चन्द्रागिरीमा रिट्रिट पार्टी गरेपछि शेखर गाेल्छाले भने-महासंघमा नयाँ सूर्योदय भयो

  २०७७ मंसिर २० गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघका नवनिर्वाचित पदाधिकारीहरुले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमा उनले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेको जनाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा दुई प्यानल अगाडि देखिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए । चन्द्र ढकाल र किशोर प्रधानले आ-आफ्नो टीम बनाएर अगाडि बढेका थिए ।

जसमा किशाेर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएका थिए भने जिल्ला नगरमा प्रधान पक्षका दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा ढकाल पक्षका रामचन्द्र संघाई र वस्तुगतर्फ प्रधान पक्षका अञ्जन श्रेष्ठ विजयी भएका थिए ।

यस्तै, निर्वाचनको पछिल्लो दिन कोषाध्यक्ष पदको लागि दुबै पक्षले आ-आफ्नो उम्मेदवार उठाएका थिए । जसमा गोल्छाको साथ रहेको प्रधान पक्षका सकुन्तलाल हिराचन विजयी भएका थिए भने उनका प्रतिस्पर्धी अर्थात ढकाल पक्षका डीबी बस्नेत पराजित भएका थिए ।

निर्वाचनपछि धेरैले महासंघमा एक पक्षले अर्काे पक्षलाई साथ दिन नसक्ने भन्ने प्रक्ष्येपण गर्दै आएका थिए । तर, महासंघ अब एक ढिक्का भएर अगाडि बढ्ने अनुमान गोल्छाको ट्वीटबाट थाहा पाउन सकिन्छ । अध्यक्ष गोल्छाले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेकाे जनाएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ सुर्योदय भएको छ, नवनिर्वाचित पदाधिकारीहरुको सहकार्यको प्रतिवद्धता छ ।’

अध्यक्ष गोल्छाले चन्द्रागिरी हिल्सबाट खिचिएकाे सूर्य उदाउँदै गरेकाे फाेटाे र  आफूसहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाइ र काेषाध्यक्ष सकुन्तलाल हिराचनकाे सामूहिक तस्वीर पोष्ट गरेका छन् ।

उनले चन्द्रागिरी हिल्समा नवनिर्वाचित पदाधिकारीहरुलाई रिट्रिट पार्टी पनि दिएका छन् । महासंघका नवनिर्वाचित कार्यसमिति हिजोदेखि चन्द्रागिरीमा छ ।

उनीहरुले हिजो चन्द्रगिरीमा गुड फ्राइडे मनाएर आज अध्यक्ष गोल्छाले आफ्नो भिजन पनि प्रस्तुत गरेका छन् । सो भिजन पेपरमाथि सबैको समर्थन रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.