प्रतिस्पर्धी व्यक्तिसँग अनुभव छैन, अहिले चुप लागेर बस्नु भनेको छु-किशोर प्रधान

  २०७७ कार्तिक २३ गते २०:२०     शिव सत्याल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । महासंघले सरकारसँग उद्योग व्यवसायसँग सम्वन्धित विभिन्न विषय र समस्याका बारेमा छलफल गर्नुपर्ने र त्यसको लागि लामो अनुभव आवश्यक पर्ने भएकोले आफ्नो विकल्प नभएको उनको दाबी छ ।

प्रधानले महासंघको आगामी कार्यकालको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा महासंघको ५४औं वार्षिक साधारण हुदैछ । आगामी निर्वाचन जित्ने आधार, जितेपछि गर्ने कार्य तथा योजना बारे विकासन्युजसँगको विकास वहसमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी प्रधानले यस्तो बताएका हुन् ।

उनले व्यवसायिक साथीहरुलाई व्यवसायमा कोरोना महामारीले असर पारिरहेको बताउँदै कतिपय उद्योगी व्यवसायीलाई पनि कोभिड संक्रमण पनि भइरहेको बताए ।

उनले आफू चुनावी प्रचार प्रसारमा देशव्यापी रुपमा लागेको बताए । आफूले तीन चार पटक भोट माग्न हिडिसकेको भन्दै उनले सातै प्रदेशमा करिब ३ पटक भ्रमण गरिसकेको र व्यवसायीका घरघरमा पुगेर मत मागिरहेको बताए ।

महासंघको चुनाव महंगो भएको भन्ने गुनासो पनि आउने गरेको छ । प्रधानले चुनावी प्रचार प्रसारलाई बजार भाउ जसरी मूल्यांकन गर्न नसकिने बताए । साथीभाइसँग भेटघाट गर्दा, खाजा खादा खर्च हुन्छ नै भन्दै उनले व्यवसायी खरिद विक्री हुन्छन् भन्ने हल्ला चलेपनि त्यसमा सत्यता नभएको र त्यस्तो क्रियकलापमा व्यवसायी पनि लाग्नु नहुने बताए ।

चुनाव हुन्छ कि सर्वसम्मत हुन्छ भन्ने कुराको निर्क्याेल महासंघका अग्रजले गर्ने उनको भनाइ छ ।

‘निवर्तमान अध्यक्ष, अहिलेका अध्यक्ष तथा हुनेवाला अध्यक्ष र पूर्वअध्यक्षहरु पहल गरिरहनु भएको छ भन्ने कुरा मैले सुनेको छु । तर, मलाई त्यस्तो कुनै प्रस्ताव आएको छैन । महासंघका गार्जेनहरुले जे जस्तो निर्णय गर्नुहुन्छ, त्यसको लागि म तयार छु । सर्वसम्मत प्रयास हुन्छ भने त्यसका लागि म तयार छु । संस्थाको हितको लागि महासंघका अभिभावकहरुले गर्नुहुने निर्णय निशर्त रुपमा स्वीकार गर्न म तयार छु । महासंघका अभिभावक, सदस्यहरु भनेका मेरा भगवान हुन् । भगवानले गलत निर्णय गर्दैनन् । त्यसैले सर्वसम्मतका लागि अभिभावक वा मेरा भगवानले गरेका निर्णय मलाई स्वीकार्य छ,’ उनले भने ।

महासंंघमा आफ्ना धेरै काम बाँकी रहेकोले आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । ‘मैले २७/२८ वर्षमा जे जस्तो अनुभव हासिल गरेको छु, त्यसको लाभ महासंघले लिनुपर्छ । महासंघको सुदृढिकरण अभियानमा म सबैभन्दा उपयुक्त पात्र हुँ,’ उनले भने ।

