एउटा गुमनाम बैंकरको कथाः सधैँ क्लास टप, चेसमा गोल्डमेडलिष्ट (भिडियोसहित)

  २०७८ असार १३ गते १४:३०     सन्ताेष राेकाया

काठमाडौं । आजभन्दा दुई दशक अगाडि काठमाडौंको बौद्धका गल्लीहरुमा टोलका दाईहरुले चेस खेलेको पुरुषाेत्तम चौलागाईं अझैँ सम्झिन्छन् । चेसको बोर्डमा घोडा, हात्ती, बाघ लगायतका संज्ञा दिइएका गोटीहरु चालेका स्मरणहरु पुरुषाेत्तमको दिमागमा ताजै छन् । घरमा आफ्ना दाई अनि ठूलोबुबाहरुले खेलेको टुलुटुलु हेरेको र आफुले पनि कहिलेकाँही उनीहरुसँगै सिक्ने मौका पाएको दिनहरु उनलाई हिजोजस्तै लाग्छ ।

ओहो ! समय त कति घर्किसकेछ ? समयको गति पनि कति रफ्तारको ? गालामा दाह्री मात्रै होइन, काँधमा धेरै जिम्मेवारीहरु पनि थपिइसकेछन् । घर परिवार, साथीसङ्गी, बैंकको जागिर अनि प्यासनले जुराएको टाइटल ‘नेपाल च्याम्पियन’ ।

हो, काठमाडौं बौद्धका पुरुषाेत्तम चौलागाईं चेस खेलका ‘नेपाल च्याम्पियन’ हुन् । चेस पुरुषाेत्तमका लागि खेल मात्रै होइन, प्यासन पनि हो । त्यही प्यासन, लगाव, झुकाव र निरन्तरताले चेस खेलमा पुरुषाेत्तमलाई नेपाल च्याम्पियन बनाइदियो ।

विगत १० वर्षदेखि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत छन् । हाल उनी सो बैंकमा असिस्टेन्ट म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् । उनी भन्छन्, ‘बैंकको जागिर मेरो करियर हो भने चेस खेल चाहिँ प्यासन हो । जागिर बिना मेरो करियर भत्किन्छ अनि चेस बिना प्यासन । त्यसैले चेस र बैंकको जागिर मेरो लागि एकै सिक्काका दुई पाटा हुन् ।’

धार्मिक ग्रन्थ गितामा लेखिएको छ नि ‘कर्म गर फलको आश नगर,’ हो, बैंकर तथा चेस खेलका नेपाल च्याम्पियन पुरुषाेत्तम चौलागाईं पनि त्यही भनाईलाई आत्मसाथ गर्छन् । ‘म काम डटेर गर्छु, आफुले चाहेको कामको नतिजा ल्याउन सकेसम्मको प्रयास गर्छु, तर म त्यसले प्राप्त हुने फलको भने आश कहिल्यै गर्दैन, बस्, आफ्नो काम र प्यासनलाई सर्वोपरी ठान्छु, हदैसम्मको प्रयास गरेपछि फल नपाइने त कुरै हुँदैन नि,’ उनी आफ्ना भोगाई स्मरण गर्दै सुनाउँछन् ।

एसएलसीपछि चेस

पुरुषाेत्तम चौलागाईंको जन्मघर प्रदेश दुईस्थित रौतहट जिल्लाको रौतहट नगरपालिका हो । वि.सं. २०४० सालमा जन्मेका पुरुषाेत्तमको बाल्यकाल भने काठमाडौंमै बित्यो र अहिले पनि उनी काठमाडौंको बौद्धमा परिवारसँगै बस्छन् ।

उनको घरमा आमाबुवा, दाजु–भाउजु, श्रीमति अनि सानो बच्चा छन् । २०४० सालमै रौतहटबाट काठमाडौं आएका उनले बौद्धकै प्रेरणा बोर्डिङ हाईस्कुलमा पढे । कक्षा १० सम्म उनी सोही स्कुलमा पढे । त्यो बेलासम्म न उनले चेस राम्रोसँग खेलेका थिए न त चेसको वारेमा खासै बुझेका नै । वि.सं. २०५७ सालमा एसएलसी दिएपछि भने उनले चेसलाई नजिकबाट नियाल्ने मात्रै होइन भरपुर खेल्ने मौका पनि पाए ।

