अब कति सम्भव छ एफएनसीसीआईमा चण्डीराज ढकालको ‘रि-इन्ट्री’ ?

  २०७७ मंसिर १४ गते १३:२२     विकासन्युज

काठमाडौं । पूर्व अध्यक्ष चण्डीराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान हुन लागेकी अध्यक्ष भवानी राणा र अध्यक्षको जिम्मेवारी लिदै गरेका शेखर गोल्छालाई मैले नै महासंघको नेतृत्वमा पुर्याएको हो भन्ने दाबी गरिरहेका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएपछि पूर्वअध्यक्ष चण्डीराज ढकालको दाबी–दराजमा अर्काे दाबी पनि थपियो । अहिले थपिएको उनको दाबी हो– महासंको नेतृत्वमा चन्द्र ढकाललाई पनि मेरै बल बुतामा पुर्याएको हूँ भन्ने ।

पूर्वअध्यक्ष ढकालले गर्ने दाबी कति सत्य हो, कति हल्ला हो वा कति मात्रामा सही हो भन्ने कुरा भुक्तभोगीले नै अनुभूत गरेका होलान् । महासंघको यो निर्वाचनमा चण्डीराज ढकालले समर्थन गरेका उम्मेदवार चन्द्र ढकालले निर्वाचन जितेका छन् । आफ्नो मार्केटिङ गर्न खप्पिस र राम्रो वाकपटुता भएका चण्डीराज ढकालले चन्द्र ढकाललाई मैले नै जिताएको हूँ भन्दै हिड्नेछन् भन्नेमा भने दुविधा छैन ।

यो निर्वाचनमा बनेको समीकरणको कारक चण्डीराज ढकाल नै हुन् भनेर मान्नेहरु धेरै छन् । पूर्व अध्यक्ष ढकालले निवर्तमान अध्यक्ष भवानी राणा र नेतृत्व लिदै गरेका अध्यक्ष शेखर गोल्छाप्रति गरेको व्यवहारकै कारण अहिलेको अवस्था आएको भन्ने विश्लेषण व्यवसायीहरुले गरिरहेका छन् ।

पूर्व अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्नुको कारण उनमा लुकेको स्वार्थ थियो । महासंघको विशिष्ट सदस्यमा फेरि पनि आफू मनोनित हुन पाउँछु भन्ने आशामा पूर्व अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा ढकाललाई समर्थन गरेका थिए ।

पूर्व अध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पछि नलागेका भए यसपालीको निर्वाचन सर्वसम्मत रुपमा हुने थियो भन्ने विश्लेषण गर्नेहरु पनि भेटिएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुन पाउने व्यवस्था संशोधन गरेर गोल्छालाई रोक्न खोजेको, त्यसो गर्न नसकेपछि अध्यक्षको जिम्मेवारी संहालेको ६ महिनाभित्र गोल्छालाई अविश्वासको प्रस्ताव राखेर हटाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएको आरोप पूर्व अध्यक्ष ढकालमाथि लाग्ने गरेको छ । पूर्व अध्यक्ष ढकालको यही गतिविधिको कारण गोल्छा र उनका शुभेच्छुकहरु पूर्व अध्यक्ष ढकालप्रति चिढिएका थिए ।

गोल्छा र उनको टीमले वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानलाई खुलेरै समर्थन र सहयोग गरेको थियो । रमाईलाे के छ भने यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा गोल्छा र प्रधान नै भिडेका थिए । तर, यसपाली भने गोल्छाले प्रधानलाई सकेसम्म सहयोग गरे । यदि पूर्व अध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पछि नलागेका भए गोल्छा, अध्यक्ष राणा, पूर्व अध्यक्ष पशुपति मुरारका लगायतको टीम चन्द्र ढकालकै पक्षमा लाग्ने थियो भन्नेहरु पनि छन् । त्यस्तो अवस्थामा चन्द्र ढकाल सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना रहन्थ्यो । यद्यपि, यो विषयको अब कुनै औचित्य छैन ।

पूर्व अध्यक्ष ढकालको समर्थन पाएका कारण वरिष्ठ उपाध्यक्षको निर्वाचनमा चन्द्र ढकाललाई केही नोक्सानी भएको विश्लेषण पनि हुन थालेको छ । वस्तुगत र एसोसिएटबाट चन्द्र ढकालले राम्रै मत पाएका थिए । जिल्ला/नगरतर्फ भने उनको भन्दा प्रधानको एक मत बढी आएको छ । पूर्व अध्यक्ष ढकालबाट आफूलाई जिल्ला/नगरमा बढी सहयोग हुने अपेक्षा राखेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सोही समूहमा मात्रै पछि पर्नु परेको छ । यो नतिजाले पनि पूर्व अध्यक्ष ढकालसँगको उनको सामिप्यता त्यति फलदायी नभएको विश्लेषण गरिएको छ ।

चण्डी ढकाल विशिष्ट सदस्य बन्ने सम्भावना छ ?

पूर्व अध्यक्ष ढकालको अहिलेको जोडबल भनेको महासंघमा फेरि पनि विशिष्ट सदस्य बनेर महासंघ राजनीतिको केन्द्रमै रहने भन्ने हो । तर, यो सम्भावना करिब समाप्त भएको महासंघको राजनीति बुझ्नेहरु बताउँछन् । कार्यकारिणी सदस्यमा अध्यक्ष गोल्छाको पक्षमा बहुमत जुटेको तथा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि चण्डीराजको लागि अनावश्यक सम्झौता नगर्ने अवस्थामा रहेकोले पूर्व अध्यक्ष ढकालको महासंघको विशिष्ट सदस्य बन्ने सम्भावना करिब समाप्त भएको एक व्यवसायीले बताए ।

‘शेखरजीको पक्षमा बहुमत पुग्यो, महासंघमा अध्यक्ष सहमत नभएसम्म कुनै पनि प्रस्ताव पारित हुन निकै गाह्रो हुन्छ, चन्द्रजी आफै अब चण्डीजीलाई बोकेर हिड्नु हुन्न होला, त्यसमा पनि शेखरजीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने भन्ने चण्डीजीको योजनामा चन्द्रजीको कुनै पनि हालतमा समर्थन र सहयोग हुदैन होला, त्यसैले फेरि विशिष्ट सदस्य बन्ने चण्डीजीको सपना अधुरै रहने सम्भावना अधिक देख्छु,’ महासंघका एक पूर्व पदाधिकारीले भने ।

महासंघको विशिष्ट सदस्य पदमा महासंघ कार्यसमितिले मनोनित गर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.