एसएसएफमा जाँदा बैंकरले जागिर छोड्नु पर्दैन, पेन्सन सरकारीभन्दा बढी

  २०७८ असार २० गते १४:५३     शिव सत्याल, सन्तोष रोकाया

काठमाडौं । सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आवद्ध हुनुपर्ने वाध्यात्मक परिस्थिति आएको भन्दै लामो समयदेखि बैंकमा काम गरिरहेका केही कर्मचारीहरुले जागिर छोड्न लागेको हल्ला व्यापक छ ।

सरकारले ल्याएको योजनाले आतंकित भएर कुनै पनि पेशा व्यवसायमा रहेको व्यक्ति आफ्नो पेशा व्यवसायबाट हात धोएर बाहिरिन वाध्य हुने अवस्था आउनु पक्कै पनि दुःखद अवस्था हो ।

लामो समयदेखि बैंकमा काम गरिरहेका कर्मचारीले तत्काल जागिर छोडेनन् भने कर्मचारी संचयकोषमा जम्मा भएको रकम एसएसएफमा आउँछ, त्यो रकमबाट पेन्सन मात्रै लिनुपर्छ, पेन्सन लिन ६० वर्ष उमेर पुगेकै हुनुपर्छ, पेन्सन पाउन थालेपछि पनि आफ्नो सावाबाट आउने व्याजजति मात्रै रकम पाइन्छ भन्ने हल्ला छ ।

तर, एसएसएफका प्रवक्ता विवेक पन्थी कर्मचारी संचयकोष लगायत अन्य कुनै पनि अवकाश कोषमा जम्मा भएको रकम एसएसएफमा ल्याउँदा पेन्सनको रुपमा मात्रै रकम लिनु पर्ने वा सो रकम निकाल्न ६० वर्ष उमेर पुग्नै पर्ने वाध्यता नरहेको बताउँछन् ।

‘अन्य अवकाश कोषमा जम्मा भएको रकम एसएसएफमा ल्याउनै पर्छ भन्ने पनि छैन, सम्बन्धित व्यक्तिले पहिलाकै कोषमा रकम राख्न सक्छ, अर्काे विकल्प भनेको पुरानो कोषको रकम निकाल्न पाइन्छ वा एसएसएफमा ल्याउन पनि पाइन्छ, यसरी एसएसएफमा ल्याइएको रकम जागिर छोड्ने वित्तिकै सबै रकम निकाल्न पाइने व्यवस्था छ, त्यसैले कर्मचारी संचय कोष वा अन्य कुनै अवकाश कोषमा जम्मा भएको रकम एसएसएफमा ल्याउनै पर्ने वा ल्याएपछि पेन्सन लिनको लागि ६० वर्षको उमेरसम्म कुर्नु पर्दैन, कसैलाई कुर्नु पर्छ भन्ने लागेको छ भने त्यो भ्रम मात्रै हो,’ प्रवक्ता पन्थीले भने ।

अन्य अवकाश कोषमा जम्मा भएको रकम एसएसएफमा ल्याउँदा कुनै पनि प्रकारको कर नलाग्ने व्यवस्था आर्थिक ऐनले गरेको उनले जानकारी दिए । यसरी कर नलाग्ने व्यवस्था आगामी आर्थिक वर्षको आर्थिक ऐनले २०७८ चैत मसान्तसम्मको समय दिएको छ । अर्थात आगामी चैत मसान्तसम्म अन्य कुनै पनि अवकाश कोषमा जम्मा भएको रकम एसएसएफमा ल्याउँदा कर लाग्दैन ।

तर, कर्मचारी संचयकोषमा जम्मा भएको रकम निकाल्न मिल्ने भनेको तीन अवस्थामा मात्रै हो । एउटा जागिर छोड्दा, दोस्रो मृत्यू भएमा वा तेस्रो अवकास पाएमा । कर्मचारी संचयकोष ऐनले गरेको यो व्यवस्था एसएसएफमा रकम ल्याउनको लागि कुनै पनि मापदण्ड लागू नहुने भएकोले कर्मचारीलाई अप्ठेरो भने परेको छ ।

‘जागिर छोडेको छैन, मृत्यू भएको पनि होइन र अवकाश पाएको अवस्था पनि होइन भने संचय कोषको रकम निकाल्न पाउने अवस्था देखिदैन, यस्तो अवस्थामा कर्मचारी संचय कोषको रकम निकालेर एसएसएफमा ल्याउने विकल्प मात्रै देखिन्छ तर, हामीले यो समस्या सम्वोधन गर्नको लागि एसएसएफ ऐनमा संसोधन गरेर बाटो खुल्ला गर्ने प्रयत्न गरेका छौं, कर्मचारी संचय कोषमा आवद्ध भएका व्यक्तिहरु एसएसएफमा आउँदा उनीहरुले पहिला जम्मा भएको रकम झिक्न चाहेमा झिक्न पाउने व्यवस्था गर्ने गरी ऐन संसोधनको लागि पठाएका छौं, अहिले प्रतिनिधिसभा विघटन भएकोले ऐन संसोधन हुन नपाएर रोकिएको हो, ऐन संसोधन भएमा यो समस्या पनि समाधान हुन्छ,’ प्रवक्ता पन्थीले भने ।

सरकारीको भन्दा कम हुन्न पेन्सन

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले अहिले जोडदार रुपमा उठाएको अर्काे विषय सरकारी कर्मचारीको भन्दा कम पेन्सन पाइन्छ भन्ने हो । तर, सरकारी कर्मचारीले पाउने योगदानमा आधारित पेन्सन भन्दा एसएसएफबाट पाइने योगदानमा आधारित पेन्सन बढी हुने तथ्यांकले देखाउँछ ।

