यो वर्ष लाभांश किन दिएन युनाइटेड फाइनान्सले ?

  २०७७ मंसिर २६ गते १७:३०     विकासन्युज

काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीले चालु आर्थिक वर्ष सेयरधनीलाई लाभांश नदिने घोषणा गर्यो । तुलनात्मक रुपमा वित्तीय विवरण राम्रा देखाएको कम्पनीले सेयरधनीलाई लाभांश किन दिएन भनेर चासो बढेको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राम्रै उपलब्धी हासिल भएको पनि देखाउँछ । आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीले ६ अर्ब ५५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत आर्थिक वर्षसम्ममा कम्पनीले ७ अर्ब १४ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीले ६ अर्ब ८ करोड ९४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । गत वर्षसम्ममा कम्पनीले प्रवाह गरेको कर्जा तथा लगानी ५ अर्ब ९० करोड ५१ लाख रुपैयाँ छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप बृद्धि गरेको देखिए पनि कर्जा तथा लगानी भने घटेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १७ करोड ५ लाख रुपैयाँ संचालन नाफा गरेको थियो । गत आर्थिक वर्षमा १३ करोड ५१ लाख रुपैयाँ संचालन नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको संचालन नाफा भने कम भएको वित्तीय विवरणले देखाउँछ ।

संचालन नाफा कम भएकैले कम्पनीले यो वर्ष बोनस दिन नसकेको हो त ? यो निष्कर्षमा पुग्नुअघि अझै तीनवटा सुचक हेरौं ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा १० करोड १४ लाख रुपैयाँ छ । एक वर्षको अवधिमा कम्पनीको नाफा भने घटेको तथ्यांकले देखाउँदैन ।

आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ८६ लाख रुपैयाँ विस्तृत आय (कम्प्रिहेन्सिभ इन्कम) गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीको कम्प्रिहेन्सिभ आय ११ करोड २० लाख रुपैयाँ छ । यो सुचकका आधारमा पनि कम्पनी अघिल्लो आर्थिक वर्षभन्दा कमजोर देखिदैन ।

आर्थिक वर्ष २०७५/७६ मा ८ करोड १९ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा वितरणयोग्य नाफा ८ करोड ५२ लाख रुपैयाँ गरेको छ । वितरणयोग्य नाफा बढेको र सो नाफाबाट ८ प्रतिशत जति बोनस वितरण गर्न सक्ने अवस्था छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ भएकोले सो परिमाणको लाभांश दिन सक्ने अवस्था देखिएको हो ।

कम्पनीले लाभांश दिन सक्ने अवस्था भएपनि अहिलेको परिस्थितिसँग जुध्न र कम्पनीलाई अझ बलियो रुपमा अघि बढाउन लाभांश वितरण नगरिएको प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बताए ।

‘कम्पनीको कुनै पनि परिसुचक विग्रिएका छैनन्, हाम्रो नाफा तथा व्यवसाय घटेको होइन, गत वर्षको नाफाबाट हामीले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ, तर कोभिड महामारीको बेलामा कम्पनीलाई बलियो बनाएर राख्नुपर्छ र महामारी अन्त्य हुने वित्तिकै व्यवसायिक यात्रामा आक्रामक रुपमा प्रस्तुत हुनुपर्छ भनेर यसवर्ष लाभांश वितरण नगर्ने निर्णय भएको हो, यो निर्णयले कम्पनीलाई अझ बलियो बनाउन सहयोग पुगेको छ,’ प्रमुख कार्यकारी अधिकृत मिश्रले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.