अरुको घरमा भाँडा माझ्ने देवी यसरी बनिन् लाखौं सम्पत्तिकी मालिक

  २०७७ माघ २५ गते १५:२०     सन्ताेष राेकाया

काठमाडौं । एउटा सानो खरको घर । घरमा मिठो मसिनो त परै जाओस् बिहान बेलुका छाक टार्नलाई पनि अन्न छैन । न आफ्नो जमिन छ नत अन्य कुनै सम्पत्ति नै । सानो खरको घर पनि माइतीले दिएको । छोराछोरीले भोक लाग्यो भने पनि पेटभरी खाना दिनलाई छैन ।
अब बुझ्नुस् त ती मानिसको जीवन कति कष्टकर र दुःखदायी होला ? हो, त्यही जीवनलाई शक्तिमा रुपान्तरण गर्दै संघर्ष गर्न सिकायो झापाको शिवसताक्षी नगरपालिका ११ दुधेकी देवी दाहाललाई ।

भनिन्छ नि ‘संघर्षले मानिसलाई मजबुत बनाउँछ, चाहे उ जति नै कमजोर किन नहोस् ।’ त्यही पीडा,, दुःख र गरिबीलाई आत्मसाथ गर्दै देवी दाहाल अगाडि बढिरहिन् । उनी आफ्नो पथमा अडिक रहिन् । संघर्षको फल मिठो हुन्छ भनेजस्तै देवी दाहालको जीवन पनि साँच्चिकै लोभलाग्दो र उत्तिकै प्रेरणादायी पनि छ । हिजो गाउँमा सबैले हेप्ने, नटर्ने देवी दाहाललाई आज सबैले विश्वासिलो र भरपर्दो नेतृत्वको रुपमा उनलाई चिन्ने र बुझ्ने गर्छन् ।

हिजो अरुको घरमा भाडा माझेर पेट पाल्ने देवी आज अरुलाई सीप सिकाउने र कसरी स्वरोजगार बन्ने भन्ने सिकाइरहेकी छिन् । देवी दाहालको जीवनको यात्रामा सफल बनाउनको लागि टर्निङ प्वोइन्ट बन्यो मौरी व्यवसाय । हो, मौरीकै कारण अहिले उनको जीवन फेरिएको मात्र होइन सम्पन्न पनि भएको छ ।

कुनै संघर्षशिल महिलाको उदाहरण दिँदा देवी आजभोलि आफ्नै उदाहरण दिन्छिन् । आफ्ना संघर्षका पाइलाहरु बताउँदै सुन्ने मानिसलाई भावबिभोर पार्छिन् उनी । विश्वास गर्नु हुन्छ ? हिजो बिहान बेलुका छाक टार्न माइती वा छिमेकीलाई गुहार्ने उनी आज लाखौं रुपैयाँ कमाउँछिन् । उनीसँग लाखौं रुपैयाँ बराबरको सम्पत्ति छ ।

उनले आफु मात्र होइन आफु जस्तै अन्य महिलाई पनि कमाउने र स्वावलम्बी बनाउन सफल भएकी छिन् । झापाको शिवसताक्षी नगरपालिका ११ दुधेकी देवी कुमारी ओली दाहाल आजभन्दा १७ वर्ष अगाडि के खाउँ र के लगाउँ भन्ने अवस्थामा थिइन् । तर, अहिले भने उनको जीवन मौरीले हराभरा बनाएको छ ।

२०६० सालतिर शिवसताक्षीका महिलाहरु पुरुषमै निर्भर थिए । उनीहरु चुल्हो चौकामै सीमित थिए । पुरुषले कमाएर ल्याएको पैसाले घर खर्च चलाउँथे । तर, त्यसयता भने उनीहरु स्वरोजगार मात्र होइन अरुलाई रोजगारी पनि दिने अवस्थामा पुगेकी छन् । शिवसताक्षीका स्थानीय केही अगुवाहरुको सल्लाहमा २०६३ सालमा उनीहरुले एक सहकारी खोले । नाम राखियो श्री सतासी महिला मौरी पालन सहकारी संस्था । त्यो सहकारीमा देवी दाहालले पनि काम गर्ने अवसर पाइन् ।

त्यो समय नै देवी दाहालको जीवनमा टर्निङ प्वाइन्ट बन्यो । उनी भन्छिन्, ‘त्यो मेरो लागि स्वर्मिण समय हो ।’ उनले शुरुमा दुई घारबाट मौरीपालन व्यवसाय शुरु गरिन् । त्यो दुई घार मौरीले आफ्नो जीवन परिवर्तन मात्र होइन हराभरा र सम्पन्न बनाएको उनी बताउँछिन् । दाहालले मौरी व्यवसाय गरेको १७ वर्ष भइसकेछ ।

‘ती दिनहरु हिजो जस्तै लाग्छन्, बाबुनानीहरुले भोक लाग्यो भन्दा कुनै काममा भुलाउनु पर्थ्यो, बस्ने घर समेत माइतीले दिएको थियो, श्रीमानको कुनै सम्पत्ति थिएन, धेरै संघर्ष गरियो, संघर्ष गर्दा फल पनि मिठो पाइने रहेछ भन्ने मैले बुझे,’ विगतका दिनहरु सम्झिदै दाहालले भनिन् ।

