सेयर किनबेचको लागि लगानीकर्ता नउकास्न बोर्डको आग्रह, गरे कारवाही हुने

  २०७८ जेठ ६ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सूचीकृत संगठित संस्थाको सेयर किन्न वा बेच्नका लागि नउकास्न सम्वद्ध पक्षलाई आग्रह गरेको छ । पछिल्लो समय विभिन्न व्यक्ति र समूहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा यो कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै सेयर किन्न वा बेच्न उत्साहित गराएको विषयमा ध्यानाकर्षण गर्दै बोर्डले उक्त आग्रह गरेको हो ।

सो सम्बन्धमा अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको देखिएकोले बोर्डले संचार माध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट सो कार्य नगराउन बजार सम्वद्ध सबै पक्षलाई सूचित गराएको हो ।

सूचीकृत कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने विषयमा टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु किन्न उक्साउने वा नकिन्न अभिप्रेरित गर्दा स्वतन्त्र रुपले सञ्चालन हुने बजारको व्यवस्थालाई प्रभाव पार्ने बताउँदै बोर्डले त्यस्तो कार्य नगर्न नगराउन सबै सम्वद्ध पक्षहरुलाई आज(जेठ ६ गते) बिहीबार एक सूचनामार्फत् सूचित गराएको हो ।

धितोपत्र बजारलाई प्रभावित पार्ने कार्यहरु हुन नदिन बोर्ड सचेत रहेको र त्यस्ता घटनालाई नजिकबाट नियालिरहेकोले हाललाई त्यस्तो कार्य नगर्न नगराउन सबैलाई सूचित गरी सूचना प्रकाशन गरेको हो । यदि, कसैले बोर्डको सूचनाको अवज्ञा गरी अब उपरान्त बोर्डको स्वीकृति बीना यस्ता कार्यलाई निरन्तरता दिएको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने बोर्डले जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको छ । त्यस्तै, अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनको आधारमा मात्र दोस्रो बजार सूचकांक तथा सूचिकृत संगठित संस्थाको सेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.