एसएलसीसम्म घरमा दाई र ठूलोबुवाले खेलेको हेर्नु र बाटोमा टोलका दाईहरुले खेलेको हेर्नुमै उनी सीमित थिए । बुवाले खेतिपाती र सानोतिनो व्यापार व्यवसाय गर्ने । आमा घरको काम गर्ने । अनि दाई साथीभाईहरुसँग मिलेर व्यापार । सबै आ–आफ्नो काममा व्यस्त । तर, पनि आफुलाई चेस खेलमा लाग्नको लागि घरपरिवारबाट गज्जवको साथ मिलेको उनी बताउँछन् ।

कक्षा १० सकेपछि चेस खेललाई बढी समय दिएर खेल्न थालेको उनी बताउँछन । ‘म एसएलसीपछि मात्रै चेस खेलमा लागेँ, त्यो भन्दा अगाडि दाईहरुले खेलेको मात्रै हेर्थेँ, हेरेर पनि धेरै कूरा सिकेँ, १० कक्षापछि भने राम्रैसँग खेल्न थालेँ, एसएलसीमा चेसको टुर्नामेन्ट हुन्छ भन्ने थाहा पाएपछि चावहिलमा भएको एउटा प्रतियोगितामा आफु पनि सहभागी भएको उनी सुनाउँछन् ।

कक्षा १० पछि मात्रै चेसको वास्तविक विषेशता थाहा पाएको उनी बताउँछन् । ‘चेसको बारेमा अध्ययन पनि गर्नु पर्दो रहेछ भन्ने १० कक्षापछि थाहा पाएँ, चेसको किताब पनि पढ्नु पर्दो रहेछ, सानैदेखि चेस खेल्ने प्यासन भएपनि १० कक्षापछि भने राम्रैसँग खेल्ने मौका मिल्यो,’ उनी भन्छन् ।

क्लासमा सधैँ टप

बैंकर चौलागाईंले कक्षा १० सम्म बौद्धकै प्रेरणा बोर्डिङ हाईस्कुलमा पढ्दा उनी कहिल्यै औसत विद्यार्थीमा गनिएनन् । कक्षामा उनी कहिले प्रथम त कुनै वर्ष दित्तीय हुन्थे ।

‘प्रायः जसो म कक्षामा प्रथम नै हुन्थेँ, प्रथम नभएको वर्ष दोस्रो हुन्थेँ, सरहरुले पनि असाध्यै माया गर्नुहुन्थ्यो, चेस खेल खेलेपछि दिमाख पनि बढ्ने रहेछ भन्ने मैले त्यतिबेला देखि नै थाहा पाइसकेको थिएँ, पछि झन समय दिएर नै खेल्न थालेँ,’ उनी भन्छन् ।

कक्षा १० उत्तिर्ण भएपछि उनी प्लसटु पढ्न मदन भण्डारी कलेज गए । मदन भण्डारी कलेजमा उनले कमर्स पढे । प्लसटुमा पनि राम्रै अंकका साथ प्रथम श्रेणीमा पास भएकोे उनी बताउँछन ।

मदन भण्डारी कलेजबाट उनी स्नातक र स्नातकोत्तर पढ्न शंकरदेव कलजे गए । त्यो समयसम्म आफु चेसमा निकै अभ्यस्त भइसकेको उनी सुनाउँछन् । ‘१० कक्षापछि चेसलाई बढी समय दिन थालेँ, पढाईमा भने अलि कम समय हुन थाल्यो, तर परीक्षाको तयारी भने निकै गर्थ्र्यौं, स्नातक र स्नातकोत्तर पनि राम्रै अंक ल्याएर पास भइयो त्यसपछि विवाह गरियो,’ उनी आफ्नो विगत सुनाउँछन् ।

पार्ट टाईमबाट बैंकमा इण्ट्री

बैंकर चौलागाईंलाई बैंकिङ क्षेत्रमा काम गर्न थालेको १० वर्ष भन्दा बढी समय भएको छ । सन् २०१० डिसेम्बरबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट पार्ट टाइमबाट जागिर सुरु गरेका उनी हालसम्म सोही बैंकमा काम गरिरहेका छन् । हाल उनी सो बैंकको असिस्टेन्ट म्यानेजर पदमा कार्यरत छन् ।

