अनि जन्मियो एनएमसी कोप

  २०७७ माघ २१ गते १४:१६     सन्तोष रोकाया

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अर्थात एनएमसी कोपको इतिहासँग एउटा पृथक र दुःखद घटना जोडिएको छ । जतिखेर मानिसहरुमा नियमित बचतको बानी थिएन । मानिसमा त्यही बचतको बानी बसाल्न ठूलो भूमिका खेलेको छ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले ।

सुदूर पूर्वको झापामा अवस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना २०५० साल फागुन २४ गते तदनुसार सन् १९९४ मार्च ८ तारिखमा भयो । यो सहकारी स्थापना हुनु पूर्व भने यहाँको सहकारी अभ्यास भने पृथक खालको थियो ।

झापा जिल्ला छिमेकी राष्ट्र भारतसँगै जोडिएको छ । झापाका मानिसहरु नेपालका जिल्लाहरुभन्दा पनि भारतका विभिन्न ठाउँको बढी प्रभावमा पर्छन् । अर्थात यहाँका मानिसहरु बढी भारतसँग नजिक छन् । नजिक यस मानेमा कि उनीहरु नुनदेखि सुनसम्मको कारोबार भारतीय बजार सिलिगुडीमै गर्छन् ।

त्यसैले पनि उनीहरुको व्यापारिक आत्मियता भारतसँग बढी छ । त्यही व्यापारिक आत्मियताकै कारण झापाका केही बुद्धिजिवीहरुले त्यसताका पैसा बचत गर्नकै लागि भनेर भारतको कम्पनीलाई बुझाउँथे । त्यो समयमा स्थानीयस्तरमा अर्थात झापामा आएर भारतीय कम्पनीहरुले पैसा जम्मा गरेर बचतको लागि भनेर लैजान्थे ।

तर, विडम्बना आफुले जसोतसो बचतको लागि भनेर जम्मा गरेको पैसा भारतीय कम्पनीले फिर्ता नगरेपछि ठूलो समस्यामा परे स्थानीयहरु । यसरी वर्षेनी उठाएको पैसा फिर्ता नआउने भएपछि स्थानीय २६ जना सदस्यहरु मिलेर एउटा सहकारी खाल्ने निधो गरे र त्यही योजनासँग जोडेर आयो एनएमसी कोप अर्थात नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ।

एनएमसी कोपको जन्मसँगै वर्षेनी ठगिएका स्थानीयहरुले ठगहरुबाट मुक्ति पाए । झापालीहरुले जसोतसो बचतका लागि छुट्याएको पैसा जम्मा गर्ने विश्वासिलो प्लेटफर्म बन्यो एनएमसी । वर्षौंदेखि पीडित बन्दै आएका स्थानीयहरुले थप पीडित बन्नु परेन । विस्तारै भारतीय कम्पनीबाट ठगिएका पीडितहरुको घाउमा मल्हम लगाउँदै आफ्ना सदस्यहरुलाई खुसी पार्ने सफल सहकारीका रुपमा परिचित बन्यो एनएमसी ।

सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई अवलम्बन गर्दै एनएमसीलाई अहिले २७ वर्ष पुगेको छ । एनएमसीको गन्तव्य ठूलो छ । त्यही गन्तव्य सँसँगै आफ्ना सदस्यहरुलाई पनि राहत तथा खुसी पार्ने चुनौती थपिएको बताउँछन् नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद उप्रेती ।

२७ वर्षको यात्रामा संस्थाले विभिन्न व्यापार व्यवसाय गर्दै आएको छ । ‘आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने रणनीति छ, अहिले हामीले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा बैङ्किङ कारोबार, डेरी व्यवसाय, सहकारी पसल, चिया व्यवसाय र एकिकृत नमुना कृषि फर्म गरी ५ वटा व्यवसाय सुरु गरेका छौं,’ सीईओ उप्रेतीले भने ।

