सीईओ दाहाललाई प्रश्नः सानिमा बैंक मर्जरमा जान लागेको हो ? (भिडियाेसहित)

  २०७८ साउन ११ गते १३:१८     विकासन्युज

कोरोना महामारीसँग आर्थिक संकटको त्रास विश्वभर छ । नेपाल पनि त्यसबाट अलग छैन । तैपनि नेपालको वृहत अर्थतन्त्रका केही परिसूचकहरु राम्रा छन् । त्यसमा पनि बैकिङ्ग क्षेत्रले संकटको बेलामा पनि राम्रो गरिरहेको सन्देशहरु आएका छन् । सेयर बजारमा पनि बैकिङ्ग क्षेत्रको सकारात्मक प्रभाव देखिएका छन् । यहि बीचमा नयाँ मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । वित्तीय क्षेत्रमा बहस चलिरहेको छ । साथै पछिल्लो समय नेपालका बैंकहरुमा ह्याकरले आक्रमण गर्ने धम्कीपूर्ण सन्देश आएपछि अर्को त्रास फैलिएको छ । यिनै विषयको पेरिफेरीमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालसँग विकास वहस गरेको छौं ।


असार मसान्तमा बैंकहरुको कर्जा असुली राम्रो छ, नाफा पनि बढेको छ भन्ने सन्देशहरु आइरहेका छन्, वास्तविकता के हो ?

यस वर्ष बैंकहरुको कर्जा विस्तार ऐतिहासिक रुपमा बढेको छ । वाणिज्य बैंकहरुले यस आर्थिक वर्षमा मात्र ८०० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी विस्तार गरेका छन् । वैदेशिक व्यापार पनि बढेको छ । आयात, निर्यात दुवै बढेको देखिन्छ । बैंकहरुको असार मसान्तको वित्तीय विवरण प्रकाशित हुन बाँकी नै छ । तर, चैत मसान्तको प्रकाशित विवरणलाई आधार मान्दा पनि बैंकहरुको सम्पत्ति २५.३८ प्रतिशतले वृद्धि भएको छ । तर, सञ्चालन शुन्य दशमलव १२ प्रतिशतले नाफा बढेको छ । सञ्चालन नाफा जम्मा ९ करोड मात्रले वृद्धि भएको छ । खुद नाफा भने करिव १२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको प्रोभिजन राइटव्याक भएकोले खुद नाफा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा चार खर्ब कर्जा विस्तार भएको थियो । त्यस वर्ष १९ अर्ब १६ करोड रुपैयाँ लोन लस प्रोभिजन गर्नु परेको थियो । १५ अर्ब रुपैयाँ अतिरिक्त प्रोभिजन गर्नु परेको थियो । यस पटक त्यस्तो प्रोभिजन गर्नु परेन । यस वर्ष अर्थतन्त्र राम्रो भयो । दोस्रो लकडाउन नभएको भए बैंकहरुको रिजल्ट झनै राम्रो हुने थियो । बैशाख १५ गतेपछिको लकडाउनले केही क्षेत्रलाई फेरि नराम्रो असर गरेको छ । तैपनि असार मसान्तमा ९० प्रतिशत कर्जाको व्याजसहित किस्ता उठेको छ । गत वर्ष बैशाखदेखि असारसम्म बैंकहरुले कर्जाको व्याजमा दुई प्रतिशत छुट दिनु परेको थियो । यसपाली परेको छैन । कर्जा असुली पनि राम्रो भएकोले बैंकहरुको वित्तीय विवरण राम्रो बन्ने अनुमान भइरहेको छ । यसपाली शुन्य दशमलव १२ प्रतिशत सञ्चालन नाफा हुनुमा पनि सेयरको मूल्य वृद्धिले सहयोग गरेको छ । बैंकहरुले आफूसँग भएको सेयर लगानी बिक्री गरेर पनि धेरैले नाफा बढाउन सफल भएका छन् । सेयर लगानीबाट आर्जित नाफा पनि घटाउने हो भने बैंकहरुको सञ्चालन नाफा ऋणात्मक छ चैत मसान्तसम्म ।

बैंकहरुको सञ्चालन नाफा किन घट्यो ?

