व्यवसायीलाई कोरोनाको छैन वास्ता, ज्यानभन्दा भोट प्यारो लाग्दा संक्रमण फैलने खतरा

  २०७७ मंसिर १३ गते १०:४१     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको महामारीले सात महिनासम्म रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज सुरु भएको छ । गत वर्ष चैत २७/२८ गते हुने भनिएको निर्वाचन कोरोनाको कारण भन्दै रोकिएको थियो ।

कोरोना महामारीको समयमा भन्दै नेपाल सरकारले पनि साधारणसभा तथा निर्वाचन गर्न महासंघलाई अनुमति दिएको थिएन । तर, अहिले सात महिनापछि सरकारले महासंघलाई निर्वाचन गर्न अनुमति दिएसँगै आज मतदान भइरहेको छ ।

कोरोना भाइरसको महामारी भइरहेको बेला कुनै विकल्प नभएपछि सरकारले पनि उचित स्वास्थ्य सुरक्षा अपनाएर निर्वाचन गर्न अनुमति दिएको थियो ।
सोही निर्देशन अनुसार महासंघले पनि साधारणसभा तथा निर्वाचनको मिति तय गरे अनुसार आज निर्वाचन भइरहेको छ । कोरोनाको महामारी अझै पनि कायम रहेको कारणले महासंघले सरकारले भने जस्तै स्वास्थ्य मापदण्ड अपनाउनको लागि राजधानीका तीन ठाउँमा मतदान केन्द्र तोकिएका छन् ।

अघिल्ला वर्षहरुमा एकै ठाउँमा हुने मतदान यो वर्ष धेरै व्यवसायीको भिड हुने र कोरोनाको जोखिम झन बढ्ने भन्दै तीन ठाउँ मतदान केन्द्र तोकिएका छन् । तीन ठाउँ मतदान केन्द्र तोकिए पनि उद्योगी व्यवसायीहरु भने कुनै पनि स्वास्थ्य मापण्ड पालना नगरी मतदान स्थलमा सहभागी भएका छन् ।

जिल्ला नगरहरुका लागि तोकिएको प्रज्ञा प्रतिष्ठान भवनमा सबैभन्दा बढी उद्योगी व्यवसमायीहरुको भिड छ । १ हजारभन्दा बढी उद्योगी व्यवसायीको उपस्थितीहरुको सो मतदान केन्द्रमा न कुनै स्वास्थ्य मापदण्ड पालना गरिएको छ । नत कुनै भौतिक दूरी पालना नै ।

सरकारले स्वास्थ्य मापदण्डको पालना गरी निर्वाचन गर्न स्वीृकती दिएपनि व्यवसायीहरुले भने त्यसको वेवास्ता गरेका छन् । कोरोनाको महामारीमा पनि व्यवसायीहरुलाई स्वास्थ्यभन्दा पनि भोटको चिन्ता बढी देखिएको सो भिडबाट प्रष्ट हुन्छ । हालसम्म कुनै औषधि पत्ता नलागिसकेको कोरोना भाइरसकै कारण विश्वमा दैनिक हजारां मानिसहरुले ज्यान गुमाइरहेका छन् भने लाखौं मानिस कोरोना संक्रमित भइरहेका छन् ।

उद्योगी व्यवसायीहरु आफैमा एक सचेत वर्ग हुन् । तर उनीहरुबाट सरकारले गरेको नियम अवज्ञा हुनु चिन्ताको विषय हो । सरकारले कुनै पनि सभासमारोह गर्दा २५ जनाभन्दा बढीको सहभागी नगराउनु भनेको छ । तर, व्यवसायीहरुले भने ती सबै निर्णयको वेवास्ता गरेका छन् ।

अहिले राजधानीका तीन ठाउँमा निर्वाचन भइरहेको छ । वस्तुगत तर्फको मतदान महासंघको सचिवालय टेकु, जिल्ला नगरतर्फको प्रज्ञा भवन कमलादी र एसोसियटतर्फको कार्की ब्याङ्क्वेट बानेश्वरमा भइहरेको छ । आज साँझ ६ बजेदेखिनै मतगणना सुरु हुने बताइएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान आफ्नो पयानलसहित चुनावी मैदानमा छन् । ढकालतफबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फ रामचन्द्र संघाईँले उम्मेदवारी दिएका छन् भने प्रधान पक्षबाट जिल्लानगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ अञ्जन श्रेष्ठ र एसोसियटतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.