महासंघमा विधान विपरित उम्मेदवार र मताधिकार, निर्वाचन मण्डल र नेतृत्वमाथि आर्थिक चलखेलको आरोप

  २०७७ मंसिर ६ गते २०:१८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमका दौरान महासंघको विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहले विरोध जनाएको छ । प्रधान समूहले निर्वाचन मण्डल र त्यसकाे नेतृत्वमाथि आर्थिक चलखेलको आरोप समेत लगाएकाे छ ।

महासंघ निर्वाचन समितिले बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान अधिकार दिएको, मकवानपुरका पुर्व अध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई बागमति प्रदेशकातर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवार स्वीकृत गरेको र औषधी उत्पादक संघबाट २ जनाले दिएको उम्मेदवारी स्वीकृत गरेको प्रधान समूहको दावी रहेको छ ।
महासंघको साधारण सभामा बर्दिवास उद्योग वाणिज्य संघले पहिलो पटक सहभागिता जनाउँदैछ । महासंघको नियमावलीले नयाँ सदस्यलाई एक पटक महासंघको साधारण सभामा सहभागि भए पछि अर्को पटकदेखि मात्र निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । नियमावलीको दफा १० (७) मा ‘कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्न र उम्मेदवार खडा गर्न चाहने सदस्यले कमसेकम अगाडीको कुनै एउटा वार्षिक साधारण सभामा भाग लिइसकेको हुनु पर्दछ’ भन्ने व्यवस्था गरिएको छ ।


तर, बर्दिवासलाई महासंघका प्रमुख निर्वाचन आयुक्त एवं एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एकल निर्णयमा बर्दिवास उद्योग वाणिज्य संघलाई मतदान गर्ने अधिकार दिएको प्रधान समूहको दावी छ । उनले अरु पनि नयाँ संस्थालाई जसरी मतदान प्रकृयामा सहभागि हुन नदिनु पर्ने भए पनि आर्थिक चलखेलमा यस्तो गरेको प्रधान समूहको आरोप छ । बर्दिवाससँगै बिर्तामोड, कन्काई, पथरी, अत्तरिया लगायतका उद्योग वाणिज्य संघ पनि पहिलो पटक महासंघको साधारण सभामा सहभागि हुँदै छन् । तर बर्दिवासलाई अवैधानिक रुपमा न्यौपानेले मतदान अधिकार दिएका हुन् ।

त्यसै गरी महासंघ निर्वाचन समितिका प्रमुख न्यौपानेले विधान विपरित रामेछाप उद्योग वाणिज्य संघका तर्फबाट बागमती प्रदेशको केन्द्रिय सदस्यमा राजकुमार न्यौपानेको उम्मेदवारीलाई पनि स्वीकृत गरेको प्रधानको आरोप छ । यस सम्बन्धमा दाबी बिरोध पेश गर्दा समेत उक्त बिरोधलाई प्रमुख निर्वाचन आयुक्त न्यौपानेले सम्बोधन नगरी एकलौटी निर्णय गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको प्रधान समूहले सञ्चार माध्यमहरुलाई पठाएको इमेलमा उल्लेख गरिएको छ । उक्त नामावलीमा निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले फरक मत अर्थात ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

केही वर्षअघि जिल्ला नगर उपाध्यक्षका उम्मेदवार भवाणी राणा विरूद्ध पनि यस्तै उजुरी परेकाे थियाे । राणाले सुर्खेत उद्याेग वाणिज्य संघमा पनि पदाधिकारीमा रिक्त अवधि मात्र जिम्मेवारी पाएकाे र महासंघमा कार्यसमिति सदस्य पनि बाँकी कार्यकाल मात्र पूरा गरेकाेले उपाध्यक्ष पदमा अयाेग्य हुने भन्दै विपक्षी निरक केसीकाे समूहले उजुरी गरेकाे थियाे । उक्त उजुरी निर्वाचत समितिले खारेज गरेपछि राणाकाे उम्मेदवारी कायम भएकाे थियाे ।