बैंकहरुको स्प्रेडदर पहिला ५ प्रतिशतको हाराहारीमा हुन्थ्यो । अहिले साढे ३ प्रतिशतको हाराहारीमा छ । यसको लाभ थोरै मात्रामा निक्षेपकर्ता र धेरै मात्रामा ऋणीले पाएका छन् । अहिले कर्जाको व्याजदर सवा ६ देखि ११ प्रतिशतसम्म छ । औषतमा ऋणिले साढे ८ प्रतिशतमा कर्जा पाएका छन् । दुई वर्षअघि कर्जाको औसत व्याजदर ११ प्रतिशत थियो । अहिले निक्षेपकर्तालाई पनि नोक्सान छैन । किनकी मुद्दतीमा औषत साढे ८ प्रतिशत व्याज वाणिज्य बैंकहरुमा पाइरहेका छन् जवकी मुद्रास्फीति ४ प्रतिशत मात्र छ । प्रतिस्पर्धाले गर्दा बैंकहरुको कमाई कम भएको छ । यसको लाभ निक्षेपकर्ता र ऋणीले पाएका छन् ।

बैंकको व्याजदर सन्तुलित अवस्थामा आएको हो ?

राष्ट्र बैंकले स्प्रेडदर ४ दशमलव ४ प्रतिशत तोकेको छ । बैंकहरु उक्त सीमामा बस्न सक्थे । तर, प्रतिस्पर्धाले औसतमा साढे ३ प्रतिशतमा काम गर्न बैंकहरु बाध्य छन् । बैंकहरुको संख्या थोरै थिए भने निक्षेपकर्ता र ऋणी दुवैलाई अहिलेको जस्तो लाभ हुँदैन थियो । बैंकहरुको नाफा बढी हुने थियो ।

अहिलेको व्याजदर स्थीर होला वा तलमाथि होला ?

यो बजारले निर्धारण गर्ने विषय हो । मेरो विचारमा ३/४ महिना व्याजदर स्थीर रहनेछ । मंसिरदेखि व्याजदर बढ्न सक्छ । आयात बढेको छ । अब विओपीमा प्रेसर पर्ने देखिन्छ ।

तर, केही बैंकहरुले साउनदेखि निक्षेपको व्याजदर बढाउन थालिसके नि ?

अहिले पनि बैंकहरुसँग ३०० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ । कर्जा मागको चाप पनि कम छ । अहिले पनि हामी लकडाउनको अवस्थामा छौं । गत आर्थिक वर्षमा पनि कर्जा प्रवाह अधिक भएको लकडाउन खुलेपछि चैतसम्म हो । साउनमा कर्जाको माग कम हुन्छ । साउनमा २० अर्ब रुपैयाँ कर्जा घटेको छ । जबकी बैशाख, जेठ, असारमा क्रमशः ३७, ३६ र ५६ अर्बले कर्जा वृद्धि भएको थियो । दशंै तिहारको समयमा पनि कर्जाको माग कम हुन्छ । तसर्थ मंसिरपछि मात्र व्याजदर वृद्धि हुनसक्छ कि भन्ने हो । यदि कोभिडको थर्ड वेभ आयो, फेरि लकडाउनको अवस्था आयो भने व्याजदर बढ्दैन ।

पछिल्लो समय खोपको उपलब्धता बढेको छ । खोप लगाएपछि मानिसमा मनोबल बढेको छ । कोभिडको असर अझै ठूलो देखिएला ?

भ्याक्सिनले मानिसमा कन्फिडेशन बढेको छ । यूरोप अमेरिकामा धेरै मानिसले भ्याक्सिन लगाइसकेकाले अब नेपालमा पनि खोपको उपलब्धता बढ्ला । चीनले ४० लाख खोप तत्काल दिने सम्झौता गरेपनि चीनबाट एक करोड डोज खोप ल्याउने तयारी भएको जानकारीमा आएको छ । अहिले फेरि अमेरिकामा, बेलायतमा न्यू भेरियन्टको संक्रमण बढ्दो छ । त्यसैले कोभिडको बारेमा अनिश्चिता अझै केही महिना रहन्छ कि ।

कोभिड संक्रमणको बीचमा पनि बैंकहरुले राम्रो गरेको देखिन्छ । द्वन्द्वकालमा होस्, राजनीतिक अस्थिरताको बेलामा होस्, महाभूकम्पपछि पनि बैंकहरु राम्रो नै थियो । के नेपालका बैंकहरु ठूला धक्काहरु पनि सामना गर्न सक्ने अवस्थामा पुगेका हुन् ?

