रामशाह मावि आँबुखैरेनीका डेढ दर्जन शिक्षक निष्काशित, दाेष काेराेना महामारीलाई

  २०७७ पुष १ गते ९:०९     विकासन्युज

तनहुँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको छनोटमा नमूना विद्यालयका रूपमा घोषित तनहुँ आँबुखैरेनीमा रहेको रामशाह माविका दुई दर्जन शिक्षक शिक्षिका पीडित भएका छन् । कोभिड–१९ को महामारीले विश्व प्रभावित भएका बेला प्रधान अध्यापक र व्यवस्थापन समितिका अध्यक्ष मिलेर निजी स्रोतका शिक्षकलाई आकस्मिक रूपमा अवकाशको पत्र थमाएका छन् ।

विद्यालयले गत जेठ महिनामा आर्थिक कारण देखाउँदै ‘पछि आवश्यक परेमा पुनर्नियुक्ति दिन सक्ने’ भन्दै दुई दर्जनभन्दा बढी शिक्षक शिक्षिकाको जागिर खोसेको थियो ।
२५ वर्षदेखि निरन्तर विद्यालयमा सेवारत शिक्षकलाई समेत जागिरबाट हटाएपछि शिक्षकहरु रुष्ट भएका छन् । विद्यालयको शैक्षिक उन्नयनमा लामो समयदेखि खटेका लगनशील शिक्षकहरूलाई नियतपूर्वक हटाइएको यस घटनाप्रति स्थानीय बुद्धिजीवी एवम् अभिभावकले आक्रोश व्यक्त गरेका छन् ।

हटाइएका शिक्षकको पुनर्वहालीको माग गर्दै अभिभावक, भूतपूर्व विद्यार्थी मञ्च एवम् स्थानीय बुद्धिजीवी मंसिर ३० विद्यालय पुगेका थिए । साथै उनीहरूले निष्काशित शिक्षकलाई विना कुनै सर्त पुनर्वहाली गर्नुपर्ने अडानसमेत राखेका छन् ।

जुन जुन शिक्षकले राम्रो अध्यापन गराउँछन्, तिनै शिक्षकलाई विद्यालयबाट निष्काशन गरिएको भन्दै अभिभावकहरू बढी नै आक्रोशित हुँदै विद्यालयमा पुगेका थिए । विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीले आफूलाई पढाउने पुरानो शिक्षकलाई नदेखेपछि जिज्ञासा राख्दा मात्र ती शिक्षकलाई विद्यालयले निष्काशन गरेको थाहा भएको सहभागी एक अभिभावकले बताए ।

कोभिडका कारण बन्दा विद्यालय पुनः सञ्चालनमा आइसकेको छ । तर प्रअ र विद्यायल व्यवस्थापन समिति अध्यक्षका निकटका शिक्षकहरूलाई मात्र पुनः अध्यापनका लागि बोलाइएको एक स्थानीयबासीले जानकारी दिए । पुनर्नियुक्ति पाउन निजी स्रोतका शिक्षकहरू माग गर्दै दिइएको निवेदनप्रति विद्यालयले असमति जनाएको छ ।

डेढ दर्जन शिक्षकहरूले आफूमाथि अन्याय भएको भन्दै न्यायको याचना राखी संयुक्त हस्ताक्षर गरी आँबुखैरेनी गाउँपालिकासमक्ष गत असार १४ गते निवेदनसमेत दिएका थिए । उनीहरूले गाउँपालिका, शिक्षा समिति, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय, दमौली समेतलाई बोधार्थसमेत पठाएका थिए । आफूहरूमाथि आर्थिक शोषणसमेत भएको भन्दै न्यायको याचना गर्दै उनीहरूले निवेदन दिएका थिए । निवेदनउपर विद्यालय प्रशासन, गाउँपालिका र शिक्षा समन्वय इकाई कतैबाट पनि कुनै सुनुवाई नभएकोमा पीडित शिक्षकहरू निराश भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.