आईपीओ जारी गरिरहेको निफ्राले तत्काल ५ अर्ब भित्र्याउँदै, वार्षिक १३ खर्बको लगानी गर्नुपर्ने !

  २०७७ माघ ४ गते १२:०२     मञ्जरी पाैडेल


देशको पूर्वाधार विकासलाई थप गति प्रदान गर्ने मुख्य उद्देश्य लिई राष्ट्रिय स्तरको पूर्वाधार विकासको बैंकको रुपमा स्थापना भएको कम्पनी हो, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड । कम्पनीले २०७५ फागुन २२ गतेदेखि राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको हैसियतले बैंकिङ्ग कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

२०७५ जेठ २५ गतेदेखि पब्लिक कम्पनीको रुपमा दर्ता भएको बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको एक महिना नबित्दै पूर्वाधार विकास बैंकको हैसियतले बैंकिङ्ग कारोबार शुरु गरेको हो । कम्पनीले २०७५ माघ २८ गते मात्रै नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा बैंकिङ्ग कारोबार गर्न स्वीकृत प्राप्त गरेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले हाल काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरबाट कारोबार गरिरहेको छ भने बैंकको कार्यक्षेत्र नेपाल भर हुनेछ । साथै, नेपाल राष्ट्र बैंकको स्वीकृति लिई आवश्यकता अनुसार स्वदेश तथा विदेशमा शाखा, उपशाखा वा अन्य कार्यालय खोली बैंकिङ्ग कारोबार विस्तार गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको संस्थापकहरुमा नेपाल सरकार, वाणिज्य बैंकहरु, जीवन तथा निर्जीवन बीमा कम्पनीहरु, बैंकिङ्ग/वित्तीय क्षेत्र, जलविद्युत क्षेत्र, पर्यटन क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि उद्योग तथा ब्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।

यस्ता छन् मूख्य उद्देश्यहरू
पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा सेयरमा लगानी गर्नुका साथै परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य रहेको छ । त्यस्तै, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारका लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने कम्पनीको मूख्य उद्देश्य हो ।

कम्पनीले दीर्घकालिन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी श्रोत परिचालन गर्ने छ । राष्ट्र बैंकको स्वीकृति लिई लिजिङ्ग कारोबार गर्ने विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने र राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने बैंकको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

पूँजी संरचना
बैंकको अधिकृत पुँजी ४० अर्ब रुपैयाँ र जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ । हाल जारी गरिरहेको आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ ।

स्थापना भएकाे ३ वर्षकाे दाैरानमा कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सार्वजनिक सेयर निष्काशन गरिरहेकाे छ । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ । जुन नेपालकाे इतिहासकै ठूलाे मात्राकाे आईपीओ हाे ।

इतिहासकै ठूलो आईपीओ खुला, कति दिने आवेदन ?

सेयर जारी गर्नुकाे उद्देश्य
बैंकको जारी पुँजी २० अर्ब रूपैयाँ मध्ये प्रबन्धपत्रमा व्यवस्था भए अनुरुप जारी पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नु पर्ने भएको कारण जारी पुँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयरहरु सर्वसाधारणहरुमा बिक्री वितरण गरी कम्पनीको सञ्चालनमा सर्वसाधारणहरुलाई समेत संलग्न गराउनु कम्पनीको उद्देश्य रहेको छ ।

दोश्रो, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न । र तेश्रो, बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पूर्वाधार विकास सम्बन्धी व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न कम्पनीले सार्वजनिक निष्काशन गरेको हो ।

सेयर जारी पश्चात उठेकाे रकम कहाँ प्रयाेग गर्छ ?

साधारण सेयर निष्काशनबाट बैंकले ८ अर्ब रूपैयाँ उठाउँछ । उक्त पुँजी बैंकले कर्जा तथा सापट र अन्य लगानीमा उपयोग गर्छ । बैंकले चालु आवको अन्त्यसम्ममा कर्जा तथा सापटमा ४ अर्ब ३२ करोड रूपैयाँ र अन्य लगानीमा ३ अर्ब ६८ करोड रूपैयाँ उपयोग गर्ने बताएको छ । चालु आ.व. पश्चात बैंकले आफ्नो लगानी विस्तार गर्दै पुँजीको प्रतिफल बढाउँदै लाने जानकारी गराएको छ ।

बैंकले चालु आवकाे नाफाबाटै बाेनस सेयर वितरण गर्ने
बैंकले चालु आवकाे नाफाबाटै सेयरधनीलाई बाेनस वितरण गर्ने भएकाे छ । बैंकले गरेकाे प्रक्षेपण अनुसार बैंकले आव ०७७/०७८को नाफाबाट ८ प्रतिशत बोनस सेयर वितरण गर्ने छ । त्यस्तै, आव ०७८/०७९ र आव ०७९/०८०काे नाफाबाट सेयरधनीले क्रमशः ६.५० र ६.१० प्रतिशत बोनस पाउने छन् ।