बैंकहरुको नेटवर्थ धेरै राम्रो छ । पुँजीकोषको कुरा छोडौं, सेयरहोल्डर फण्डको मात्र कुरा गर्ने हो भने सबैभन्दा कम सेन्चुरी बैंकको १० अर्ब ६४ करोड रुपैयाँ छ भने सबैभन्दा बढी नेपाल बैंकको ३४ अर्ब १५ करोड रुपैयाँ छ । सेन्चुरी बैंककै कुरा गर्न हो भने साढे १० अर्ब नोक्सान हुँदा पनि निक्षेपकर्ताको पैसा नगुम्ने भयो । नेपाल बैंकको ३४ अर्ब नोक्सान भयो भने पनि निक्षेपकर्ताको एक रुपैयाँ पनि गुम्दैन ।

केही वर्ष अघि मात्र एनआईसी एशिया बैंकबाट ह्याकरले झण्डै ५० करोड रुपैयाँ चोरे । गत साता मात्र दर्जन भन्दा बढी नेपाली बैंकलाई ह्याकरले थ्रेट दिएको समाचार आए । त्यसमा तपाईंको बैंकको नाम पनि आयो । पुँजी कोषको आधारमा बैंकहरु सुरक्षित भए पनि साइक्रर क्राइम जोखिम बढेको हो कि ?

एनआईसी एशिया बैंककै कुरा गरौं । उक्त बैंकका स्वीफ्ट ह्याक भयो । ह्याकरले ५०/६० करोड रुपैयाँ लिएको थियो । त्यसको केही रकम फिर्ता गराउन सफल भएको कुरा पनि आए । वास्तविक अंक सार्वजनिक भएको छैन । तर वास्तविक कति नोक्सान भयो भन्ने कुरा राष्ट्र बैंकको जानकारीमा पक्कै छ । नोक्सान भएको रकम राष्ट्र बैंकले पक्कै प्रोभिजन वा राइटअफ गराएको छ । त्यो रकम प्रोफिट एण्ड लसमा बुक भैसकेको हुन्छ । त्यसका निक्षेपकर्ताको एक रुपैयाँ पनि नोक्सान भएन । एनआईसी एशिया बैंकको सेयरहोल्डर फण्ड २० अर्ब २३ करोड रुपैयाँ छ । चोर, फटाहा, डाँका भनेको जहाँ पनि हुन्छन् ।

प्रत्येक दिन ह्याकरले अट्याक गरेको देखिन्छ फाइर वालमा । जोखिम भएकैले बैंकमा पहिला फिजिकल सेक्युरिटी अफिसर मात्र राख्थे भने अहिले इम्फरमेशन सेक्युरिटी अफिसर राख्नु परेको छ । विज्ञहरुले पनि भनिरहेका छन् कि नेपालका बैंकहरुले अपनाएको सुरक्षाका विधिहरु अन्तर्राष्ट्रिय स्तरका छन् । सम्भावित जोखिम न्यूनिकरण गर्नको लागि नाफाको १५ प्रतिशत अपरेशन जोखिम कोषमा राखेका हुन्छौं । बीमा गरेका हुन्छन् ।

तर, नेपाली बैंकहरुले साइबर क्राइम इन्स्योरेन्स गरेका छैनन, यसको कारण के हो ?

नेपालमा साइबर क्राइम इन्स्योरेन्स धेरैले गरेका छैनन् । यो विषयमा बैंकहरुको ध्यान गएको पनि छ । तर प्रिमियम ज्यादै महँगो भएकोले साइबर क्राइम इन्स्योरेन्स हुन सकेका छैनौं । यस क्षेत्रमा बैंकहरुको नोक्सानी नगन्य भएकोले पनि होला बीमाको अभ्यास कम छ ।

नेपाल राष्ट्र बैंक नयाँ मौद्रिक नीतिको तयारीमा छ । तपाईंहरु नियमित रुपमा अन्तक्रियामा हुनुहुन्छ । यस वर्षको मौद्रिक नीति फोकस के मा हुँदैछ ?

