मतदान सुरु, ढकाल र प्रधान प्यानलसहित मैदानमा, रातभर यस्तो भयो चलखेल

  २०७७ मंसिर १३ गते ९:२४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा मतदान सुरु भएको छ ।

यो साधारणसभाले महासंघको आगामी नेतृत्व पनि चयन गर्दैछ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकोले शेखर गोल्छा स्वतः अध्यक्ष बनिसकेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा भने किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकाललाई पूर्व अध्यक्ष चण्डीराज ढकालको समर्थन छ । ढकालको प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई छन् ।

प्रधानलाई आगामी कार्यकालको लागि अध्यक्ष बनिसकेका शेखर गोल्छाले पनि समर्थन गरेका छन् । प्रधानको प्यानलबाट बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला÷नगर उपाध्यमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति छन् ।

यो निर्वाचनले एक बरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष र ६० कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । निर्वाचनमा १ सय २७ जना उद्योगी व्यवसायी प्रतिस्पर्धा गरिहेका छन् । कार्यकारिणी सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निविरोध निर्वाचित भइसकेका छन् ।

रातभरको चलखेल

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दुबै पक्षले रातभर प्रयास र मेहेनत गरेका छन् । व्यवसायीका अनुसार शुक्रबार दिउसोदेखि नै यो जिल्लाले यसलाई सहयोग गर्ने भयो, यो पक्ष यता लाग्यो भन्ने जस्ता हल्ला फैलिएका थिए ।

शुक्रबार रातभर यस्तो हल्ला अझ व्यापक बनेको व्यवसायीहरु बताउँछन् ।

‘फलानो उम्मेदवारले यति पैसामा यतिवटा भोट किन्यो रे भन्नेसम्मका हल्ला फैलिएका छन्, चुनावका बेलामा यस्ता हल्ला फैलनु सामान्य नै हो,’ एक व्यवसायीले भने ।

यससँगै मतगणना साँझ  साढे ६ बजेदेखि शुरू हुने निर्वाचन अधिकृत लिलामणी पाैडेलले बताएका छन् । उनका अनुसार मतगणना कमलादीकाे प्रज्ञा प्रतिष्ठान भवनमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.