महासंघका मतदातालाई बधाई, जसले सहि व्यक्ति छाने

  २०७७ मंसिर १४ गते ७:५४     रामकृष्ण पाैडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा निर्वाचित सबैलाई बधाई । मतदान प्रक्रियाबाट सहि व्यक्तिहरुको छनौट गरेकोमा सबै सदस्य मतदातालाई पनि बधाई ।

सहि व्यक्ति छनौट भन्नुमा अर्थ छ । व्यवसायीको आवरणमा महासंघ भित्र राजनीति गर्नेहरु, स्वच्छ व्यवसायी भन्दा गुण्डागर्दी गर्ने, सँधै कार्यसमिति सदस्यमा उम्मेदवारी दिने धेरै व्यक्तिहरू महासंघबाट बढारिएका छन् ।

पूर्व अध्यक्षको छोरा हुँदैमा आफूलाई उँचो ठान्ने र अरुबाट पुस्तान्तरणको अंश खोज्ने उदीप श्रेष्ठ प्रवृतिका मानिसहरुले हार खानु परेको छ । अम्बिका पौडेल जस्ता नवप्रवेशीहरुले सर्वाधिक लोकप्रिय मत पाएका छन् ।

एउटै पदमा दोहोरिदा बस्तुगत समूहबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठले ठूलो मत अन्तरमा हार खानुपरेको छ । यसअघि वरिष्ठ उपाध्यक्षमा हार खाएका किशोर कुमार प्रधानले सोही पदमा पुनः लालायित हुँदा दोस्रो पटक एउटै पदमा पराजय भोग्नु परेको छ ।

व्यवसायिक भन्दा राजनीतिक पृष्ठभूमि बनाएका गुणनीधि तिवारीले जिल्ला नगर समूहको उपाध्यक्षमा हार खाएका छन् । उनी यसअघि नेपाली कांग्रेसबाट ५ नम्बर प्रदेश सांसदमा पराजित भएका थिए ।

भविष्यमा महासंघको अध्यक्षको रुपमा हेरिएका र निर्णय क्षमताको आधारमा योग्य सौरभ ज्योति यो पटक पराजित भए । महासंघमा कहिले चम्कने, कहिले हराउने उनको कार्यशैली यो निर्वाचनमा पराजयको एउटा कारण हुनसक्छ । तीन वर्ष पुरानो सहमति अनुसार चन्द्रप्रसाद ढकालको टिममा रहन नसक्नु पनि उनको हारको एउटा कारण हुन सक्छ ।

सबै मतदातालाई बधाई दिनुमा अर्को गम्भिर अर्थ छ । यस निर्वाचनमा योग्यता र क्षमताको कदर मतदाताले गरेका छन् । चन्द्रप्रसाद ढकाल, अञ्जन श्रेष्ठ जस्ता आफ्नै बलबुद्धिले सफलता चुम्दै गरेका र महासंघमा केही गर्छु भन्ने दृढ संकल्प भएका व्यक्तिहरुलाई विजयी गराए ।

आजीवन निजी व्यवसायमा भन्दा महासंघमा बढी समय दिएका, महासंघमा लागेर व्यक्तिगत स्वार्थको कुनै आशा नगरेका, व्यवसायिक समस्या बुझेर सरकारसँग राम्रो लविङ गर्न सक्ने क्षमता भएका दिनेश श्रेष्ठलाई फेरी एक पटक जिल्ला नगरको उपाध्यक्ष चुनेका छन् ।

मतदातालाई बधाई दिनुमा अर्को अर्थ छ । पूर्वअध्यक्षहरुको नाममा गीत गाएर भोट माग्नेहरुलाई मतदाताहरुले लञ्जित तुलाएका छन् । यो निर्वाचनमा किशोर प्रधानले हारेका मात्र छैनन्, अध्यक्ष भवानी राणा समेत लञ्जित हुनु परेकाे छ । महासंघकाे यात्राकाे अन्तिम क्षणमा उनले शिर झुकाउनु परेकाे छ ।

मतदाताले नयाँ अध्यक्ष शेखर गोल्छालाई आफ्ना गतिविधिको गम्भीर समीक्षा गर्न सन्देशसहित सचेत गराएको छ । महासंघको अध्यक्षमा वहाल रहेका, निर्वाचनपछि कन्फर्म अध्यक्ष भएका व्यक्तिले गरेको नसुहाउने गतिविधि माथि मतदाताले चोटिलो प्रहार गरेका छन् ।

शेखर गोल्छा अध्यक्ष, चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षको साथमा उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई महासंघको एकदमै क्षमतावान नेतृत्व हो । यस नेतृत्वले महासंघलाई अब धेरै प्रभावकारी बनाउन सक्छ ।

बैधाननिक रुपमा गलत अभ्यास गर्दै अध्यक्ष बनेकी भवानी राणा (उनी निर्वाचित व्यक्ति पनि होइन, सर्वसहमतिमा चुनिएकी पनि होइनन्)को कार्यकालमा महासंघमा जुन किसिमका गतिविधि भए त्यो लज्जाको विषय भए । भावी अध्यक्ष भनेर निर्वाचित बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई कार्यकालभर जिम्मेवारी नदिनेदेखि विधान संशोधन गरेर पदच्यूतको प्रयास राणाको कार्यकाल भरी भयो । (गत चैतमा निर्वाचन नभएपछि मात्र हो राणा र गोल्छा एउटै मञ्चमा देखिन थालेका हुन) यस्तो बल्न्डर अबको कार्यसमितिले नगरोस् ।

किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा विराटनगरमा शेखर गोल्छाले भनेका थिए- ‘राणाको कार्याकालमा महासंघमा आर्थिक अनियमितता, अपारदर्शिता र भद्दा राजनीति भयो । अनियमिताकै उपज कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कार्यकालकाे बीचमा राजीनामा गर्नु पर्यो भने कोषाध्यक्ष निरक केसीले अध्यक्ष राणाकाे हातबाट चेकबुक खाेसेर नियन्त्रणमा लिने अवस्था आयो ।’

राणाको कार्यकालभर सरकारसँगको लविङमा महासंघ जहिले पनि ढुलमुले भयो । व्यवसायिक अनुभव नभएका व्यक्तिले महासंघको सफल नेतृत्व गर्नै सक्दैन थियो । र, सकेन पनि । महासंघका सदस्यहरूले भविष्यमा पनि मतदान गर्दा हेक्का राख्नु पर्ने विषय हाे ।

साथै, महासंघकाे निर्वाचनमा व्यापार र नाफा खाेज्नेहरूकाे पनि अन्त्य गरिनुपर्छ । कार्यसमितिमा प्रधान समूहका सदस्यहरूकाे बहुमत उपस्थितिले यहि सन्देश दिएकाे छ ।

अब महासंघको ओराली यात्रा अन्त्य हुनुपर्छ । शेखर गोल्छा र चन्द्र ढकालले नेतृत्व गरेको महासंघले प्रभावकारी सेवा दिन सकाेस् ।  निजी क्षेत्रका मुद्दाहरु प्रभावकारी ढंगले सरकारसमक्ष पेस गर्ने, सरकारी नीति निर्णय सहि बनाउने काममा नयाँ नेतृत्व सफल होस्, शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.