भीरमा मह काढेको छायांकन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

  २०८१ जेठ ११ गते ९:१३     विकासन्युज

म्याग्दी । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् ।

देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए ।

टोलीले डोरी (पर्‍याङ) मा झुन्डिएर भीर मौरीको मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेको वडाध्यक्ष विकले बताए ।

लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए ।

भीर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा २ समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्छ ।

झण्डै पाँच सयदेखि १ हजार ५ सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए ।

ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनको भनाइ छ । ‘पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ’, उपाध्यक्ष पुनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.