दरबारमार्गमा ५० लाखको लगानीमा जुकोट दरवार रेस्टुराँ, अहिले मार्सीको खाना, अब स्याउको अचार पनि

  २०७७ फागुन २६ गते १०:०५     नरेन्द्र रौले

काठमाडौं । दरबारमार्गमा ५० लाख रुपैयाँको लगानीमा जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज सुरु भएको छ ।

लकडाउन सुरू हुनु अगाडी गत चैतमा यो रेस्टुराँ सञ्चालन गर्ने तयारी भएको थियो । तर, विश्वरभर फैलिएको कोरोना महामारीले योजना चौपट बनाइदियो ।

तैपनि आत्तिएका छैन युवा व्यवसायी अमृत शाही ठकुरी । त्रिचन्द्र कलेज, घण्टाघरबाट दरबारमार्ग जाने क्रममा महेन्द्रको शालिक नपुग्दै दायाँतिर भेटिन्छ, जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज । सञ्चालनमा आएको भर्खर एक महिना मात्र भयो ।

यो छोटो अवधिमा पाएको रेस्पोन्सले सञ्चालक ठकुरी उत्साहित छन् ।

कोरोना महामारीपछि धमाधम व्यवसाय बन्द भए । कतिले नयाँ व्यवसाय गर्ने आँट गरेनन् । तर, उनले जोखिम उठाए ।

‘चैतको पहिलो सातातिर भवन भाडामा लिएर चलाउन तयारी भइरहेको थियो ।’ ठकुरीले भने ‘बिचैमा लकडाउनले गर्दा धेरै समय काम अगाडी बढेन । ७ महिना भाडा मात्र तिर्न पर्‍यो ।’

चिटिक्क परेका सल्लाका कुर्सी र टेबल । सेतो रंगले पोतिएका भित्ताहरु आकर्षक देखिन्छन् । जुकोट दरबार छिर्ने बित्तिकै यहाँको माहोलले लोभ्याउँछ ।

इन्टेरियर डिजाइन गर्न २० लाख रुपैयाँ खर्चिएको ठकुरीले बताए । विहान ८ बजे नै खुल्ने यो रेस्टुराँमा राती ३ बजेसम्म चहलपहल भईरहन्छ । अन्य रेस्टुराँमा राती प्राय: १० बजे नै किचेन बन्द हुन्छ । तर, यहाँ भने तीन बजेसम्म आफ्नो रोजाइका परिकार निर्धक्क अर्डर गर्न सकिन्छ । लोकेसन र पार्किङ सुविधा भएकाले धेरैले आफ्नो रेस्टुराँ रोजाईमा परेको सञ्चालक ठकुरी बताउँछन् ।

यस रेस्टुराँमा एकै पटकमा ६० जना मानिस बस्न सक्ने क्षमता छ । बाहिर आफ्नै पार्किङको सुविधा छ ।

सुरुवातमा यो रेस्टुराँमा ९ जना स्टाफ कार्यरत छन् । सिफ्ट अनुसार काम भईरहेको छ । अझै स्टाफको संख्या बढाउने तयारी भईरहेको सञ्चालक शाहीले बताए ।

बिभिन्न बैंक, ट्राभल एण्ड टुर र विभिन्न कम्पनीका स्टाफहरू यहाँका नियमित ग्राहक हुन् । कलाकार चक्र बम, टंक तिमिल्सिना र सुनिल गिरी पनि यहाँका नियमित ग्राहकमध्ये पर्छन् । जुकोट दरबारले सपिङ सेन्टर, कलेजहरुमा खानेकुरा नियमित डेलिभरी गर्दै आएको छ । तपाई पठाओ एप चलाउनुहुन्छ भने त्यसबाटै पनि सिधै क्लीक गरेर खानेकुरा अर्डर गर्न सकिने व्यवस्था मिलाइएको छ ।

जुकोट दरबारका विशेषताहरू

यस रेस्टुराँमा सबैभन्दा अर्डर हुने आइटम हो, मार्सी खाना । बाजुराको कालो सिमीको दालसँग यो आइटम दैनिक २ दर्जन भन्दा बढी अर्डर हुन्छ । यस बाहेक झानेको मम, बँदेलको तास, बँदेलको टिमुर, बँदेल तारेको आइटम यहाँका स्पेशल परिकार हुन् । इटालियन र मेक्सिकन परिकार पनि उपलब्ध छन् ।

एक पटक आएका ग्राहकहरू फर्केर आउने गरेको सञ्चालक अमृत शाही बताउँछन् । मार्सी भातको आइटम दैनिक २५ भन्दा बढी अर्डर हुने गरेको उनी बताउँछन् । यसको मूल्य ७ सय रुपैयाँ राखिएको छ ।

दुबई र चेक रिपब्लिकमा काम गरेका अनुभवी सेफ भुपेन्द्र खड्काको मातहतमा २ जना कुक छन् । हरेक हप्ता सेफ खड्काले स्टाफलाई फुड् र हस्पिटालिटीका बारेमा प्रशिक्षण दिने गरेका छन् । विशेष कार्यक्रम र पार्टीहरु भएका बेला दैनिक कारोबार अहिले १ लाख रुपैयाँभन्दा माथि हुने गरेको उनी बताउछन् । अन्य बेला पनि ८० हजार रुपैयाँभन्दा माथि नै छ ।

राम्रो सर्भिस र परिकारमा फरक स्वाद भयो भने ग्राहक तान्न गार्‍हो नहुने सञ्चालक ठकुरी बताउँछन् । खानाका परिकार स्थानीय स्वाद पस्किने र स्थानीय उत्पादनहरुलाई बढि नै प्राथमिकता दिने उनको लक्ष्य छ ।

यस्तो बन्दैछ जुकोट दरबारको मेनु

बाजुराको जुकोटमा ३० रोपनीमा जग्गामा स्याउ बगान छ । उत्पादन भए जति स्याउले बजार पाईरहेको छैन । आउने सिजनदेखि नै स्याउका विविध परिकारहरु यहाँ राखिने सञ्चालक अमृतले बताए । अब स्याउको अचार, स्याउको सुकुटी र फ्रेश प्याकिङ स्याउ उपलब्ध गराउने तयारीमा छन् उनी ।

यस्तो छ भावी योजना

आगामी दिनमा खानेकुरा सम्बन्धि प्रतियोगिता गर्ने लक्ष्य रहेको सञ्चालक ठकुरी बताउँछन् । होली, शिवरात्री जस्ता विशेष अवसरमा ब्यान्ड बोलाएर कार्यक्रम गर्ने तयारी भईरहेको सञ्चालक ठकुरी बताउँछन् । उनका अनुसार कुमारी बैंकसँग क्रेडिट कार्ड, क्यूआर कोड, स्वीप मेशिन र सबै कारोबारका लागि पनि सहकार्य भईरहेको छ ।

रेस्टुराँ सञ्चालनमा कृषि विकास कार्यालयमा कार्यरत पहल बहादुर, दाइ सरोज बहादुर शाही र जापान बस्ने कान्छा भाइ सविन शाहीको प्रत्यक्ष सहयोग रहेको छ । हालसम्म कसैबाट ऋण नलिएको उनले बताए । पछिल्लो समय धेरै रेस्टुराँ खुलेकाले केही चुनौति बढेको छ । तैपनि यो भीडमा फरक स्वाद पस्किएर ग्राहकको मन जित्ने ठकुरीले बताए ।

2 comments on "दरबारमार्गमा ५० लाखको लगानीमा जुकोट दरवार रेस्टुराँ, अहिले मार्सीको खाना, अब स्याउको अचार पनि"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.