पद वहाली गर्दै अध्यक्ष गोल्छाले भने- निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने छु

  २०७७ मंसिर १५ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै उनले राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य रहेकाे बताएका हुन् ।

गाेल्छाले आज(मंसिर १५ गते) एक विशेष समारोहका बीच महासंघको अध्यक्षको पदबहाली गरेका हुन् । महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका हुन् ।

पद वहाली पश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई संवोधन सहित निर्देशन दिए । महासंघ सचिवालय र महासंघ अन्तर्गत रहेका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोही अनुसारको अपेक्षा आफुले गरेको बताए ।

पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउँछन् तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनलरूपमा संचालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उनले बताए ।

निर्देशनको क्रममा अध्यक्ष गोल्छाले भने- तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु । महासंघमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमुल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडी बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न आग्रह गर्दछु ।’

‘उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति म पूर्ण विश्वस्त छु । सचिवालयलाई पूर्णरुपमा सुदृढिकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोही अनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशनका रूपमा संचालन गर्ने छु ।’, उनले भने ।

कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला/नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.