अध्यक्षले अनियमितता गरेको भन्दै कोषाध्यक्षले खोसे चेकबुक, निर्वाचन प्रभावित पार्न २१ लाख बाँडेको आरोप

  २०७७ मंसिर ७ गते १५:३८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा नजिकिँदै गर्दा एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाउने विषय निकै उत्कर्षमा पुगेको छ । एक पक्षका कमजोरी देखाएर अर्को पक्ष अगाडि बढ्ने प्रवृति महासंघको पूरानै भएपनि यो पटक फ्रण्टमा महासंघकी अध्यक्ष भवानी राणा देखिएकी छन् ।

पछिल्लो समय महासंघकै कार्यसमितिका पदाधिकारीहरुले राणाको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि व्यक्त मात्र गरेका छैनन, उनी माथि विभिन्न आरोप पनि लगाएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका दुई मध्ये एक जनाको पक्षमा प्रत्यक्ष रुपमा संलग्न भएर विवादमा तानिएकी र आलोचना खेप्दै आएकी अध्यक्ष राणामाथि यस पटक अर्को आरोप लागेको छ ।

अध्यक्ष राणाले आफू निकट जिल्ला नगर अध्यक्षहरुलाई रकम वितरण गरेको आरोप लागेको हो । त्यो आरोप महासंघका कोषाध्यक्ष निरक केसीले लगाएका छन् ।

राणामाथि आफू निकट जिल्ला नगर उद्याेग वाणिज्य संघलाई पैसा पठाएको मात्र होइन, आफू निकट अर्थात उनले समर्थन जनाएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको पक्षमा मतदान गर्ने मतदाताहरुको लागि मात्रै महासंघको खर्चमा होटल बुक गर्न खोजेको आरोप पनि लागेको छ ।

कोषाध्यक्ष केसीले कार्य समितिलाई जानकारी नै नगरी होटल बुक गर्न खोजिएको जानकारी आफूलाई आएकोले बताए । यसले महासंघलाई ठूलो आर्थिक भार पर्ने भएकोले आफूले चेक बुक नै लगेर हिँडेको समेत जानकारी दिए । उनले महासंघको आर्थिक नियमावली विपरित होटल बुक गरेर महासंघलाई ठूलो आर्थिक भारमा पार्न खोजिएको बताउँदै त्यसको विरोधमा अर्थात आर्थिक अनियमितता नहोस् भनेर आफूले चेक लगेर हिँडेको बताए ।

‘पहिलेका वार्षिक साधारणसभामा मतदाताहरुलाई एकदिन खाजा तथा खाना खुवाइँदै आएको थियो तर अहिले दुई तीन दिन होटलमा राख्ने र त्यसकाे आर्थिक भार महासंघले लिने काम हुन लागेकाे छ । आर्थिक अनियमितता हुने डरले मैले त्यसैले चेक लिएर हिँडेको हुँ, तर अहिले तोकका आधारमा काम चलाउँदै आएको सुनेको छु’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार महासंघको नियमावली अनुसार चेकमा कोषाध्यक्ष र प्रशासन प्रमुखको मात्र हस्ताक्षर चल्छ । पहिलेका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएपछि अध्यक्ष राणाको हस्ताक्षर चल्ने बनाइएको थियो । पछि केसी काेषाध्यक्षमा निर्वाचित भएर आएपछि पनि राणाकै हस्ताक्षरबाट काम हुँदै आइरहेको उनले जानकारी दिए ।

‘६/७ महिना मात्र बाँकी छ भनेर मैले त्यसको बारेमा केही कुरा गरिन, त्यसको अधिकार पाएपछि भावनी म्याडमले पछिल्लो समय ठूल्ठूला रकमको निकासा गर्दै आउनु भएको थियो, निर्वाचन घोषणा भइसकेपछि त्यस्तो गर्नु नियम विपरित हो,’ उनले भने ।

उनका अनुसार चुनावको घोषणा भएपछि जिल्ला वा अन्य ठाउँमा रकम पठाउन मिल्दैन । तर, राणाले चुनावको मुखैमा मतदातालाई प्रभावमा पार्ने गरी रकम बाँडेकी छिन् । मंसिर ११ देखि १३ गतेसम्म निर्वाचन हुने निश्चित भएपछि कात्तिक महिनामा मात्रा आफू निकटका २२ वटा जिल्ला नगरहरुलाई २१ लाख रुपैयाँ वितरण गरेकाे उनले बताए ।