कम्पनीकाे वास्तविक र प्रक्षेपित वित्तीय विवरण
कम्पनीका अनुसार विगत ३ बर्षको नेटवर्थमा बैंकको औसत प्रतिफल ५.७४ प्रतिशत रहेको छ । चालु आव ०७७/०७८मा बैंककाे प्रतिसेयर आम्दानी ५.५८ रूपैयाँ हुने छ । जुन दुई वर्षमा बढेर ८.८२ रूपैयाँ पुग्ने कम्पनीकाे प्रक्षेपण रहेकाे छ ।


त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि तीन वर्षमा बढेर ११२.८० रूपैयाँ पुग्ने छ । बैंकले चालु आवमा ७२ कराेड ५२ लाख रूपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेकाे छ ।

प्रमुख बजार र ओगटेको बजार क्षेत्र
देशकै पहिलो तथा एक मात्र पूर्वाधार विकास बैंक भएकोले यस बैंकको प्रमुख बजार नेपाल राज्यभर रहेको छ । जसले पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा प्राविधिक तथा वित्तीय सेवा प्रदान गर्ने छ । अन्य जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्दै जाने योजना यस बैंकको रहेको छ । साथै, समय सापेक्ष अनुसार नयाँ पूर्वाधारका परियोजनाहरुको सम्भाब्यता अध्ययन गरी ग्राहकहरुको पहिचान गरेर आफ्नो व्यापार विस्तार गर्ने योजना यस बैंकको रहेको छ ।

साथै, बैंकले राष्ट्र बैंकले तोकेको अवस्थाअनुसार प्रत्येक प्रदेशमा एक एक शाखा र केन्द्रीय कार्यालयमा एक शाखा गरी जम्मा ८ वटासम्म शाखा कार्यालय खोली कारोबार तथा व्यवसाय गर्नेछ ।

बैंककाे भावी याेजना र रणनीति
कम्पनीले पूर्वाधार विकास मार्फत विश्वमै आर्थिक रुपमा फड्को मार्न सफल विकसित मुलुकहरु तथा नेपालकै पृष्ठभूमि जस्तैबाट उठेका विकासउन्मुख राष्ट्रहरुको अभ्यास(मोडल) लाई अध्ययन र अंगिकार गर्दै बैंकले भियाबिलिटी ग्याप फण्डिङ्ग मोडल, हाइब्रिड एन्युटी मोडल(एचएएम), जस्ता मोडलहरुलाई कार्यान्वयनमा ल्याउने गरी आफ्ना रणनीतिहरु तय गरिरहेको छ ।  जसको लागि बैंकले पूर्वाधार विकाससँग सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु, बीमा, भेन्चर क्यापिटल, विभिन्न प्रकारका लगानीकर्ताहरु, मल्टिल्याटरल तथा बाइल्याटरल डेभलपमेन्ट एजेन्सी तथा सरकार र निजि क्षेत्रहरुबीच समन्वय गरी आफ्नो कार्य सम्पादन गर्ने गराउने कार्यनीति समेत लिएको छ ।

साथै बैंकहरुसँग सेक्टर फण्डहरु स्थापना गर्ने, अन शोर तथा अफ शोर बोण्ड तथा डिबेन्चरहरू जारी गर्ने, दिर्घकालिन निक्षेपहरु संकलन गर्ने एवं विदेशी साझेदारहरुसँग सहकार्य गरी न्यून लागतका रकम प्राप्त गरी उक्त रकम पूर्वाधार विकासका परियोजनाहरुमा परिचालन गर्नु पर्ने आवश्यकतालाई आत्मसाथ गर्दै अघि बढ्ने छ । तत्कालका लागि बैंकले विदेशी वित्त बजारबाट अफ शोर बोण्ड जारी गरी ५ अर्ब रकम भित्र्याउने र नेपाल वित्त बजारबाट समेत इन्फ्रास्ट्रक्चर डेब्ट फण्डको संरचना मार्फत स्रोत संकलन गर्ने कार्य अगाडी बढाई सकेको छ ।

त्यस्तै, मध्य आय भएको राष्ट्रको रुपमा परिणत हुन पूर्वाधारमा मात्र वार्षिक करिब १३ खर्बको लगानी आवश्यक देखिन्छ । हालै मात्रै सार्वजनिक भएको नेपाल इकोनोमिक भिजन २०३०ः लिभेरेजिङ्ग प्राइभेट सेक्टर ग्रोथ एण्ड इन्भेष्टमेन्ट लगायतका कार्यपत्र तथा अध्ययनहरुले साे मात्राकाे रकम लगानी गर्न आवश्यक रहेकाे देखाएकाे हाे ।

संचालक समितिमा काे काे छन् ?

