एफएनसीसीआईको निर्वाचन हुनहुन्न भनेर उजुरी गर्ने को हुन् ?

  २०७७ मंसिर ४ गते १८:००     विकासन्युज

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । महासंघको निर्वाचन कानुनविपरीत भएको भन्दै उजुरी आएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ ।

निर्वाचन रोक्ने मागसहित बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर शाहले उजुरी गरेका हुन् । उजुरीमा भनिएको छ, ‘उजुरीमा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको हुन्छ ।’

महासंघ पनि सोही ऐन अन्तर्गत दर्ता भएको र सो संस्थाको प्रतिनिधिहरुको समयावधि सकिएको र निर्वाचनका समयमा तदर्थ समिति गठन गरी निर्वाचनको काम अगाडि बढाउन सो उजुरीमा आग्रह गरिएको छ। दर्ता भएको निवेदनको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र गृह मन्त्रालयलाई समेत दिएका छन् ।
उनले निवेदनमा सदस्यहरुको सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायतका आरोप समेत लगाएका छन् ।

उनले आफुले उजुरी गरेको पनि स्वीकार गरिसकेका छन् । उनले महासंघको निर्वाचन कानुन विपरित हुन लागेकोले आफुले उजुरी गरेको विकासन्युजलाई बताए ।
मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान र चन्द्र ढकाल आफ्नोप्यानलसहित चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.