जोखिममा पर्वतारोहण क्षेत्रः आरोहीलाई तत्काल फिर्ता बोलाउन गृहको आग्रह

  २०७८ जेठ १३ गते १०:०६     विकासन्युज

काठमाडौं । लगातार परेको वर्षाका कारण हिमाल आरोहणमा गएका आरोहीहरु समस्यामा परेका छन् । लामो समयदेखि सगरमाथा लगायतका हिमाल आरोहण गर्न आधार शिविर पुगेका आरोहीहरु खराब मौसमका कारण समस्यामा परेका हुन् ।

आरोहणका लागि हिमालतिर लागेका आरोहीहरु मौसमका कारण आधार शिविरमा झरेको जनाईएको छ ।

बुधबार गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै तीन दिनसम्म बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ ।

गृहको आग्रह अनुसार सबै आरोही तथा सहयोगी गाइडहरुलाई आरोहण नगर्न र सुरक्षित भएकार बस्न आग्रह गरिएको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्य आधार शिविरमा रहेका आरोही तथा ट्रेकिङ एजेन्सीसँग निरन्तर सम्पर्क भइरहेको बताउँछिन् ।

‘जल तथा मौषम विभाग र प्राधिकरणबाट आएको जानकारी हामीले आरोहीलाई तत्काल जानकारी गराउने गरेका छौँ । हाम्रा लियाजन अफिसर र सम्बन्धीत एजेन्सीलाई आरोहण नगरी सुरक्षित बस्न आग्रह गरिसकेका छौँ’, उनले भनिन, ‘हालसम्म सबै जना सुरक्षित भएको जानकारी आएको छ ।’

हाल विभागबाट आरोहण अनुमति लिएका आरोही तथा गाइर्ड तथा सहयोगी गरेर विभिन्न हिमालमा एक हजारभन्दा बढी आरोहीहरु रहेका छन् । अधिकांश साना तथा ठूला हिमालहरुको आरोहण सम्पन्न भएपनि सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्न गएका आरोही तथा गाइडहरु सगरमाथा आधार शिविरमा रहेका छन् ।

यस्तै, प्राधिकरणले बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको समेत जनाईएको छ ।

प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ भने गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।

त्यस्तै, आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ । सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.