अमुक व्यक्तिले रिमोट चलाएर चुनावमा विजयी हुने परम्परा विरुद्द मेरो उम्मेदवारी हो: अरुणराज सुमार्गी

  २०७७ मंसिर १० गते १४:०२     विकासन्युज

व्यवसायी अरुणराज सुमार्गीले मकवानपुर उद्योग वाणिज्य संघका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका छन् । मकवानपुर जिल्ला उद्योग वाणिज्य संघ, र प्रदेश ३ काे समेत अध्यक्ष भइसकेका सुमार्गी हाल महासंघको कार्यकारिणी सदस्यमा समेत रहेर काम गरिहरेका छन् । सुमार्गीसँग हामीले उनकाे चुनावी एजेण्डा र महासंघको निर्वाचनको बारेमा कुराकानी गरेका छौं ।

महासंघमा जिल्ला/नगरतर्फबाट सदस्यमा उम्मेदवारी दिनुभएको छ । तपाईका चुनावी एजेण्डाहरु के–के हुन् ?

अब मेरो लागि नेपाल उद्योग वाणिज्य महासंघमा ३ वर्षको कार्यकाल हुँदैछ । अहिलेसम्म जिल्ला नगरका समस्याहरु र जिल्ला नगरबाट आएका साथीहरुको आवाजलाई सरकारसम्म पुर्याउन सकिएको छैन । हाम्रा आवाजहरु सरकारसम्म पुर्याउन नसकिएको कारणले नै हाम्रो प्रोटोकल अहिलेसम्म तयार भएन । जुन बेलासम्म स्थानीय सरकार बनेकाे थिएनऽ त्यतिखेर सम्पूर्ण बजेटका कुराहरु विकास निर्माणका आयोजनाहरु लगायतमा उद्योग वाणिज्य संघका साथीहरुको पनि प्रतिनिधित्व हुन्थ्यो । काम पनि त्यही अनुरुप गर्थ्र्यौं । तर, अहिले स्थानीय सरकार बन्यो । हाम्रो प्रोटोकल भने लेख्न बिर्स्र्यो । हाम्रो हैसियत केहो ? हामी वडाअध्यक्षभन्दा तल हो कि माथि ? अध्यक्षभन्दा तल हो कि माथि ? कोही साथीहरु सासंद जतिकै हैसियतको पनि हुनुहुन्छ । त्यसैले जिल्ला नगरको लडाइँ प्रोटोकलकको विषयमा हो । हामी अब मिलेर सरकारसँग प्रोटोकल निर्माण गर्छौं । एउटा एजेण्डा यो हो ।

अर्को, महासंघलाई सुदृढिकरण र शुद्धीकरण गर्न जरुरी छ । अमुक व्यक्तिले रिमोट चलाएर चुनाव जिताइदिने परम्परा विरुद्द मेरो उम्मेदवारी हो । महासंघमा जिल्ला नगर ५० प्रतिशतको मालिक हो । जिल्ला नगरबाट आएको व्यक्ति चेयरमा हुनु पर्ने अवस्थामा त्यस्तो छैन । ५० प्रतिशत लगानी गरेपछि त्यो चेयरम्यान हुन्छ । अहिलेसम्म त्यो अवस्था छैन । तर, यो पटकदेखि जिल्ला नगरदेखि उठेर आएको मान्छेलाई साथ दिने र उहाँलाई नै वरिष्ठ उपाध्यक्षमा निर्वाचित गर्ने हाम्रो योजना छ । २८ वर्षदेखि सक्रिय भएर लाग्नु भएका किशोर प्रधानलाई बोकेको छु । उहाँको समूहलाई साथ दिएको छु ।

जिल्ला नगरको उपाध्यक्ष हुनको लागि जिल्ला नगरका समस्या बुझेको व्यक्ति हुनु पर्यो । राजनीतिक दलबाट प्रदेशमा चुनाव लडेको व्यक्ति हामीलाई चाहिँदैन । यसले गर्दा बागमती प्रदेशको अध्यक्ष र काठमाडौंको अध्यक्ष रहेका दिनेश श्रेष्ठलाई साथ दिएको छु ।

तपाइँले किशोर प्रधान पक्षबाट जिल्ला नगरतर्फको सदस्यमा उम्मेदवारी दिनु भएको छ । प्रधानमा के सवल पक्ष छ, जसले तपाइँलाई उहाँकै प्यानलबाट उम्मेदवारी दिनुभयो र चन्द्र ढकालमा के कमजोरी छ र उहाँलाई रोज्नु भएन ?

किशोर प्रधान यसभन्दा अगाडि शेखर गोल्छासँग पनि लड्नु भएको हो । साथीहरुले अहिले बेला पुगेन भनेर नपत्याएर कम मत दिएको हो । फेरि उहाँले अहिले पनि उही शेखर गोल्छाको मुनि रहेरै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिनुभएको छ । शेखर गोल्छाले नै उहाँलाई फेरि वरिष्ठ उपाध्यक्षमा ल्याउनु भनेको उहाँ महासंघका लागि चाहिने व्यक्ति हो भन्ने कुरा पुष्टि हुन्छ ।

उहाँ २८ वर्षदेखि कसैले औंला नउठाएको व्यक्ति हो । उहाँ बगेको खोला जस्तै हो । त्यसैले उहाँको कमजोरी होइन । उहाँको बलियो पक्ष मात्र छन् । मैले उहाँलाई समर्थन गर्नुको कारण उहाँ जिल्ला नगरबाट आएको हुनाले पनि हो ।