करिब ११ अर्बको वासलात ९५ हजार सदस्य

साढे दुई दशकभन्दा अगाडि स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय विवरण नेपाली वाणिज्य बैंकहरुसँग तुलना गर्न योग्य छ । सो सहकारी संस्थाको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार कुल १० अर्ब ९५ करोड ६९ लाख ३९ हजार रुपैयाँको वासलात छ । २६ जनाबाट सुरु भएको एनएमसीले अहिले सदस्यहरुमा पनि ठूलो फड्को मारेको छ ।

सुरुवाती चरणमा अर्थात २०५० सालमा २ लाख ५३ हजार रुपैयाँबाट सुरु गरेको यो सहकारीको पुँजी रफ्तारमा वृद्धि हुँदै गएको छ । २०७० सालसम्म ९ हजार सेयर सदस्यमा सीमित एनएमसी २०७७ सम्म आइपुग्दा ९५ हजार सदस्य बनाउन सफल भएको छ । जुन आफुलाई नेपालको उत्कृष्ट सहकारी भनेर पनि दावी गर्छ ।

हाल एनएमसीमा कुल ९५ हजार ८ सय जना सदस्य आवद्ध छन् । एनएमसी सयौंलाई रोजगारी प्रदान गर्ने सहकारी संस्था मात्र होइन स्वरोजगार बन्नका लागि काम सिकाउने एउटा पाठशाला पनि बनेको छ । चालु आर्थिक वर्षमा कुल ११ अर्ब ५३ करोड ९४ लाख रुपैयाँको वासालात बनाउने सहकारीको योजना छ ।

२०५० सालमा २ लाख ५३ हजार जम्मा गरेर २ लाख २७ हजार रुपैयाँ कर्जा लगानी गरेको यो सहकारीले २०७७ सम्म आइपुग्दा ८ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीले वर्षेनी नाफा पनि बढाउँदै गएको छ । आजभन्दा वर्ष अगाडि अर्थात २०७५ मा ४ करोड नाफामा रहेको कम्पनी अहिले करिब १७ करोड नाफा गर्न सफल भएको छ ।

मौलिक पहिचानमा उच्च प्राथमिकता

सहकारीले सदस्यलाई नाफा कमाएर वितरण गर्ने मात्र होइन नागरिकलाई संस्कार र शिस्टाचार पनि सिकाइरहेको छ । विभिन्न समय र कालखण्डमा एनएमसीले आफ्ना सेयर सदस्य र समस्त नागरिकहरुका लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

मौलिक पहिचानलाई उजागर गर्नको लागि अभियानमार्फत सचेतनामुलक कार्यक्रमहरु एनएमसीका प्राथमिकताका विषयहरु हुन् । एनएमसी टाइमको पालना, सरसफाइ अभियान, नमस्ते अभियान, सुत्केरी भेटघाट, नवजात शिशु भेटघाट, समवेदनामा उपस्थिति, सामाजिक योगदानमा मेरो एक रुपियाँ र सदस्यहरुप्रति अपनत्व र मैत्रीभावको विकासका लागि एनएमसी ट्याग लगायतका अभियानहरु एनएमसीका प्रमुख तथा परिचित अभियानहरु हुन् । जो स्थानीय स्तरमा सहकारी मात्र होइन एक अब्बल तथा उदाहरणिय अभिभावकका रुपमा परिचित छ ।

कोरोनाकालमा एनएमसी

जव विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संन्त्रास छायो, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लागि आम नागरिकहरुलाई साथ सहयोग गर्ने एक ठूलो अवसरका रुपमा स्थापित भयो । जसले एनएमसीलाई थप परिचित र थप जिम्मेवार बन्ने चुनौती देखा पर्यो ।

कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा मात्र होइन कोरोनाकै कारण समस्यामा परेका धेरै नागरिकहरुको अभिभावक एनएमसी बन्यो । कोरोना भाइरसकै समयमा एनएमसीले झापा जिल्लाका १५ वटै स्थानीय निकायहरु ३४ हजार किलो चामल वितरण गर्यो । जसले एक छाक खान नपाएका गरिबहरुलाई ठूलो राहत मिलेको उप्रेती बताउँछन् ।