यो हिसाव गर्नको लागि हामीले एउटा १८ वर्षको व्यक्ति अहिले सरकारी सेवामा अधिकृतस्तरमा प्रवेश गरेको र सोही बराबरको तलब खाने व्यक्ति निजी क्षेत्रमा काम गरेरको अवस्थाको तुलना गरेका छौं ।

यसका लागि हामीले कर्मचारीको सेवा प्रवेश वर्ष समान १८ वर्ष राखेका छौं भने तलब पनि समान रुपमा मासिक ३६ हजार रुपैयाँ नै राखेका छौं । एसएसएफले वार्षिक व्याज ५ प्रतिशत दिने (जुन अहिलेको अवस्थामा निकै कम हो) आधारमा यो हिसाव गरिएको छ । सरकारी र निजी दुबै क्षेत्रमा काम गर्ने व्यक्तिको वार्षिक रुपमा ३ प्रतिशतका दरले तलब बृद्धि हुने मानेर यो हिसाव निकालिएको छ ।

अहिलेको निजामती सेवा ऐनले सरकारी कर्मचारीले अधिकतम ५८ वर्षको उमेरसम्म जागिर खान पाउने व्यवस्था गरेको छ । त्यसैले सरकारी र निजी दुबै क्षेत्रमा काम गर्ने कर्मचारीले ४० वर्षसम्म काम गरेपछि पेन्सन कति पाउँछ भनेर यो हिसाव गरिएको हो ।

वार्षिक ३ प्रतिशतको दरले तलब बृद्धि हुँदा अहिले ३६ हजार रुपैयाँ तलब भएको व्यक्तिको २० वर्षपछि मासिक ६३ हजार १ सय २६ रुपैयाँ २२ पैसा तलब पाउँछ । त्यही बेला जागिर छोडेर पेन्सन लिने हो भने निजी क्षेत्रमा काम गर्ने व्यक्तिले एसएसएफबाट मासिक पेन्सन २४ हजार १७ रुपैयाँ र सरकारी क्षेत्रमा काम गर्नेले मासिक २५ हजार २ सय ५० रुपैयाँ पेन्सन पाउँछन् । यो पेन्सन एसएसएफले दिने भनेको अन्तिम तलबको ३८.०५ प्रतिशत र सरकारी कर्मचारीले ४० प्रतिशत पाउँछन् । यसरी हेर्दा १८ वर्षको व्यक्तिले २० वर्ष एसएसएफमा योगदान गरेर पेन्सन लिँदा सरकारी कर्मचारीको भन्दा केही कम पाउँछ ।

यी दुई व्यक्तिले ४० वर्षसम्म जागिर गरे भने उनीहरुको वार्षिक ३ प्रतिशतका दरले तलब बृद्धि हुँदा मासिक तलब १ लाख १० हजार ६ सय ९२ रुपैयाँ हुन आउँछ । तर, यो बेला पेन्सन लिँदा भने सरकारी कर्मचारीले मासिक पेन्सन ८८ हजार ५ सय ५३ रुपैयाँ ७६ पैसा र एसएसएफबाट पेन्सन लिनेले मासिक १ लाख ७ हजार ५२ रुपैयाँ ६१ पैसा पाउँछ । जुन, सरकारी कर्मचारीले तलबको ८० प्रतिशत र एसएसएफको पेन्सन अन्तिम तलबको ९६.७१ प्रतिशत हुन आउँछ ।

निवृत्तभरण कोष ऐन, २०७५ (सरकारी कर्मचारीहरुको योगदानमा आधारित सामाजिक सुरक्षा) मा सरकारी कर्मचारीले पेन्सन पाउनको लागि बनाएको सुत्रका आधारमा सरकारी कर्मचारीको पेन्सन अनुमान गरिएको हो । ऐनले सरकारी कर्मचारीको पेन्सन रकम पाउनको लागि ‘जम्मा सेवा वर्षलाई आखिरी तलबको रकमले गुणा गरेर त्यसलाई ५० ले भाग गर्दा आउने रकम’ दिने व्यवस्था गरेको छ ।

निजी रोजगारदाताको योगदान बढी

एसएसएफमा आवद्ध भएका रोजगारदाताले तलबको २० प्रतिशत रकम दिनुपर्छ भने योगदानकर्ताले ११ प्रतिशत रकम बुझाउनु पर्छ । यसो गरेर नै एसएसएफमा योगनदानकर्ताको ३१ प्रतिशत रकम जम्मा हुन्छ । यसमध्ये २० प्रतिशत रकम उपदानको लागि र ८.३३ प्रतिशत रकम पेन्सनको लागि जान्छ । बाँकी रकम स्वास्थ्य बीमा लगायतको कोषमा जम्मा हुन्छ ।

सरकारी कर्मचारीको लागि भने ३२ प्रतिशत रकम जम्मा हुन्छ । यो रकममध्ये १६ प्रतिशत सरकारले र १६ प्रतिशत योगदानकर्ताले बुझाउनु पर्छ । त्यो १६ प्रतिशतमा पनि सरकार (रोजगारदाता) ले ६ प्रतिशत रकम पेन्सनको लागि र १० प्रतिशत रकम संचय कोषको लागि दिने हो । योगदानकर्ता (सरकारी कर्मचारी) ले पनि सोही अनुपातमा रकम दिनुपर्छ ।

यसरी हेर्दा निजी क्षेत्रको रोजगारदाता भन्दा सरकारले कम रकम दिएको देखिन्छ । सरकारले आफ्ना कर्मचारीको लागि जम्मा १६ प्रतिशत रकम दिएको हुन्छ भने निजी क्षेत्रले २० प्रतिशत रकम दिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.