एफएनसीसीआई कार्य समितिको १०० दिनः प्रादेशिक संरचना र रणनीतिमै फोकस, साधारणसभा चैतमा तय

  २०७७ फागुन २५ गते २०:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमितिले निर्वाचितपछिको १०० दिनको कार्यप्रगति प्रस्तुत गरेको छ । मंगबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महासंघको नयाँ कार्यसमितिले १ सय दिनमा गरेको काम कारवाही र कार्यक्रमहरु प्रस्तुत गरेको हो ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट मंसिर १४ गते निर्वाचित नयाँ कार्यसमितिले १ सय दिनको समयावधिमा गरेको काम कारवाहीबारे पस्तुती दिएको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले १ सय दिनको अवधिमा आफुहरुले गरेका काम कारवाही र कार्यक्रमहरुको बारेमा जानकारी गराएका हुन् । उनले कार्यक्रममा १ सय दिनको अवधिमा मुख्य कार्यक्रमहरु तय देखि ती कार्यक्रमहरु कार्यानवयनका लागि गर्नु पर्ने आवश्य कार्यदल तथा समितिहरु पनि निर्माण गरिसकेको बताए ।

उनले सम्मानित निजी क्षेत्र र सम्मुनत नेपाल नारा लिएर देशमा वयवसायिक वातावरण सिर्जना गर्नको लागि महासंघ प्रतिवद्ध भएको बताए ।

महासंघले सय दिनभित्र नेपाल आर्थिक रुपान्तरण मार्गचित्र (भिजन पेपर), परिषद् समिति फोरमलाई क्रियाशिल बनाइने, सबैको भावना र मर्म समेटिने गरी विधान संशोधनको कार्यलाई अगाडि बढाइने, महासंघ पूर्वाधार एवं सचिवालय सुदृढिकरण र महासंघले प्रदेश संरचनाको प्रभावकारी संचालन गर्ने गरी वर्तमान नेतृत्वका ६ वटा प्राथमिकताका क्षेत्र तोकेको बताए ।

उनले २०३० को दशक भित्र विश्वमा विभिन्न देशलाई हेरेर आर्थिक विकासको आधार तयार गर्ने, कृषि क्षेत्र , उद्योग , उत्पादन सेवा क्षेत्रलाई आवश्यक र महत्त्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना बनाइएको पनि उल्लेख गरे ।

यस्तै, महासंघको आर्थिक रुपान्तरण मार्गचित्रमा दश प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचान, महासंघको तेस्रो कार्यकारिणी समिति बैठक पारित लगायतका कामहरु गरेको उल्लेख गरे ।

‘हामीले सय दिनको अवधिमा सबै परिषद् समिति र फोरमको सञ्चालन कार्यविधि तयार गरेका छौं, पहिलो बैठकमा अध्यक्षबाट मार्गनिर्देशन, हरेक ६ महिनामा कार्यसम्पादन मूल्यांकन गरिने र मार्गचित्रको कार्यान्वयन सयन्त्र बनाएका छौं,’ अध्यक्ष गोल्छाले भने ।

उनका अनुसार उद्योग वाणिज्य महासंघले तयार पारेको भिजन पेपर अब १० दिनभित्र सार्वजनिक हुनेछ । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको उनको भनाई छ ।

विधान संशोधन पहिलो प्राथमिकतामा

अध्यक्ष गोल्छाले आफ्नो नेतृत्वको कार्यसमितिले विधान संशोधनलाई मुख्य प्राथमिकता दिएको बताएका छन् । ‘विधान एउटा गतिशील डकुमेन्ट हो, समयानुसार यसको परिवर्तन र परिमार्जन हुँदै जानुपछ, हामी अब महासंघको विधान संशोधन गर्दैछौं,’ उनले भने ।

उनका अनुसार विधान संशोधन कार्यदल महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीको नेतृवमा बनेको छ ।

‘विधा संशोधनको काम अब छिट्टै अघि बढ्छ, विधान संशोधनपछि महासंघका अप्ठेराहरु, कठिनाईहरु निराकरण हुँदै सहज रुपमा गतिविधिहरु अघि बढ्छन्, हाम्रो मुख्य फोकस नै अब कामा हुनेछ,’ उनले भने ।

यस्तै, सचिवालयको भौतिक पूर्वाधार सुधार र प्रादेशि संरचना निर्माणका लागि वर्तमान कार्यसमितिले महत्वपूर्ण काम गर्ने उनले उनको भनाई छ ।

चैत २८ र २९ गते वार्षिक साधारणसभा

अध्यक्ष गोल्छाले आगामी चैत २८ र २९ गते महासंघको ५५ औं वार्षिक साधारणसभा हुने बताएका छन् । उनले महासंघको आगामी कार्ययोजनामा ५५ औं वार्षिक साधारणसभा सम्पन्न गर्ने मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।

‘महासंघ, सीएनआई र नेपाल चेम्बरबीच कार्यगत एकताका लागि प्रयास गरिनेछ, अन्तर्राष्ट्रिय व्यापार आयोजना पनि हामी छिट्टै गर्दैछौं,’ उनले भने ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमैत्री कार्यक्रमहरु ल्याई वित्तीय साक्षरता र नयाँ उद्यमीलाई अवसर दिलाउनको लागि महासंघ प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।

उनले महासंले आगामी दिनमा ५० जना नयाँ उद्यमीलाई पुँजी उपलब्ध गरी उद्यम गर्न सघाउने पनि उल्लेख गरे ।

महासंले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि विभिन्न ४ वटा क्षेत्रगत रुपमा सदस्य सेवा केन्द्र स्थापना हुने पनि बताएको छ ।

कर, राजश्व, बैंकिङ श्रम र मेलमिलाप सम्बन्धि क्षेत्रका लागि महासंघले सदस्य सेवा केन्द्र स्थापना गर्ने बताएको छ । त्यसका लागि नेतृत्व पनि तोकिसकेको छ । ढकालले साना तथा मझौला उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि ती सेवा केन्द्रहरुले महत्वपूर्ण काम गर्ने उल्लेख पनि गरे । अब महासंघले डेटा बैंक र भिजनमा केन्द्रित रहेर काम गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.