स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न महासंघमा आवाज बुलन्द पार्छुः बाबुकाजी कार्की

  २०७७ मंसिर ८ गते १७:०४     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनमा बाबुकाजी कार्कीले स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व गर्दैहुनुहुन्छ । उहाँले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिबाट महासंघको  कार्यकारिणी सदस्यमा एशोसिएटतर्फबाट उम्मेदवारी दिनु भएको छ । अहिले उम्मेदवारहरु महासंघमा आफ्नो पकड बलियो बनाउन अर्थात चुनावमा निर्वाचित हुनका लागि चुनावी प्रचार प्रसारमा व्यस्त छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिका प्रबन्ध सञ्चालक उनै कार्कीसँग हामीले उहाँका चुनावी एजेण्डा र चुनावी माहोलको बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

महासंघमा एसोसिएटतर्फबाट तपाईले सदस्यमा उम्मेदवारी दिनु भएको छ । तपाईका चुनावी एजेण्डाहरु के–के हुन् ?

मेरो मुख्य एजेण्डा भनेको आर्थिक सम्वृद्धी नै हो । आर्थिक सम्वृृद्धिमा पनि कोरोना भाइरसले जुन धरायसी बनाएको छ यसलाई राज्यसँत समन्वयकारी भूमिका खेलेर अगाडि बढ्ने नै हो । राज्य र व्यवसायीबिचको सम्बन्ध समधुर बनाउने हो । मैले नै सबै कुरा गर्ने भन्ने हुन्न । तर मेरा सिनियरहरुसँग सहकार्य गरेर जाने र नेपाली उद्योगी व्यवसायीहरुका समस्या समाधानमा बलियो कदम चाल्ने हो । अध्यष उपाध्यक्षहरुको नेतृत्वमा मैले काम गर्ने हो । एफएनसीसीआर्इ देशको सबैभन्दा ठूलो छाता संस्था हो । यसलाई मजबुत र बहुआयामिक बनाउने हो । देशमा व्यवसायिक सम्भावना खोजी र कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकताको विषय रहने छ । राज्यसलाई कसरी सम्वृद्धितर्फ लैजाने भन्ने हाम्रो ध्यान जानेछ ।

महासंघमा तपाई स्वास्थ्य क्षेत्रबाट पनि प्रतिनिधित्व गर्दैहुनुहुन्छ । तपाई महासंघको सदस्यमा निर्वाचित भइसकेपछि नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि तपाईको पहल के हुन्छ ?

तपाइले सहि पश्न गर्नु भयो । वास्तवमा मैले स्वास्थ्य क्षेत्रलाई नै प्रतिनिधित्व गर्दै जान लागेको हो । अग्रज दाईहरुले नै मलाई स्वास्थ्य क्षेत्रबाट आफ्नो टीममा पार्नु भएको हो । स्वास्थ्य क्षेत्रको दायरा ठूलो छ । यसबाट महासंघमा प्रतिनिधित्व कम छ भनेर नै म टीममा परेको हुँ । स्वास्थ्यमा हामीले देशभरको स्वास्थ्य पहुँचको हिसावले निजी क्षेत्रले ७० प्रतिशत ओगेटेको छ । अर्थात ७० प्रतिशत सेवा निजी क्षेत्रले दिइरहेका छौं । यो ७० प्रतिशत सेवा दिादा दिँदै पनि हामीलाई आरोप प्रत्यारोप पनि छन् । हामीमा पनि कमि कमजोरी होलान् । त्यस्तै कमि कमजोरीको कसरी सुधार गर्ने भन्ने मेरो भूमिका रहनेछ । नागरिकमा कसरी स्वास्थ्य सेवाको पहँच पुर्याउन सकिन्छ भन्ने तर्फ पनि मेरो ध्यान जानेछ । त्यही अनुरुप म महासंघमा प्रस्तुत हुनेछु । जहाँ राज्यको पहुँच छैन र त्यहाँ हामीले कसरी सेवा बढाउन सकिन्छ र नागरिकलाई स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान जानेछ । गुणस्तरीय सेवालाई कसरी पुर्याउन सकिन्छ भन्ने मेरो ध्यान केन्द्रित हुन्छ ।

हुन त निर्वाचनमा सबैले म यस्तो गर्छु उस्तो गर्छु भनेर आकर्षक ऐजेण्डाहरु तय त गर्छन् नै । तर तपाईले नेपालको स्वास्थ्य क्षेत्रमा देखेको समस्या र त्यो समस्याको समाधानको लागि तपाइले बनाउनु भएको केही त्यस्तो एजेण्डा छ ?