‘कोरोको कारणले खानै नपाउने अवस्था पनि सिर्जना भयो, त्यतिखेर सहयोग तथा साथ दिने चुनौती हामी माथि आइलाग्यो, हामीले सहजै राहत तथा उद्दारको काम गर्यौं, यसले पनि हामीलाई थप जिम्मेवार बन्न उत्प्रेरित गर्यो,’ उनले भने ।

सीईओ उप्रेतीले कोरोनाको समयमा बचत खातामा न्यून बचत भएका प्रति सदस्यलाई ५ हजार सापटी रकम प्रदान, राष्ट्रिय सहकारी महासंघ मार्फत कोरोना कोषमा २ लाख सहयोग, कोरोनाकालमा ब्याज तथा हर्जानामा छुट, स्वास्थ्य मापदण्ड अपनाउँदै सबै व्यवसाय मार्फत सेवा प्रवाह लगायतका सामाजिक कार्यहरु गरेको बताए ।

यस्तै, उप्रेतीले एनएमसीले सदस्यहरुलाई १ लाख देखि ५ लाखसम्मको दुर्घटना (मुत्यु) राहत सुविधा, १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार राहत सुविधा, २५ हजारसम्मको दीर्घरोग उपचार एवम् राहत सुविधा, व्यवसायको क्षतिमा २५ हजारसम्मको राहत सुिवधा, ७५ हजार सम्मको किरिया खर्च राहत सुविधा, प्राकृतिक प्रकोपबाट सदस्यको व्यवसायमा क्षति भएमा सहुलियत कर्जा लगायतका राहतका सुविधा दिँदै आएको बताए ।

फस्टाउँदै डेरी व्यवसाय

नेपाल बहुउद्धेश्यीय संस्थाको पूर्ण स्वामित्व रहने गरी २०७२ सालमा स्थापना भयो एनएमसी डेरी उद्योग । अहिले पूर्वी झापा मोरङ, सुनसरी र इलाममा एनएमसी डेरीकै प्रडक्ड फष्टाएको छ । १५ करोड रुपैयाँभन्दा बढी लागनी रहेको एनएमसी डेरी उद्योगमा यसमा ४ हजारभन्दा बढी किसान आवद्ध रहेको एनएमसी डेरीका प्रमुख तथा सो सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद कोइराला बताउँछन् ।

उनका अनुसार अहिले सो डेरी उद्योगले १५ वटा दुग्ध प्रडक्टहरु उत्पादन गर्दै आएको छ । ‘किसानले उत्पादन गरेको दुधको गुणस्तरीयतादेखि उपभोक्तासम्म पुग्ने दुधको गुणस्तरियताको कायम राख्ने काम एनएमसीले गर्छ, एनएमसीले उत्पादन गरेका दुग्धजन्य पदार्थहरु उच्च र अब्बल छन् भन्ने कूरा नेपाल सरकारको गुणस्तर कार्यालयले समेत प्रमाणित गरेको छ, पटक–पटक भएका खाद्य मेलामा उच्चस्तरको प्रडक्ट भएको प्रमाणपत्र हामीले पाएका छौं, अहिले यहाँको उपभोक्ताको रोजाई नै एनएमसी डेरीको प्रडक्ट हो,’ कोइरालालले भने ।

एनएमसीले उत्पादन गर्ने दुग्धजन्य प्रडक्ट

उनका अनुसार अहिले दैनिक १२ हजार दुध उत्पादन तथा प्रशोधन गरिन्छ । ‘एनएमसी डेरीका उत्पादनहरु झापा, मोरङ, सुनसरी र इलाम लगायतका जिल्लाहरुमा जाने गरेका छन् । ‘स्थानीय स्तरको दुध संकलन गर्नको लागि ३ सयभन्दा बढी संकलन केन्द्र रहेका छन्, हामीले दुधको गुणस्तरियता कायम गर्नको लागि सबै उपायहरु अवलम्बन गरेका छौं, त्यसैले पनि हाम्रो उत्पादनका आकर्षण बढ्दै गएको छ,’ उनले भने ।