‘सन् २०१० सम्म आइपुग्दा म धेरै परिपक्क भइसकेको थिएँ, चेस खेलसँग राम्रै प्रेम बसिसकेको थियो, म चाहँथेँ यो खेलसँगै ‘फुल टाइम’ बिताऔं, तर चेस खेलेरै करियर बनाउन भने असम्भव थियो, घरबाट पनि केही काम गर्नुपर्छ भन्ने कुरा आयो, म पनि चाहँन्थे पार्ट टाईम जागिर होस्, र चेसलाई पनि समय दिन पाउँ, हुन पनि त्यस्तै भयो, स्ट्याण्डर्ड बैंकमा पार्ट टाईममा काम गर्ने मौका पाएँ,’ उनी बताउँछन् ।
आफ्नो दाईको प्रेरणाबाट बैंकमा काम गर्ने अवसर मिलेको उनी बताउँछन् ।

‘पढाईमा पनि राम्रै थिएँ, बैंकले कर्मचारीका लागि आवेदन मागेको रहेछ, मैले पनि परीक्षा दिएँ, लिखित राम्रो भयो, त्यसपछि मौखिक पनि राम्रै भयोे, तर मसँग बैंकमा काम गरेको अनुभव थिएन, बैंकले पनि पार्ट टाईममा राख्ने भन्यो, मलाई फुल टाइम जागिर पाएको भन्दा बढी खुसी त्यतिखेर मिल्यो,’ उनले थपे, ‘मैले चाहेको जस्तै भयो, त्यसपछि बैंकमा पार्ट टाइमबाट काम सुरु गरेँ र सँगै चेसलाई पनि समय दिएँ ।’

चेसले बैंकमा काम गर्न धेरै सहयोग पुग्ने चौलागाईंको अनुभव छ । चेसले ब्रेनको विकास गर्ने, क्याल्कुलेटिभ पावर बढाउने भएको हुँदा पनि आफुलाई बैंकमा काम गर्न धेरै सहयोग मिलेको उनी बताउँछन् ।

केही समय पार्ट टाइम काम गरेपछि उनलाई बैंकले फुल टाइमका लागि अफर गर्यो । त्यसपछि आफुले पनि अब करियरका लागि फुल टाइम काम गर्नु पर्छ भन्ने मानसिकता बनाएको उनी सुनाउँछन् ।

‘चेस मेरो प्यासन हो, जसलाई मैले चाहेर पनि निकाल्न सक्दैन, यो मेरो दिमाखबाट हट्न सक्दैन, मसँग समय छैन भने केही समयका लागि म चेस नखेल्न पनि सक्छु, तर, बैंकिङ क्षेत्र मेरो करियरसँग सम्बन्धित, जसले मलाई मेरो परिवार चलाउनका लागि सहयोग गर्छ, मलाई लाग्छ बैंकको जागिर र चेस खेल मेरो लागि अपरिहार्य छन्,’ ‘उनी भन्छन्, ‘चेसले नै जिविकोपार्जन गर्न सक्ने अवस्था नेपालमा अहिलेसम्म बनिसकेको छैन, बैंकमा काम गर्दा गर्दै बढी तनाब भयो भने म रिफ्रेस हुन चेस खेल्छु, चेसले मलाई रिलिफ गर्छ ।’

बैंकर्सलाई चेस अपरिहार्य

उनी बैंकर्सलाई चेस अपरिहार्य भएको बताउँछन् । चेसले ब्रेन विकासमा महत्वपूर्ण भूमीका खेल्ने भएकोले बैंकर्सले चेस खेल्नै पर्ने सुझाव उनी दिन्छन् ।

‘चेस खेल बैंकमात्र होइन हरेक क्षेत्रमा आवश्यक छ, दिमाख जहाँ पनि प्रयोग हुन्छ, दिमाख प्रयोग हुुने सबै क्षेत्रमा चेस खेलको आवश्यकता छ, चेस खेल बैंकमा झन अपरिहार्य छ, बैंकमा आउने हरेक समस्याहरु समाधान गर्नको लागि पनि चेस खेलले महत्वपूर्ण भूमीका खेल्न सक्छ, धैर्यता बढाउनको लागि पनि यो खेल अपरिहार्य छ,’ उनले भने ।

आफु बैंकर पनि भएकोले धेरै फाइदा हुने गरेको उनको भनाई छ । उनका अनुसार अहिले उनलाई बैंकबाट पनि चेस खेलमा राम्रो साथ मिलेको छ ।

