सागको मूल्य प्रतिकेजी २ सय रुपैयाँ नाघ्यो, खाद्यान्न पनि महंगियो

  २०७८ भदौ ३० गते १३:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा सागको मूल्य आकाशियको छ । अहिले सागको मूल्य प्रतिकेजी २ सय रुपैयाँभन्दा माथि पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो समय हरियोे तरकारी (साग) को मूल्य बढेको हो ।

तथ्यांक अनुसार गत साउन महिनामा भन्दा भदौ महिनामा अधिकांश हरियो तरकारी तथा फलफूलको मूल्य ३० प्रतिशतसम्म वृद्धि भएको हो । समितिको तथ्यांक अनुसार पछिल्लो समय हरियो सागसँगै गाँजर, बोडी, सिमी, हरियो प्याज, हरियो खुर्सानी लगायतका तरकारीको मूल्यमा बृद्धि भएको छ ।

भदौ २० गते रायोको सागको मूल्य प्रतिकेजी न्यूनतम १२० देखि अधिकतम १३० रुपैयाँ रहेको थियो । ९ दिनको अवधिमा रायोको साग प्रतिकिलो ७५ रुपैयाँले मूल्य बढेको छ ।

भदौ २९ गते रायोको सागको मूल्य न्यूनतम १८० रुपैयाँदेखि अधिकतम २ सय रुपैयाँ रहेको छ । यस्तै मंगलबार पालुगो सागको मूल्य न्यूनतम २५० रुपैयाँ तोकिएको छ भने तोरी सागको मूल्य प्रतिकेजी ९० रुपैयाँदेखि एक सय रुपैयाँसम्म तोकिएको छ ।

यस्तै, चमसुरको साग प्रतिकेजी ३ सय रुपैयाँ, जिरीको सागको मूल्य प्रतिकेजी २५० र हरियो धनियाको मूल्य ४ सय रुपैयाँ तोकिएको छ ।

गत भदौ २० गते चमसुरको सागको अधिकतम मूल्य २०० रुपैयाँ, जिरीको सागको मूल्य १ सय, तोेरिको साग ६०, पालुगोको सागको मूल्य २०० र हरियो धनियाँको अधिकतम मूल्य ३ सय रुपैयाँ तोकिएको थियो ।

पछिल्लो समय बजारमा हरियो तरकारी सगैँ अधिकाश खाद्य पदार्थका मूल्य बढेको छ । चाडपर्व सुरु भएसँगै खाद्य पदार्थको मूल्य बढेको खुद्रा व्यवसायीहरु बताउँछन् ।

व्यवसायीका अनुसार २ सातायता चामल, दाल, सोयाबिन तेल, चिनी लगायत खाद्यान्नको मूल्यमा वृद्धि भएको हो ।

२ साता अघिसम्म १ सय १५ रुपैयाँ प्रतिकिलो रहेको मुुसुरोको दाल अहिले प्रतिकिलो १ सय ६० रुपैयाँ पुगेको छ । यस अवधिमा तेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ भन्दा पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.