चाख्ने हो त बाँसको ढुंग्रोमा पकाएको चिया र ब्याम्बो बिर्‍यानी ?

  २०७७ माघ १४ गते १७:१८     नरेन्द्र रौले

काठमाडौं । हरियो बाँसको ढुंग्रोमा पकाएको चिया र बिर्‍यानी चाख्नु भएको छ ? रातोपुलमा खुलेको ‘ब्याम्बो बिर्यानी’ले यस्तै नौलो प्रयोग गरेको छ । बाँसकै संरचनामा निर्माण भएको यस कटेजमा बासकै कुर्सी, बाँसकै टेबलहरु छन् । यो कटेजको मुख्य विशेषता भनेकै बाँसमै बनाइएका परिकारहरु हुन् ।

कालोपुलबाट रातोपुलतिर जाने बेला झण्डै डेढ सय मिटर जति माथि छ, यो कटेज । यहाँ बाँसकै ढुंग्रोमा पकाइएको चिया, बिर्‍यानीको स्वाद लिनकै लागि मानिसहरु झुम्मिन्छन् । राजधानीमा फरक र नौलो स्वाद पस्किएकोले कटेजमा ग्राहकहरुको भीड लाग्ने गरेको छ ।

ब्याम्बो बिर्‍यानी रातोपुलमा एक वर्षअघि खुलेको हो । झापाका विवश काफ्ले र मिलन रेग्मी यसका सञ्चालक हुन् । लकडाउनको कारण केही समय बन्द भएपनि तिहारपछि फेरि सञ्चालनमा आइसकेको छ । यो कटेज चर्चामा आएको धेरै समय भएको छैन । विशेषगरी तिहारपछि यसको चर्चा बढेको हो ।

झापाको कमल गाउपालिका ३ तोपगाछीका विवश काफ्ले यसअघि भक्का र मटिया हाउस सञ्चालन गर्थे । अहिले पनि उनले त्यो व्यवसायलाई निरन्तरता दिदै आएका छन् । मटिया हाउस चलाउँने क्रममा बाँसको कटेज र बाँसमै परिकार बनाउने नौलो सोच उनको मनमा जन्मियो ।

हुन त नेपालमा यस्तो खालको व्यापार नौलो भए पनि श्रीलंका, इन्डोनेसिया, भारतमा भने पहिल्यैदेखि गरिदै आएको पाईन्छ । विवसले त्यही देखेर नेपालमा यसको सुरुवात गरेका हुन् ।

‘म नयाँ नयाँ सोच बोकेर काम गर्न रुचाउँने मानिस हो, नेपालीपन झल्किने के छ भनेर सोच्दा बाँस नै रोजें,’ विवशले भने ।

कटेज सुरु गर्नु अगाडी उनी एक पटक गैरीधाराको तामा रेस्टुराँ गएका थिए । त्यहाँ उनले बाँसको भाँडामा परिकार सर्भ गरेको देखे । उनको मनमा नयाँ सोच आयो, अब बाँसको भाँडामै पकाएर सर्भ गर्नुपर्छ ।

रेस्टुराँमा नौलो–नौलो प्रयोग गर्ने क्रम बढिरहेको छ । उनले पनि नौलो प्रयोग गर्न खोजे । चिया र बिर्‍यानी बनाउने हरियो बाँस झापाबाटै झिकाउने गरिएको छ । लामो बाँसलाई २ फिटको साइजमा काटिन्छ । त्यसैमा चियापत्ति, चिनी, दुध र पानी राखेर उमालिन्छ । चिया पिउन प्रयोग हुने बाँसको कप पनि झापाको बुधबारेबाट ल्याउँने गरिएको छ ।

विवशले व्यापारिक साझेदार खोजेर त्यसपछि ब्याम्बो बिर्‍यानी कटेजलाई पूर्णता दिए । क्यानाडाबाट फर्किएका सन्जिब पहारीले कटेजको डिजाइन गरेका हुन् । १० लाख रुपैंयाँको लगानीमा कटेज सुरु गरिएको उनले बताए । सुरुवातमा यहाँ विर्‍यानी र स्न्याक्स मात्र बनाईन्थ्यो । बिस्तारै अन्य परिकारहरु मेनुमा थपिए । बाँसको ढुंग्रो यत्तिकै खेर गईरहेको थियो । त्यसैमा चिया बनाउँदा कस्तो हुँदो रहेछ भनेर विवशलाई जाँच्न मन लाग्यो उनीहरुलाई ।

‘राम्रो बन्यो, त्यसको स्वाद पनि मीठो बन्यो,’ सन्जिबले भने ।

पछि त ब्याम्बो विर्‍यानीको ब्राण्ड नै चियाले स्थापित गराइदियो ।

हरियो बाँसको ढुंग्रोमा चिया पाक्न झण्डै १० मिनेट लाग्छ । विर्यानी पाक्न भने ३५ मिनेट समय लाग्छ । चिकेनका आइटम पाक्न बढी समय लाग्छ ।