गर्भनरसावले हामीसँग ठट्टा गर्दै भन्नुहुन्छ ‘मौद्रिक नीतिमा के आउँछ, मलाई पनि थाहा छैन ।’ हामीले भन्न सक्ने कुरा नै भएन । कोभिडको असर परेको क्षेत्रलाई रिसेड्युलिङ, रिस्ट्रक्चरिङ, रिफाइनान्सिङ अहिले पनि जरुरी छ । असार मसान्तमा पनि १० प्रतिशत ऋणीले व्याज बुझाउन सक्नु भएको छैन । उनीहरुलाई सहुलियत दिनुपर्छ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, व्याजदरलाई एकलदरमा राख्न हामीले विभिन्न विधि सुझाएका छौं । डिजिटल इकोनोमीलाई बढाउन र तरलताको समस्या सम्बोधन गर्ने नीति जरुरी छ । राष्ट्र बैंक विओपी नगेटिभ नहोस भन्नेमा चिन्तित देखिन्छ । अहिले पनि राष्ट्र बैंकसँग १२ खर्ब रुपैयाँ बराबर विदेशी मुद्राको संचिति भएकोले डराउनुपर्ने अवस्था छैन । सुनचाँदी जस्तो वस्तु आयातमा वृद्धि भएको छ भने नियन्त्रणमुखी नीति लिनुपर्छ । मेसिनर तथा कच्चा पदार्थको आयात वृद्धि भएको छ भने त्यसको जीडीपीमा योगदान नै गर्छ । अवस्था धेरै खराब छैन । हामीले २ करोडभन्दा बढी कर्जा दिने व्यवसायीहरुको वित्तीय विवरण विश्लेषण गरेर हेरेको छौं । अवस्था सोचभन्दा राम्रो छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न लागेको भन्ने अनौपचारिक सन्देशहरु आएका छन् । तपाईंहरुले के सन्देश पाउनु भएको छ ?

यसबारे हामीलाई कुनै जानकारी छैन । यो जानकारी दिने विषय पनि होइन ।

समाचारहरुका आएजस्तै वाणिज्य बैंकहरुको न्युनतम चुक्ता पुँजी २५ अर्ब तोकियो भने ओभरक्यापिटलाईज हुन्छ कि ?

८ लाई २५ अर्ब रुपैयाँ बनायो भने ओभरक्यापिटलाईज हुन्छ, त्यसमा शंकै रहेन । राष्ट्र बैंकको अनुसन्धान विभागले विगतमा राष्ट्र बैंकले लिएको पुँजी वृद्धि, मर्जर, एक्विजिसनको असर कस्तो पर्यो भनेर अनुसन्धान गरिरहेको पनि छ । पुँजी वृद्धि तथा मर्जरको सम्बन्धमा मेरो भनाई के हो भने हामीले ठूला बैंक खोजेको कि राम्रा बैंक खोजेको ? यसमा राष्ट्र बैंक स्पष्ट हुनुपर्छ । हामीसँग ठूलो जनसंख्या भएको, रोजगारी सिर्जना गर्न नसकेको इण्डोनेशियाको उदाहरण पनि छ । थोरै जनसंख्या भएको तर सबै कुरा व्यवस्थित भएको सिंगापुरको उदाहरण पनि छ । हामीले इन्डोनेसिया जस्तो बैंक खोजेको कि सिंगापुर जस्तो बैंक खोजेको स्पष्ट हुनु जरुरी छ ।

