नेष्डो समृद्ध लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

  २०७८ जेठ ५ गते १९:४६     विकासन्युज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले कर्मचारी र सामुहिक लगानी कोष समेत गरी ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

सो मात्राको आईपीओ जारी गर्नको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।

पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक सेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको सेयरपुँजी चुक्ता भैसकेको छ ।

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा २०७५ फागुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाको रुपमा ईजाजत प्राप्त गरेसँगै यस वित्तीय संस्थाले आफ्नो वित्तीय कारोबार सुचारु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.