अलि कुर्नु परे पनि ग्राहकको धैर्यता भने टुट्दैन ।

अहिले ब्याम्बो बिर्‍यानी सोसल मिडियामा खोजीको विषय बनेको छ । विवसले सोसल मिडियामा कसरी आम मानिसको ध्यान तान्ने भन्नेबारे सोचे ।

आफ्नै स्टाफलाई बाँसमा चिया पकाएको भिडिओ टिकटक राख्न लगाए । भिडिओ भाइरल बन्यो । त्यसपछि त ब्लगर, भ्लगर र मिडियाको नजर परिहाल्यो । मार्केटिङमा त्यसले राम्रै भूमिका खेल्यो ।

बिहान १० बजे मात्र खुल्ने यो कटेजमा ग्राहक भने त्योभन्दा अगाडि नै पुगिसकेका हुन्छन् । साँझ ८ बजेसम्म यहाँ उस्तै भीड लाग्छ । हाल ७ जना स्टाफले यस कटेजमा काम गरिरहेका छन् ।

विवशका अनुसार दैनिक २० देखि २५ लिटर दुधको चिया र १ सय ५० भन्दा बढी प्लेट बिर्‍यानी अर्डर हुने गरेको छ । पछिल्लो समय ग्राहकहरुको भीड यति बढेको छ कि कटेजले धान्नै सकिरहेको छैन । स्पेशको पनि उत्तिकै अभाब भइरहेको छ । विद्यार्थी, सरकारी कर्मचारी, बैंकर्सलगायत बिभिन्न पेशाकर्मीहरु यस कटेजमा टाढा–टाढाबाट आउने गर्छन् । काठमाडौं उपत्यका बाहिरबाट पनि मानिसहरु सिक्न र स्वाद चाख्न आउने गरेका विवशले सुनाए ।

लकडाउनमा ९ महिना कटेज बन्द भएपनि कटेजका सञ्चालक आत्तिएनन् । तिहारपछि पुनः सञ्चालनमा आएको कटेजले झन रफ्तार लिएको छ । हाल दैनिक २५ हजार रुपैयाँ बराबर कारोबार भइरहेको विवस बताउँछन् । अब बिस्तारै बाँसको फार्मिङ बढ्नेमा विवश विश्वस्त छन् । ब्याम्बो बिर्‍यानीको सिको गर्दै धेरैले बाँसकै कटेज बनाउँन थालिसकेका छन् ।

काम गर्नेलाई अवसर

अहिले ७ जनालाई रोजगारी दिएको ब्याम्बो बिर्‍यानीले अझै स्टाफ खोजिरहेको छ । तर, काम गर्ने मानिस पाएको छैन । पछिल्लो समय एक महिनामै ४ जनाले काम छोडे । कटेजले जनशक्ति थप्न खोजे पनि फेला पार्न सकेको छैन ।

‘विदेश गएर काम गर्न खोज्ने युवा नेपालमा काम गर्न खोज्दैनन्, नेपालमा भने काम गर्न अल्छी गर्छन्,’ विवसले गुनासो गरे ।

कामप्रतिको समर्पण

जुन क्षेत्रमा हात हाले पनि विवश सफल छन् । उनले बिगतमा भक्का हाउस र मटिया हाउस सञ्चालन गरिसकेका छन् । झापाको भक्का भनेपछि हुरुक्कै हुने धेरै छन् । त्यस्तै मटिया हाउसमा माटोको भाँडोमा खीर, अण्डा र माछाको परिकार चखाउँछन् ।

यी दुबै राजधानीमा राम्रै ब्राण्डका रुपमा स्थापित भए । सबै व्यवसाय सफल हुनुका पछाडि के कारण होला ? उनलाई सोधियो ।

‘म कामलाई सम्मान गर्छु । माया गर्छु, म मालिक हुनका लागि होइन, कामका लागि काम गर्छु,’ विवसले भने ।

आफू स्टाफसँगै भाँडा माझ्न पनि पछि नपर्ने उनले सुनाए ।

विवशको अबका योजना

सबै जना उद्यमी बन्न चाहन्छन् । तर, सबै सफल उद्यमी बन्न सक्दैनन् । कसरी व्यवसाय गर्ने, के गर्ने, कति लगानी गर्ने भन्ने बारेमा ज्ञान हुँदैन । कसैलाई मःम पसल गर्ने इच्छा होला । तर, उसलाई सबै कुरा थाहा हुँदैन । उद्यमी बन्न चाहनेलाई विवश टिप्स र ट्रिक्स दिन चाहन्छन् । उनी विजनेस कन्सल्ट्याण्टका रुपमा काम गर्न चाहन्छन् । छिटै नै धेरैको नजर तान्ने अर्को व्यवसायमा हात हाल्न लागेको उनले सुनाए ।

के होला त्यो व्यवसाय ?

‘अहिलेलाई गोप्य राखौं,’ विस्तृतमा विवशले खोल्न चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.