हाल कम्पनीको सञ्चालक समितिमा ४ जना रहेका छन् । अध्यक्षमा अनुज अग्रवाल रहेका छन् भने सञ्चालकमा श्रीकृष्ण नेपाल, चन्द्रप्रसाद ढकाल र लालमणि जाेशी रहेका छन् ।

हालको व्यवस्था अनुसार कम्पनीको सञ्चालक समितिमा ७ जना सञ्चालकहरू हुनुपर्ने छ । साे अनुसार हाल बैंककाे स्वतन्त्र संचालक पद रित्त हुन गएको र सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने संचालक २ (दुई) जना संचालकहरु नियुक्त हुन बाँकी रहेको छ ।

बैंकको संचालकको पदमा नियुक्त हुनका लागि कुनै पनि सेयरधनीले आफ्नो नाममा १०० (एक सय) कित्ता सेयर लिएको हुनुपर्नेछ । तर स्वतन्त्र व्यावसायिक बिशेषज्ञ संचालक तथा संगठित संस्थाको प्रतिनिधित्व गर्ने संचालकको हकमा भने यो व्यवस्था लागु हुने छैन । साथै, संचालकको कार्यकाल ४ (चार) वर्षको हुनेछ ।

उच्च व्यवस्थापकीय तहमा काे काे छन् ?

कम्पनीको उच्च व्यवस्थापकीय तहमा ६ जना अधिकृतहरु रहेका छन् । जसमध्ये प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा रहेका छन् । जाे हालै उक्त पदमा नियुक्त भएका हुन् । त्यस्तै, निमित्त प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे, नायव महाप्रबन्धकमा सुर्य बहादुर तामाङ्ग र बिनयनाथ न्यौपाने रहेका छन् । त्यसैगरी जोखिम व्यवस्थापनको प्रमुखमा सुवर्ण कुमार सिंह र पूर्वाधार लगानीको प्रमुखमा रबिन श्रेष्ठ रहेका छन् । यी सबै अधिकृतहरु अन्य कुनै संगठित संस्थाको आधारभुत सेयरधनी होइनन् ।

कम्पनीमा हाल २९ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये २८ जना स्थायी र १ जना प्रशिक्षार्थी छन् ।

के के छन् जाेखिमहरू ?
हाल संचालनमा रहेका वाणिज्य बैंकहरुको आकार ठुलो हुँदै गइरहेको परिपेक्ष तथा नयाँ पूर्वाधार विकास बैंकहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट हुन सक्ने जोखिमहरु, बैंकहरुले प्रदान गरेको तथा भविष्यमा प्रदान गरिने बैंकिङ्ग/वित्तीय सेवाबाट हुन सक्ने जोखिम, देशको राजनैतिक परिस्थितिबाट आउन सक्ने जोखिमहरु, देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट हुन सक्ने जोखिमहरु, नेपाल सरकारको आर्थिक नीति तथा नेपाल राष्ट्र बैंकको नीतिमा हुने परिवर्तनबाट श्रृजना हुन सक्ने जोखिमहरु, पुँजी तथा मुद्रा बजारको अवस्थामा आउने उतार चढावबाट पर्न सक्ने जोखिमहरु, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपालको बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरु, देशको मौद्रिक नीति लगायत नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति, नियम र निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरु, देशको बैदेशिक नीतिमा हुन सक्ने परिवर्तन तथा विदेशी मुद्राको विनिमय दरमा घट्बढ भई उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरु, कर प्रणालीमा हुने फेरबदल, छुट तथा सहुलियतमा हुने फेरबदल लगायतका जोखिमहरु रहेका छन् ।

सम्भावित जोखिमलाई व्यवस्थापनले कसरी न्यूनीकरण गर्छ ?
बैंकले आफ्नो वित्तिय कारोबार संचालन गर्ने दौरानमा उल्पन्न हुन सक्ने जाखिमलाई व्यवस्थापन गर्न जोखिम व्यवस्थापन नीति तय गरी लागू गरेको छ । उक्त नितिले निर्देशित गरेबमोजिम बैंकले उचित सगंठन संरचना एवं कार्यविधिहरु तय गर्दै अगाडी बढेको छ ।

बैंकसित संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवंम अनुपालन सम्बन्धी विषयहरुमा सूक्ष्म अध्ययन अवलोकन गर्ने, सो उपर काम कारवाही अगाडी बढाउने गरीएको संचालक स्तरीय, व्यवस्थापन स्तरीय एवं विभागीय समिति तथा संरचनाहरु रहेको छ ।

कम्पनीले पूर्वाधार बैंकको विशिष्टिकृत प्रकृति अनुरुप यस बैंकमा पूर्वाधार सम्बन्धि प्रारम्भिक संम्भाव्यता अध्ययन गर्न, विस्तृत परियाजना प्रतिवेदन तयार तथा अध्ययन गर्न इन्फ्रास्ट्रक्चर फिजिबिलिटी डिपार्टमेन्ट खडा भई इन्जिनियरहरुको व्यवस्था गरेको छ ।

जोखिम न्युनिकरणको लागि ३ कम्पनीमा बीमा
कम्पनीले आफ्नो सम्पत्ति वा व्यवसाय सम्बन्धमा जोखिम न्यूनिकरणका लागि बीमा गराएको छ । बैंकले प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्ससँग बीमा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.