म महासंघमा कार्यसमिति सदस्यको रुपमा हुन्छु । मैले यो क्षेत्रमा ठ्याक्कै यो परिवर्तन गर्छु भन्दा खासै प्रभावकारी पनि नहोला । म फाइनल डिसिजन मेकर पनि होइन । यो टीमवर्कबाट सम्भव हुने विष्य हो । उद्योग वाणिज्य महासंघ सबै व्यवसायीको हक हितका लागि टिमवर्कमार्फत काम गर्ने संस्था हो । त्यसैले यो नै परिवर्तन गर्छु भन्ने हुँदैन तर स्वास्थ्य क्षेत्रमा भएका अहिलेका समस्याहरुको समाधानका लागि महासंघमा मेरो पहल सतप्रतिशत हुन्छ । अहिलेसम्म महासंघमा मेडिकल क्षेत्रको भ्वाइस छैन । मैले विजयी भएको खण्डमा मेडिकल क्षेत्रका समस्याहरुको पहिचान र त्यसको समाधान गर्नका लागि मेरो आवाज बुलन्द पार्नेछु । यसलाई सरकार समक्ष राख्ने काम गर्नेछु ।

तपाई त स्वास्थ्य क्षेत्रको व्यक्ति । अहिले विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको असर तपाईँले नजिकबाट नियाल्नु भएको छ । तर, यो प्रतिकुल अवस्थामा पनि उद्योगी व्यवसायीहरुलाई चुनाव निकै लाग्यो है ?

पक्कै पनि हामी अहिले ठूलो संकटमा छौं । हामीले यो अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै अगाडि बढ्नु बाहेकको विकल्प हामीसँग छैन । महासंघको निर्वाच गर्नुै पर्ने अवस्था पनि छ । यो विधान अनुरुप नै छ । वर्तमान कार्यसमितिको समयावधि सकिसकेकोले पनि नयाँ कार्यसमिति चयन गर्नै पर्ने अवस्था छ । यतिखेर पूरानो कार्यसमिति पनि जाने मुडमा छ । त्यसकारण नयाँ नेतृत्व आएर समन्वय गरेर व्यवसायी समस्याहरु बुझेर काम गर्दै जाने हो ।

तपाइँहरुले चुनावी प्रचारप्रसार बढाइरहनु भएको छ । समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको समयमा तपाईहरु भोट माग्न गइरहनु भएको छ । उहाँहरु के कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

हामी राहत दिन्छौं तपाईँहरु भोट दिनुहोस् भनेर हामी भन्दैनौं । तर हामीले यहाँहरुको हक अधिकार कसरी स्थापना गर्ने हो भनेर भन्छौं र रनज्य सरकारसँग समन्वयकारी भूमिका खेल्छौं । आगामी दिनमा कसरी सुरक्षित बना्उर जाने भन्ने एजेण्डा बनाएर उहाँहरु समक्ष जान्छौं । व्यवसायिक हक हितका लागि हाम्रा एजेण्डाहरु हुन्छन् ।

तपाइँले चन्द्र ढकाल पक्षबाट एसोसिएट सदस्यका रुपमा उम्मेदवारी दिनु भएको छ । ढकालमा के सवल पक्ष छ जसले तपाइँलाई उहाँकै प्यानलबाट उम्मेदवारी दिने उर्जा मिल्यो र किशोर प्रधानमा के कमजोरी छ र उहाँलाई रोज्नु भएन ?