‘मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका राजकुमार न्यौपानेलाई सम्बन्धित जिल्लाबाट पुरा गरेर आउनु पर्ने मापदण्ड विपरित कसरी रामेछाप उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गराइयो ?’ प्रधान समूहले निर्वाचन समितिलाई प्रश्न गरेको छ । महासंघको विधानको दफा ४६ को उपदफा ३ को (क) (ऊ) मा ‘कार्यकारिणी समितिमा सदस्य हुनका लागि सदस्य संघबाट आफूले प्रतिनिधित्व गर्ने संघको पदाधिकारी भई एक कार्यकाल पुरा गरेकाे हुनु पर्ने उल्लेख छ ।

‘मकवानपुरका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले रामेछापमा कहिले कुन कार्यकाल पुरा गरे र निर्वाचन समितिले विधानमा भएको व्यवस्था विपरित उनको उम्मेदवारीलाई स्वीकृत गर्यो ?’ प्रधान समूहको प्रश्न छ । उपेन्द्रजीको नातेदार भएका कारण राजकुमारलाई मनोनयन उपर कुनै कार्वाही नगरिएको प्रधान समूहको दावी छ । विधानमा भएको व्यवस्थालाई पाखा लगाउँदै निर्वाचन समितिले न्यौपानेको उम्मेदवारीलाई स्वीकृत गर्नुले आर्थिक चलखेल भएको आशंका भएको प्रधान समूहको चुनावी अभियान्तले बताएका छन् ।

महासंघ निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त उपेन्द्र केशरी न्यौपाने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका अध्यक्ष समेत हुन् । आफैं मतदाता रहेका न्यौपानेलाई प्रमुख निर्वाचन आयुक्त बनाइएकोमा पनि प्रधान समूहको बिरोध जनाएका छन् । तर निर्वाचन अधिकृतहरु नियुक्त गर्नेमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान, उनको अगुवा शेखर गोल्छा र भवानी राणा नै हुन् ।

‘कार्यतालिका अनुसार एउटा पक्षले राखेका बिचार र दाबी बिरोधलाई सुन्दै नसुन्ने अनि अर्को पक्षका अवैध उम्मेदवार र मतदाता स्वीकृत गर्ने काम उपेन्द्रकेशरी न्यौपानेबाट भईरहेको छ । यसमा आर्थिक चलखेल भएको छ,’ प्रधान समूहको भनाई छ, ‘यदि न्यौपानेले गरेको निर्णय सही हुन्थ्यो भने निर्वाचन समितिका सदस्य रकमण कुमार कर्णले किन फरक मत राख्नु भयो ?’

निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले उम्मेदवारको नामावलीको सूची सार्वजनिक गर्ने क्रममा नेपाल औषधी उत्पादक संघबाट २ जनाको उम्मेदवारी परेको भन्दै नोट अफ डिसेन्ट लेखेको खुलासा पनि प्रधान समूहले उल्लेख गरेको छ । प्रधान समूहले नोट अफ डिसेन्टको स्कानकपी मिडियाहरुलाई पनि उपलब्ध गराएको छ । वस्तुगत तर्फका उपाध्यक्षका प्रत्यासी उमेश लाल श्रेष्ठ र सदस्यका प्रत्यासी दिपकप्रसाद दाहाल औषधी उत्पादक संघबाट मनोनयन भएको भन्दै निर्वाचन समिति सदस्य कर्णले फरक मत राखेका हुन् ।

यसरी एउटा प्यानलको पक्षपोष र अर्को प्यानलको कुरालाई पाखा लगाएर महासंघका प्रमुख निर्वाचन अधिकृत न्यौपानेले महासंघको गरिमालाई कमजोर बनाउने काम गरेको प्रधान समूहको निष्कर्ष छ ।

प्रधान समूहले पठाएको इमेलमा भनिएको छ–‘यस सम्बन्धमा महासंघको वर्तमान नेतृत्वले चासो देखाउनु पर्ने अवस्था आएको छ ।’ महासंघको अध्यक्ष भवानी राणा, हुनेवाला अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका प्रधान समूहलाई चुनाव जिताउन गोलबद्ध भएर लागेको बेलामा सोही समूहले नेतृत्वमाथि आर्थिक चलखेलको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.