‘समय मिलाउन सक्नु ठूलो विषय हो, बैंकले पनि निश्चित जिम्मेवारी दिएको हुन्छ, त्यो जिम्मेवारीलाई आफुले राम्रो सँग निर्वाह गर्ने हो, मैले बैंकले दिएको बिदा राम्रोसँग सदुपयोग गर्छु, कहिले काहिँ एउटा टुर्नामेन्ट हुँदा ४/५ दिन पनि समय लाग्छ, त्यतिखेर म बैंकसँग समन्वय गरेर मेरो बिदा कटाएर व्यवस्थापन गर्छु,’उनले भने,‘ मैले बैंकलाई मेरो यस्तो काम छ भनेर आग्रह गरेपछि बैंकले पनि स्वीकार गर्छ ।’

टुर्नामेन्ट चल्दै गर्दा आफ्नो खेल खेलेर फर्केर त्यही दिन बैंकमा काम गरेको अनुभव पनि चौलागाईंसँग छ ।

भुल्नै नसकिने त्यो क्षण

चेसमा गोल्ड मेडलिष्ट बनेर नेपाल च्याम्पियन बन्नु उनको सपना थियो । सोही सपना साकार भएको दिन नै पुरुषाेत्तम आफ्नो भुल्नै नसकिने क्षणमा रुपमा लिन्छन् ।

‘कुनै पनि टुर्नामेन्टमा प्रथम हुनु र गोल्ड मेडलिष्ट बन्नु मेरो लागि ठूलो उपलब्धि हो,मेरो निरन्तर रुपमा टुर्नामेन्छ जितेको छु, जुन मेरो जीवनमा महत्वपूर्ण क्षण हो, १४ देशहरुबीच एसिएन लेभलमा भएको चेस खेलमा म ब्राउन मेडलिष्ट पनि हुँ,उनी भन्छन्,‘तर नेपालमा चेस खेलाडीको खासै चर्चा हुँदैन, सरकारले पनि खासै प्राथमिकतामा राखेको छैन, त्यसबेला मात्रै दुःख लाग्छ ।’

दोस्रो नमुना बौद्ध मास्टर चेस प्रतियोगिताको विजेतापछि आमासँग तस्वीर खिचाउँदै चालागाईं

उनी २०७६ मा भएको आठौं राष्ट्रिय चेस प्रतियोगिताका नेपाल च्याम्यिन हुन् । ओलम्पिआरमा सहभागी हुने अवसर पनि आफ्ना लागि ठूलो उपलब्धिका रुपमा उनी लिन्छन् । जुन कोरोनाको कारण २०२२ मा सरेको छ । सो खेलले आफुलाई अन्तर्राष्ट्रिय रुपमा अझ माथि बढ्ने महत्वपूर्ण खुुड्किला बन्ने आत्मविश्वास उनमा छ ।

‘म टुर्नामेन्टमा पहिले दोस्रो मात्रै हुन्थेँ, केही वर्ष मात्रै भएको छ प्रथम हुन थालेको छु, अझै नेपाललाई चेस खेलमा अन्तर्राष्ट्रिय रुपमा चिनाउने लक्ष्य छ,’ उनले भने । हालसम्म दर्जनौं खेलहरुमा उनी विजेता बनिसकेका छन् ।

चार देशमा भ्रमण

च्याम्पियन चौलागाईले चेस खेल खेल्नकै लागि विभिन्न चार देशमा भ्रमण गरिसकेका छन् । उनले भारतको मुम्बई, राजस्थान, जयपुर, चेन्नई, दिल्ली लगायतकाका शहरहरुमा गइसकेका छन् ।

सन् २०१३ मा रसियामा भएको एउटा प्रतियोगितामा भाग लिँदै चौलागाईं

यस्तै उनले चीन, रसिया र दुवई गएर पनि चेस खेलिसकेका छन् । विदेशमा एक पटक गएपछि १५/२० दिन पनि बस्नु पर्ने अवस्था आउने उनले बताए ।