मैले उहाँहरु एक पक्षको सवल र अर्को पक्षको कमजोरी केलाउन चाहन्नँ । अरुको कमजोरी देखाउन अवश्य नै सकिन्छ तर अरुको कमजोरी पट्टी म जान चाहन्नँ । म हाम्रो टीम अर्थात चन्द्र ढकालको सवल पक्ष के हो भन्ने तर्फ जान्छु । चन्द्र प्रसाद ढकाल आफैमा सक्षम नेतृत्व हुनुहुन्छ । उहाँले देशका साना व्यवसायीदेखि ठूला व्यवसायीहरुलाई सँगै लिएर नेतृत्व गर्न सक्ने क्षमता उहाँमा छ । देशको लिडिङ संस्थाका रुपमा उहाँले काम गर्दै आउनु भएको छ । उहाँ एकदमै फेलिक्जिवल मान्छे हुनुहुन्छ । उहाँ टिमलाई साथमा लिएर काम गर्न सक्ने र एकदमै सरल तरिकाले टिम हाँक्न सक्ने क्षमता उहाँमा छ ।

अर्को हाम्रो एसोसिएटको उपाध्यक्षका उम्मेदार रामचन्द्र संघाई हुनुहुन्छ । उहाँ पनि त्यतिकै सफल व्यवसायी हुन् । उहाँले पनि १५÷१६ हजार रोजगारी दिनु भएको छ । उहाँसँग पनि धेरै क्षमता छ । सक्षम व्यवसायीका रुपमा उहाँ हुनुहुन्छ । राज्यसँग पनि यो टिमले गएर व्यवसायीहरुका समस्या समाधानका लागि दह्रो किसिमले जान सक्ने क्षमता उहाँहरुमा छ । त्यसैले उहाँहरुलाई रोजेको हुँ ।

तपाईका अन्य ३२ जना प्रतिष्पर्धी हुनुहुन्छ । तपाईँ अन्यभन्दा के फरक ? तपाईँलाई मतदाताले मतदान किन गर्ने ?

म महासंघमा अहिलेसम्म सदस्यको रुपमा त बसेको छैन । तर, रोजगारदाता परिषदमा मैले चन्द्र सरकै नेतृत्वमा २ वर्ष काम गर्ने अवसर पाएको छु । पछिल्लो समय मैले धेरै भूमिका निर्वाह गरेको छु । त्यसले गर्दा व्यवसायीका समस्या र ट्रेड युनियनका माग कस्ता हुने रहेछन् भन्ने अनुभव पनि मैले नजिकबाट बुझ्ने अवसर पाएको छु । मेरो व्यक्तिगत रुपमा १८/१९ वर्ष अन्तर्राष्ट्रिय सुंस्थामा काम गरेको अनुभव छ । व्यवस्थापन रुपमा बसेर मसँग काम गरेको लामो अनुभव छ । मैले ओम हस्पिटलमा म्यानेजिङ डाइरेक्टरको रुपमा पनि काम गरेको छु ।

त्यस कारण व्यवसायिक क्षमता ममा छ । त्यससँगै महासंघलाई प्रशासनिक हिसावले रिफर्म गरेर मोर्डन हिसावमा लग्ने भन्ने पनि हुन्छ । यसमा मेरो राम्रो अनुभव छ । मेरो सवल पक्षका कारण नै व्यवसायीमित्रहरुले मलाई भोट गर्नु हुन्छ भन्नेमा म आशावादी छु ।

अन्त्यमा, आफु विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म पक्कै पनि विश्वस्त छु । सबै साथीहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्दाखेरि तपाईँ आउनु पर्छ भन्ने धेरैको हौसला छ । तपाईँ जस्तो युवा मान्छेले नेतृत्व लिनु पर्छ भन्ने आवाज धेरैको छ । सबै साथीहरुको मायाले म विश्वस्त नै छु । तर, सतप्रतिशत ग्यारेन्टी दिन त सकिँदैन । तर, सबै माहोल हेर्दा खेरि म विश्वस्त नै छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.