सम्बोधन (कबिता)

  २०७८ असार ८ गते २०:०३     गोपाल खनाल

महोदय !
उमङ्ग साँचेर सुने, पढेँ
राष्ट्रको नाममा
भनिएको सम्बोधन
तर
अनुत्तरित रहे थुप्रै प्रश्नहरु आफैँसँग ।।

बेला बेला फरक ढाँचामा
सुनिन्छन् सम्बोधनहरु
जब समेट्नै पर्ने विषय छुट्छन्
त्यो व्यर्थ बन्दैन र ?
हुन त समेटिएका कतिपय कुरा पनि
त तुहिन्छन् गर्भमै ।।

जनको दुःखै नदेख्ने
कस्तो सत्ता हुन्छ ?
न कुनै कुराले छुन्छ
जनजनका पीडा, अभावको
सम्बोधन कहिले हुन्छ ??

सीमा मिचिइरहे,
ऋणको भारले थिचिइरहे
शोषण र अन्यायले हुँदा खानेहरु किचिइरहे
निरर्थक बन्दैन र सरकार !
राष्ट्रकै लागि मारिएका र बेपत्ता पारिएका
परिवारले
सङ्घ, प्रदेश र स्थानीय तहका नाममा
मञ्चित लज्जास्पद नाटक कति हेर्ने ?

सस्तो लोकप्रियताका लागि
सिलिन्डर र चामलका बोरामा
चित्र टाँसिएछ
अनि गाँसिएछ अवैध सम्बन्ध ।
चित्र होइन अब बदल्नुस् चरित्र
हुन त कसैको सामथ्र्यभन्दा
बढी अपेक्षा गर्नु पनि घातक नै हुन्छ क्यारे !
आखिर जोसँग जे छ
त्यही दिने न हो ।।
यसरी नै
न्यायको अपहरण
भ्रष्टको संरक्षण भइरहे
नुनको अभावमा पिरोल्नेलाई
के सुनाउनुहुन्छ सुनको कथा
छोड्नुस् झूठ समृद्धिको वर्णन ।।

खै, सम्बोधनमा निर्मला, सम्झनाको
न्याय अट्न सकेको ?
देखिएन विपत्तिमा
सरकार खट्न सकेको ।।
न छ पीडित उखु किसानको मागको सम्बोधन
हुन सकेको छैन आधारभूत आवश्यकताकै परिपूर्ति
सामान्य उपचार अभावमा मर्नुपर्छ निमुखाहरु ।।
सत्ता स्वार्थमा जनता भुलाउने उही ढर्राको
नामको सम्बोधन सुनेको त वर्षौ भइसक्यो ।।

तारकेश्वर गापा १ दाङसिङ नुवाकोट, हालः पोखरा–११
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.