‘घर परिवार मेरो काममा सकारात्मक हुनुहुनँ, उहाँहरुले साथ नदिएको भए त म यहाँसम्म हुँदैन थेँ, मेरो स्मोकिङ ड्रिङकिङमा ह्याविट नभएको कारणले पनि म जहाँ गए प नि घरको मान्छेले त्यति धेरै चिन्ता गर्नु हुन्नँ । उहाँहरुलाई मप्रति विश्वा भएको कारणले पनि जता गए पनि पूर्ण साथ दिनुु भयो, म १०/२० दिन बाहिर गए पनि उहाँहरुले कुनै अवरोध गर्नु भएन,’ उनी भन्छन्, ‘यसले मलाई झन यसमा रम्न हौसला मिलेको छ ।’

चेस खेलाडीलाई सुझाव

बैंकर तथा च्याम्पियन चौलागाईं सुरुमा यो खेलको महत्व बुझ्न सुझाव दिन्छन् ।

‘कुनै पनि खेलको आ–आफ्नै विशेषता र महत्व हुन्छन्, धेरै खेलहरुका विभिन्न फाइदा र वेफाइदा हुन्छन्, तर चेसका वेफाइदा छैनन् फाइदा मात्रै छन्, चेस खेल्ने मान्छे र नखेल्नेमान्छेमा धेरै फरक पाउन सक्छौं, एउटा चेस खेल्ने र नखेल्ने विद्यार्थीको तुलना गर्दा नखेल्नको भन्दा खेल्ने विद्यार्थीको राम्रो ग्रडे आएको अध्ययनले पनि देखाइसकेको छ, उनी भन्छन्,’ ‘चेस खे्ल्दा दुइटै बे्रन एक्टिभ हुने हुन्छ र यसले व्यक्तिको बे्रेन विकामा धेरै महत्वपूर्ण भूमिका खेल्छ, चेस खेल्ने सबैलाई यसलाई रिन्तरता दिन आग्रह गर्छु ।’

चेस खेल्ने मानिसमा बिर्सने रोग लाग्ने सम्भावना पनि एकदमै कम हुने उनको भनाई छ । ‘अहिले चेस खेलेर पनि जिविकापार्जन गर्न सकिने अवस्था छ,अनलाइनमा खेलेर पनि पैसा कमाउन सकिन्छ,यसले मान्छलाई धैयर्ता सिकाउँछ, राम्रो व्यक्ति बन्न यसले महत्वपूर्ण काम गर्छ,’ उनी बताउँछन् ।

राज्यले यसलाई महत्व नदिँदासम्म र यसमा लगानी नबढाउँदा सम्म माथि उठ्न नसक्ने बताउँदै यो खेलमा राज्यले लगानी बढाउनु पर्ने उनको धारणा छ । अहिले चेस खेल सिक्ने धेरै माध्यम भएको बताउँदै सानैदेखि चेस खेल्न सुरु गर्न पनि सुझाव दिन्छन् ।

भावी योजना

उनी आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने प्रयास गर्ने बताउँछन् ।

‘मैले धेरैपछि चेस खेल्न सुरु गरेँ, जुन धेरै ढिलो भइसकेको थियो, चेसको विकास गर्नुछ भने स्कुल तहबाट सुरु गर्नुपर्छ, विदेशमा एलकेजी यूकजेटीबाटै चेस खेल्न सुरु गर्छन्, अब हामीले पनि स्कुल तहबाटै चेसलाई प्राथमिकता दिनु पर्छ,’ उनी भन्छन्,’ ‘एसएसएलसीसम्म पुग्दा व्यक्ति चेसमा टप भइसेको हुनु पर्छ ।’

अब विभिन्न स्कुलहरुमा चेस सुरु गर्नु पर्छ भनेर आफ्नो टिम लागि रहेको उनले बताए । यसका लागि अहिले अनलाइनबाट पनि काम भइरहेको उनको भनाई छ । यस्तै, आफु सहित साथीहरुले मिलेर अहिले एउटा चेस क्लब स्थापना गरेको उनले सुनाए ।

‘अब चेसलाई बढी प्राथमिकता दिएर अगाडि बढ्ने योजना छ, क्लब पनि स्थापना गरिसकेका छौं, क्लब मार्फत चेसलाई अगाडि बढाउनको लागि पनि धेरै सहयोग पुग्छ,’ उनले भने ।

भिडियाे:

5 comments on "एउटा गुमनाम बैंकरको कथाः सधैँ क्लास टप, चेसमा गोल्डमेडलिष्ट (भिडियोसहित)"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.