महासंघको कार्यसमितिको निर्णय बिनै राणाले सो रकम जिल्लाहरुलाई पठाएकोले त्यस विषयमा ठूलाे विवाद उत्पन्न भएकाे जानकारहरू बताउँछन् । अहिले केसीले चेक आफ्नो मातहतमा लिएपछि तोक आदेशकाे आधारमा राणाले काम चलाइरहेको सचिवालय सम्बद्ध स्राेतले बतायाे ।

अहिले जिल्ला मतदाताहरुलाई होटलमा राख्नको लागि ३ होटलको कोटेशन महासंघमा परेको छ । होटलमा राख्ने निर्णय पनि कार्यसमितिसँग नगरेर राणाले आफ्नो मनोमानी रुपमा गर्न खोजेको बुझिएको छ । यस विषयमा महासंघका कार्यवाहक महानिर्देशक मिना श्रेष्ठसँग बुझ्न खोज्दा यी विभिन्न विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिइन् ।

अध्यक्ष राणा भन्छिन्ः गलत आराेप

महासंघकी अध्यक्ष भवानी राणाले भने निर्वाचनको समयमा आफूविरुद्ध गतल हल्ला फैलाउने काम भइरहेको बताइन् । उनले आफूले नियम र नीति अनुसार काम गरेको भएपनि त्यसको गलत हल्ला उडाउने काम भइरहेको प्रतिक्रिया दिइन् ।

उनले कोरोना भाइरसको महामारीको समयमा स्वास्थ्यका मापदण्ड पालना गर्नको लागि गृहसँग नै समन्वय गरेर काम गर्न थालिएको भएपनि यसको बारे गलत हल्ला चलाएको उनले जानकारी दिइन् ।

‘पहिले एउटै ठाउँमा निर्वाचन हुन्थ्यो, अहिले तीन ठाउँमा तोकिएको छ, त्यसका लागि स्वास्थ्य सुरक्षा आवश्यक छ, मलाई साधारणसभाको सबै जिम्मेवारी भएकोले पनि आफैले निर्णय गरेकी हुँ’, उनले भनिन् ।

‘दुई दिनका लागि मात्र होटल बुकिङ गर्न खोजिएको हो, तीन वटा चार र पाँच तारे होटलको कोटेसन आएको छ, त्यसका लागि ८/१० लाख रुपैयाँ कष्ट आउने अनुमान छ, खाना एकदिन मात्र खुवाइन्छ, अर्को दिन बस्नको लागि मात्र हो, त्यसमा सबै मतदाताहरु बस्छन्, एक पक्षका मतदातालाई मात्र राख्ने भन्ने कुरा गलत हो’, उनले भनिन् ।

उनले कोटेसन परेको होटलको नाम भने भन्न चाहिनन् । यस्तै हरेक निर्णय कार्यसमितिले गर्नु पर्ने आवश्यक पनि नहुने उनको भनाई छ । ‘हरेक निर्णय कार्यसमितिले नै गर्नुपर्छ भन्ने हुन्न, धेरै कार्यक्रमहरु महासंघका नियमित नै हुन्छन्, त्यही अनुसार काम भइरहेको हुन्छ, कार्यक्रम रोक्न मिल्दैन, यो सबै हल्ला उडाउने काम भयो, नियम विपरित कुनै पनि काम हुँदैन । जुन काम भएको छ, ती सबै निरन्तर हुने काम हुन्, ती काम रोकिँदैनन्,’ उनले भनिन् ।

उनले जिल्लामा पठाएकाे रकम कार्यसमितिले निर्णय गरेर नपठाएकाे स्पष्ट पारिन् । उनले चुनाव घोषणा हुनुभन्दा पहिले नै यो रकम पठाएको दावी गरिन् । तर, महासंघका अन्य पदाधिकारीहरु भने कात्तिकमा रकम पठाएको बताउँछन् ।

आफू निकटका जिल्लाहरुलाई रकम पठाएको भन्ने जिज्ञासामा उनले चुनावको समयमा गलत प्रचार गर्न खोजिएको उल्टै आरोप लगाइन् । मेरो लागि सबै जिल्ला र सबै उम्मेदवार बराबर नै हुन्, अहिले पनि म सहमति गर्नु पर्छ भनेर प्रयास गरिरहेकी छु, भोलि पनि दुबै जनासँग बस्छु’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.