मौरी व्यवसाय गरेको यो १७ वर्षको यात्रामा पछाडि फर्केर हुर्नु पर्ने अवस्था नआएको उनी बताउँछिन् । उनी निराश हुँदै भन्छिन्,‘ दुःख पर्दा आफन्त पनि विरानो हुने रहेछ, जुन मैले लामो समय अनुभव गरेँ ।’

‘अहिले मेरो दुई छोराछोरी छन्, दुवैले बिहे गरिसके, श्रीमान गाडी लाइनमा काम गर्नुहुन्छ, सबै आ–आफ्नै काममा छौं, कसैले कसैलाई माग्नु पर्दैन, जीवन अझै संघर्षमै छ,’ देवी भन्छिन्, ‘अहिले मलाई ४४ वर्ष पुग्यो, संघर्ष गर्ने दिनहरु अझैँ बाँकी छन् ।’

उनी छोराछोरीलाई पेटभरी खाना खुवाउनलाई पनि अरुको घरमा काम गरेको बताउँछिन् । आफ्नो घर नभएरै धेरै समय भाडमा बसेको अनुभव भएको पनि उनी बताउँछिन् ।

‘सायद म गरिवको पनि गरिव थिएँ, म भन्दा कोही पनि गरिब थिएन होला, अहिले मेरो जीवन आकाश पातालको फरक छ, मौरी व्यवसायबाटै सिजनमा ३५ लाख रुपैयाँ कमाउँछु, २ घारबाट सुरु गरेको मौरी अहिले ३ सयभन्दा बढी घार छन्, धेरैले मबाट नै काम सिके, अहिले आफ्नो संघर्ष देख्दा खुसी लाग्छ,’ उनले भनिन् ।

अहिले देवी दाहाल सतासी महिला मौरी पालन सहकारी संस्थाकी व्यवस्थापकको रुपमा पनि काम गर्छिन् । उनका अनुसार उनले मौरी व्यवसायबाटै घरजग्गा जोडेकी छिन् भने लाखौं रुपैयाँ पनि कमाएकी छिन् ।

मौरी व्यवसायले देवी दाहाल मात्र होइन सतासी महिला मौरी पालन सहकारी संस्थामा आवद्ध ३२० जना महिलाको नै जीवन फेरिएको छ । उनीहरु स्वरोजगार मात्र होइन स्वावलम्बी पनि बनेका छन् । सो सहकारीमा आवद्ध प्रत्येक महिलाले न्यूनतम ५ देखि अधिकतम ३०० घारसम्म मौरी पालेका छन् ।

देवी जस्तै संर्घषको यात्रामा छिन् सोही सहकारी संस्थाकी अध्यक्ष धनमाया थापा पनि । विपन्न परिवारकी धनमाया अहिले सहकारी नै हाँकेकी छिन् । अहिले उनले पनि २ सयभन्दा बढी मौरी घारहरु बनाएर स्वरोजगार बनेकी छिन् ।

मौरीपालनमा लाग्नु अगाडि कुनै पनि आम्दानी नभएको बताउने धनमाया अहिले सिजनमा लाखौं रुपैयाँ कमाउने भएकी छिन् । उनले मौरी व्यवसाय गरेरै छोरीलाई नर्सिङ पढाएको बताइन् ।

उनका अनुसार उनले सिजनको २० लाख रुपैयाँसम्म कमाउँछिन् । संस्थाले स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउन शुरुमा दुई घार मौरी धरौटी दिई व्यवसाय गर्न लगाउने र त्यसपछि ती दुई घार सहकारीलाई नै फिर्ता गरी त्यसबाट गरेको नाफाका घारहरु आफैले नै राखी व्यवसाय गर्दै आएका छन् ।

धनमायाका अनुसार महिलाहरुले उत्पादन गरेको मह सहकारीले नै खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पुर्याउने काम गरेको छ । संस्थाका अनुसार प्रतिकेजी महको मूल्य न्यूनतम ३ सयदेखि ५सयसम्म पर्ने गरेको छ । थापाले तोरी, फापर र जंगली जडिबुटीको मह उत्पादन गर्ने गरेको बताइन् । सतासी महिला मौरी पालन सहकारी संस्थाले उत्पादन गरेको मह पूर्वका विभिन्न जिल्लादेखि पश्चिम दाङसम्म पुग्ने गरेको थापाले बताइन् ।

उनले मौरीको महले विभिन्न रोगहरु पनि निको पार्ने बताइन् । संस्थाका अनुसार यो सिजनमा ४ करोड रुपैयाँको मह बिक्री भइसकेको छ । सिजनमा ६० टन जति मह उत्पादन हुने उनीहरुको भनाई छ । गत वर्ष भने कोरोना भाइरसको कारण मौरीलाई हिँडडुल गराउन नसकिएकाले ३० टन मात्रै मह उत्पादन भएको थियो ।

हाल सो सहकारीले १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । संस्थाका अनुसार एक घारबाट सिजनमा ३० देखि १ सय केजीभन्दा बढी मह उत्पादन हुने गरेको छ । मौरी व्यवसायले शिवसताक्षीका महिलाहरु खुसी छन् । स्वदेशमै काम नपाएरै विदेश जाने सोच भएकाहरुलाई पनि स्वदेशमै केही काम गर्न उनीहरु सुझाव दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.