेष जोड दिएको बताए । राजनीतिक दलमा निर्णय प्रक्रिया, पारदर्शिता, उत्तरदायित्व र आर्थिक अनुशासनको ठूलो मूल्य रहेको कुरालाई लेखकले प्रमुखताका साथ उठाएको हुँदा पुस्तकले वास्तविकताको उठान गर्दै कांग्रेस रूपान्तरणको स्पष्ट खाका प्रस्तुत गरेको औँल्याए । पुस्तकमा रहेका कुरा हरेक नेतृत्व र कार्यकर्ताले अध्ययन र अनुसरण गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले लेखकले विचार दिनुपर्ने र यस्तै पुस्तक जन्माइरहनुपर्ने कुरामा जोड दिए । संविधानसभा सदस्य शारदा पौडेलले लेखक किशोरदत्त बरालले पुस्तकमा उल्लेख गरेको विचार राजनीतिमा सक्रिय हुनेहरूले मनन गरेर आफ्ना व्यवहार परिवर्तन गर्दै लगेमा साँच्चिकै काङ्ग्रेस रूपान्तरित हुने र फेरि एकपटक प्रजातान्त्रिक संस्कारको विकास हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा लेखकीय मन्तव्य राख्दै पुस्तकका लेखक किशोरदत्त बरालले नेपाली काङ्ग्रेसमा २०४८ सालदेखि देखिएको बेथिति अन्त्य गर्न आवश्यक भएको औँल्याए । यसका लागि वैचारिक हिसाबले खारिएको र व्यावहारिक हिसाबले सच्चिएको नेतृत्वले वडादेखि केन्द्रसम्म हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखेपछि पुस्तक लेखन अगाडि बढाएको सुनाए । उनले सपना र प्रतिबद्धताविनाको नेतृत्वले गर्दा पार्टी पार्टीजस्तो नबनेको र व्यक्तिवादी चरित्र मौलाउँदै गएकोप्रति दुःख व्यक्त गरे । अब काङ्ग्रेसबाहेक कुनै पनि गुट उपगुट निर्माण नगरी हरेक गाउँ तहबाट पुनर्जागरण र रूपान्तरण गर्दै पार्टीलाई पुनर्निर्माण गर्नुपर्ने बताए ।

नेपाली लेखक संघ, कास्कीका अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कमल पौडेल ‘अथक’ले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका निवर्तमान अध्यक्ष गणेश शर्माले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.