तपाइँहरुले चुनावी प्रचारप्रसार बढाइरहनु भएको छ । समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको अवस्थामा तपाईहरु भोट माग्न गइरहनु भएको छ । उहाँहरु के कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

यो त्यस्तो कुरा होइन । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर चुनाव गर्नुस् भनेको छ । महासंघले पनि सोही अनुसार जिल्ला नगरका साथीहरुका लागि भनेर होटलका कोठा रिजर्भ गर्यो । त्यसको विरुद्दमा अर्को टीमका साथीहरुले गुण्डाको शैलीमा महासंघमा गएर अध्यक्ष नभएको समयमा रअरु साथीहरु भएको अवस्थामा होटल दिनु हुँदैन, किन दिएको भन्ने लगायतका कुरा राख्नु भएछ । जिल्ला नगरले पाएको सेवा सुुविधाको विरुद्दमा बोल्ने साथीहरुलाई कसले मतदान गर्छ ? हामीले स्वास्थ्य मापदण्ड अपनाएर काम गरिहरेका छौं । हामी सजग छौं । हामीले कोरोना भाइरसबाट बँच्नको लागि आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाएर काम पनि सँगसँगै गर्नुपर्ने अवस्था छ । यो समय भनेको डराएर बस्ने होइन ।

जिल्ला नगरको तपाईँका मतदाताले तपाईँलाई मतदान गर्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । मैले मध्यमाञ्चलको अध्यक्ष भएर पनि काम गरेको छु । त्यसपछि प्रदेशको संयोजक भएर पनि मैले काम गरेको हो । म महासंघमा आएदेखि जिल्लाका साथीहरुको समस्याहरु समाधान गर्नको लागि निरन्तर लागिरहेको हुन्छु । पूर्वको पहाडदेखि तराईका सम्पूर्ण ठाउँमा पुगेको छु । साथीहरुसँग सहकार्य गरेर काम गरेको छु । मलाई पूर्ण विश्वास छ कि साथीहरुले मलाई निर्वाचित गर्नुहुन्छ ।

तपाईसँगै जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा ३७ जना प्रतिष्पर्धी हुनुहुन्छ । त्यसबाट १८ जना मात्र निर्वाचित हुने हुन् । तपाईँ अन्यभन्दा के फरक ? तपाईँलाई मतदाताले किन मतदान गर्ने ?

मतदाताले व्यक्तिको व्यक्तित्व देखेर मतदान गर्ने हो । उसको काम गर्ने शैली र उसले यो क्षेत्रमा गएर न्याय गर्न सक्छ वा सक्दैन भन्ने सोचेर मतदान गर्ने हो । सबैले सबै कुरा थाहा पाएका छन् । चिप्लो कुरा गरेर, पोष्टर टाँसेर र फसबुकमा फोटो राखेर जित्ने साथीहरुलाई पनि हामीले देखेकै छौं ।

म जिल्लानगरको साथीहरुको मनमा बसेको छु । उहाँहसँग मेरो दोहोरो संवाद भएको छ । उहाँहरु पनि सक्षम हुनुहुन्छ । दुई समूह भएपछि ३८ जना हुनु स्वभाविक हो । जिल्लालाई बोल्न सक्ने साथीहरुलाई छान्नुहोस्, तपाइँले छानेकाहरुले नै भोलिको महासंघ चलाउने हुन् । राम्रो व्यक्ति चयन गरे मात्र महासंघ भोलि दरिलो बन्छ । त्यसकारण आजै नै राम्रो व्यक्तिलाई चयन गर्यो भने भोलि पनि राम्रो हुन्छ भनेर मैले भनिरहेकाे छु । उहाँहरुले पनि याे कुरा बुझ्नु भएको छ ।

जिल्ला नगरमा मतदाताले तपाइँलाई कस्तो रुपमा देख्छन् ?

मेरो कन्फिडेन्ड लेवल हाई छ । मलाई साथीहरुले पूर्ण बहुमत दिनुहुन्छ । म चुनाव जित्छु । पहिले नै जितिसको भन्ने गलत ब्याख्या भने नहोस् । मेरो मात्र होइन, हाम्रो टिमको नै जित सुनिश्चित छ । जिल्ला नगरबाट आउनु भएको दिनेश दाइ हुनुहुन्छ ।  उहाँको प्रतिस्पर्धी जिल्लाबाट आएको होइन । त्यसकारण उहाँले पनि चुनाव जित्नु हुन्छ ।

तपाइँसँग जिल्ला नगरको कति मत छ, भन्न मिल्छ ?

जिल्ला नगरका शतप्रतिशत साथीहरुले मलाई मत दिनुहुन्छ । किनभने म सबै साथीहरुको बीचमा छु । अबको शतप्रतिशतको भागमा अनुकुलता मिलेन भने मात्र हो । नभए यो पटकको जिल्ला नगरको उम्मेदवारहरु मध्ये मलाई सबैभन्दा बढी चाहेको र मन पराएको उम्मेदवारका रुपमा हेर्नुभएको छ । कसैको अरुण दाइ, कसैको अरुण भाइ हो भने कसैको अरुणजी त, कसैको अरुण हो । म सबैको बीचमा निकट सम्बन्धमा रहेकाले म र मेरो टीमको जित सुनिश्चि देखेको छु ।

त्यसो भए तपाईँ चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

एकदमै । मेरो जित निश्चित छ । आत्मबल भएन भने चुनावमा लड्ने कसरी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.