गाई फार्म

‘एनएमसीको प्रडक्ट पाइएन भने मात्र अन्य प्रडक्टहरु प्रयोग गर्नु हुन्छ अन्यथा उनीहरुको पहिलो प्राथमिकता नै एनएमसीका प्रडक्टहरु हुन्, हामीले हाम्रा सदस्यहरुलाई पूर्ण रुपमा सन्तुष्टि दिन सकेका छौं । अहिले हामीले उत्पादनको सीमितताको कारणले झापा मोरङ, सुनसरी र इलाममै मात्र सिमीत छौं, विस्तारै यसलाई विस्तार गर्दै लैजान्छौं,’ उनले भने ।

काम सिकाउने कृषि फर्म पनि

एनएमसीले विगत एक डेढ वर्षदेखि एकिकृत नमुना कृषि फर्म पनि सुरु गरेको छ । १६ विघा क्षेत्रफलमा विभिन्न जातका तरकारी, गाई पालन, माछा पालन गर्ने योजना रहेको छ । सीईओ उप्रेतीका अनुसार अहिले सो परियोजनाको लागि आवश्यक भौतिक संरचना तथा जग्गामा १२ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । उनका अनुसार सो एकिकृत नमुना कृषि फर्मको लक्ष्य भनेको वेरोजगारह युवाहरु तथा किसानहरुलाई काम सिकाएर स्वरोजगार बनाउने हो ।

‘अहिले कृषि फर्ममा १३ वटा गाईहरु छन्, यो वर्षमा ५० गाई पाल्ने योजना रहेको छ, हामीले व्यवसाय मात्र होइन वयवसाय यसरी गर्नु पर्छ है भनेर सिकाउँछौं पनि, कृषि फर्ममा गाई पालन, माछा पालन, साग सब्जी तरकारी उत्पादन गर्ने गरिन्छ,’ उप्रेतीले भने ।

एनएमसीले सञ्चालनमा ल्याएकाे एटीएम

उनका अनुसार यो मेगा प्रोजेक्ट हो । यसका लागि ५० करोडभन्दा बढी लगानी आवश्यक छ । अहिले अनुमानित लागत साढे ८ करोड रुपैयाँ भएपनि डेढ वर्षपछि यसको लागत २० करोड रुपैयाँ पुर्याउने उनको भनाई छ ।
उनले भने ‘अहिले ३०/३५ जनाले रोजगारी पाएका छन्, परियोजना हजारौं जनाले रोजगारी पाउँछन्, काम सिक्ने पाठशालाको रुपमा पनि हामी यसलाई स्थापित गर्छौं ।’

एटीएम सञ्चालन गर्ने पहिलो सहकारी

नेपाल बहुउद्धेश्यीय सहकारी संस्था (एनएमसी)ले बैंकिङ व्यवसाय पनि गर्दै आएको छ । जुन प्रदेश एककै सबैभन्दा पहिला एटीएम सञ्चालन गर्ने सहकारीका रुपमा परिचित छ । एनएमसीले मोबाइल बैङ्किङ सेवामा पनि फड्को मार्दै गएको छ । संस्थाको आफ्नै छुट्टै वाइरेल लोकल एरिया नेटवर्क सम्बन्धी ब्यबस्थापा पनि रहेको छ ।

सम्पूर्ण व्यवसायमा ईलेक्ट्रोनिक हाँजिरीको सुविधा पनि रहेको छ । एनएमसीका सदस्यहरुले इन्टरनेटको माध्यममार्फत पनि संस्थाको सेवा लिन सक्छन् । यी विविध कारणले पनि एनएमसी विभिन्न समयमा विभिन्न संस्थाबाट मात्र होइन नेपाल सरकारबाट पनि सम्मान तथा कदर पत्र हाँसिल गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.