मेरो विचारमा ठूलो पुँजी हुँदैमा बैंक राम्रो हुँदैन । मैले नाम लिन मिलेन । तपाईंहरुले अध्ययन गरेर लेख्दा राम्रो हुन्छ । ठूला बैंककोभन्दा साना बैंकले नियम कानुनका राम्ररी पालना गरेका छन् । ठूला बैंकले भन्दा साना बैंकले राम्रा व्यवसायिक योजना ल्याएका छन् । ठूलालेभन्दा साना बैंकले कस्टुमर सर्भिस राम्रो दिएका छन् । ठूला हुँदैमा राम्रा हुन्छन् भन्नेमा मेरो असहमति छ । प्रतिस्पर्धाका टिक्न नसक्नेहरु आफै मर्जरमा जान्छन् । रेगुलेटरले फोर्स गर्न जरुरी नै छैन । आज नेपाल इन्भेष्टभेन्ट बैंक राष्ट्र बैंकले फोर्स गरेर मर्जरमा गए जस्तो मलाई लाग्दैन । उक्त बैंकको नाफा घटिरहेको छ । अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको नाफा घट्यो, अब बैंकबाटभन्दा अरु क्षेत्रबाट नाफा कमाउन सक्छु भनेर उहाँले अन्तरवार्ता नै दिनु भएको छ । बैंकमा गरिएको लगानीको प्रतिफल भयो, थप लगानी गर्दिन, मर्जरमा जान्छु भन्नेलाई मर्जमा जान दिनुपर्छ । त्यो स्वेच्छिक मर्जर भयो । चुक्ता पुँजी कम्तिमा २५ अर्ब बनाइयो भने त्यो फोर्सफूल मर्जर हुन्छ । फोर्सफूली मर्जरमा जाँदा त्यसको नतिजा राम्रो आउँदैन ।

सानिमा बैंक मर्जरमा जाने नजाने याेजना के छ ?

हामीले वाग्मती विकास बैंक एक्वाएर गरेका थियौं । हामीले मर्जर कमिटि पनि बनाएका छौं । हामीले सिनर्जी इफेक्ट कहाँ पाइन्छ भनेर हेरिरहेका छौं । बाेर्ड डाइरेक्टरकाे संयाेजकत्वमा र दुइटा डीसीईओहरुकाे सदस्यकाे समिति बनेकाे छ ।

हामीले  विजनेशमा, टेक्नोलोजीमा, क्लाइन्ट सर्भिसमा, प्रोफिट्यालिटीमा सिनर्जी इफेक्ट देखिन्छ भने मर्ज गर्ने हो । नत्र किन मर्ज गर्ने ? हाम्रो विचार स्पष्ट छ । संस्थागत सुशासन राम्रो भएको संस्थासँग मात्र मर्ज हुन्छ । हामी विगत सात वर्षदेखि निरन्तर सबैभन्दा कम एनपीए भएको बैंक हौं । अहिले, दोस्रोमा छौं । डिपोजिट क्वालिटीको हिसावले राष्ट्रिय वाणिज्य बैंकपछि हामी सेकेण्ड बेष्टमा छौं । रिटर्न अन इक्वीटिको हिसावले पनि हामै सेकेण्ड बेष्टमा छौ । अनि हामी किन मर्जमा हतारिने ?

तपाईंले सानिमा बैंक राम्रो भन्नु स्वभाविक हो । तर सानिमा बैंकमा आकर्षण कम भएको जस्तो देखिन्छ नि ?

म यस्तो कुरा सुन्न चाहन्छु । तर सानिमाको कमजोर पक्ष के भनेर प्वाइट आउट गरिदिनुभयो भने राम्रो हुने थियो । सानिमा बैंकको सेयर मूल्य हेर्नुहुन्छ भने हाम्रो मूल्य छैटौं नम्बरमा छ । हामी शाखा विस्तारमा धेरै खुकुलो छैनौं । थोरै शाखा तर धेरै विजनेश नीतिमा छौं । हामीसँग ८६ वटा शाखा छन् । हरेक शाखाको विजनेश राम्रो छ । प्रति कर्मचारी विजनेशमा हामी अब्बल छौं । कोडिभपछि हामीले कर्जा प्रवाहमा कमी गरेकै हौं । गत पुसअघि सेयर मूल्य अलि कम पनि भएको थियो । गत पुसदेखि हामीले कर्जा लगानी बढाएका छौं । अहिले व्यवसाय विस्तार पनि राम्रो छ । नाफा पनि राम्रो छ । बैंकको सेयर मूल्य पनि बढेको छ ।

One comment on "सीईओ दाहाललाई प्रश्नः सानिमा बैंक मर्जरमा जान लागेको हो ? (भिडियाेसहित)"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.