एफएनसीसीआई निर्वाचन अपडेटः मतगणना सुरु, कसले मार्ला बाजी ?

  २०७७ मंसिर १३ गते १८:२९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को निर्वाचन सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको छ । अहिले काठमाडौंका कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइहरेको छ ।

महासंघको एसोसियट, वस्तुगत र जिल्ला नगरको मतदान भएको तीन केन्द्रहरुबाट मतपेटिकाहरु संकलन गरेर प्रतिष्ठानमा ल्याएसँगै अहिले मतदान सुरु भएको हो ।

महासंघको निर्वाचन बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि सवा ९ बजे मतदान सुरु भएको थियो भने साँझ ४ बजे सबै केन्द्रहरुको मतदान सम्पन्न भएको थियो ।

महासंघको निर्वाचनमा एसोसियटतर्फ ९ सय ३ जना मतदाताले मतदान गरेका छन् भने वस्तुगततर्फ कूल १ सय १ र जिल्ला तथा नगरतर्फ १ सय ५ जना मतदाताले मतदान गरेका छन् । महासंघको निर्वाचनमा शतप्रतिशत मत खसेको हो ।

कोरोना महामारीलाई ध्यानमा राख्दै मतदान तीन ठाउँबाट गरिएको थियो । एसोसिएट सदस्यहरूका लागि मतदान स्थल कार्की ब्याङ्क्वेट र वस्तुगत समूहका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था गरिएको थियो । जिल्ला नगर समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको थियो ।

यो निर्वाचनले महासंघको आगामी कार्यकालको लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्लारनगर, वस्तुगत र एसोसिएटतर्फबाट एक एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ । यस्तै, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित हुनेछन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष पदमा भने चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् ।

ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्लारनगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्षमा कसले बाजी मार्ला भन्ने प्रतिक्षाको विषय बनेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेपनि त्यसको नतिजा भने आजै आउने लगभग निश्चित नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.