‘यति लामो समयसम्म काम गरेको व्यक्तिले अब रिटायरमेन्ट लिनुपर्छ भन्ने तर्क पनि आएको छ । कसलाई कसले रिटायरमेन्ट दिने भन्ने कुरा प्रमुख हो । रिटायरमेन्ट दिने भनेको बुद्धि नभएको व्यक्तिलाई मात्रै हो । अहिले मसँग जो व्यक्ति प्रतिस्पर्धामा आउनु भएको छ, उहाँले चाहेको विषयमा म खुल्ला डिबेट गर्न तयार छु । कसैले मेरो नेटवर्क, मसँग भएको पैसा जस्ता कुरा देखाएर कसैलाई तर्साउनु हुदैन,’ करिब ३ दशकदेखि महासंघमा सक्रिय व्यक्ति अहिले किन उम्मेदवार बन्नुभएको भन्ने प्रश्नमा उनले भने ।

प्रधानलाई महासंघका केही पूर्वअध्यक्षहरुले उक्साएका कारण उम्मेदवार बनेका भन्ने चर्चा पनि छ । तर, उनी यो कुरा मान्न तयार छैनन् ।

‘म आफ्नै तयारीका कारण निर्वाचनमा उम्मेदवार बनेको हूँ । म कसैको उक्साहटमा उम्मेदवार बनेको होइन । वर्तमान अध्यक्ष, हुनेवाला अध्यक्ष, निवर्तमान अध्यक्ष तथा पूर्वअध्यक्षहरुले मैले गरेको काम, मेरो अनुभव जस्ता कारणले मलाई सहयोग गर्नुभएको हो । अरुले सहयोग गरेका कारण मेरा प्रतिस्पर्धीले विभिन्न आरोप लगाउनु भएको छ । तर, ६/८ वर्ष महासंघमा बसेको व्यक्तिले महासंघको नेतृत्व गर्न सक्दैन । जान्दैन । म आफै उम्मेदवार बनेको हूँ । म तपाईंलाई जितेर देखाउँछु । मैले मेरो प्रतिद्वन्दीलाई पनि कुनै आरोप लगाएको छैन । मैले उहाँलाई तपाईंसँग अनुभव कम छ, अहिले चुप लागेर बस्नुस् भनेको छु,’ उनले भने ।

आफूले समावेशीभन्दा पनि परिणमुखी काम गर्न सक्ने टीम बनाउको उनको दाबी छ । ‘हामीले समावेशी भन्दा पनि काम गर्ने क्षमताको आधारमा टिम बनाएका छौं । अहिलेको अवस्थामा प्रभावकारी परिणाम आउने गरी टिम बनाइएको हो । आरोप लगाउने व्यक्तिले जे जस्तो आरोप पनि लगाउन सक्छ । तर, बुझ्ने मान्छेले यो कस्तो टीम बन्यो भन्ने बुझ्छ । हाम्रो टिमको जिल्ला नगर उपाध्यक्ष, वस्तुगत तथा एसोसियट उपाध्यक्ष अनुभवी र राम्रा व्यक्तिहरु छन्,’ प्रधानले भने ।

उनले आफू व्यवसायिक रुपमा सफल रहेको र महासंघलाई नेतृत्वदायी भूमिक प्रदान गर्न सक्ने बताए ।

‘व्यवसायिक सफलताको मानक के हो ? कुनै बेला माल्या सफल व्यवसायी थिए । अहिले उनको अवस्था कस्तो छ ? अम्बानी दाजुभाइमा एक जनाको अवस्था कस्तो छ ? अर्काे भाइको अवस्था कस्तो छ ? म असफल भन्ने आधार के हो ? मैले आज पनि ५ वटा उद्योग संचालन गरिरहेको छु । मैले जुनबेला उद्योग सुरु गरेको थिए, त्यो बेला अहिले मेरो प्रतिस्पर्धी व्यक्तिलाई उद्योगको उ पनि थाहा थिएन,’ प्रधानले भने ।

सफलताको सिढी विस्तारै चढ्ने हो भन्दै उनले आफू मध्यमवर्गको व्यापारी हो भएको र मध्यम किसिमले व्यवसाय गरिरहेको बताए । छिटो हिड्ने व्यक्तिहरु दुर्घटनामा परेका उदाहरण धेरै छन् भन्दै उनले पैसा भएको व्यक्तिलाई मात्रै सफल भन्ने मानक नै ठीक होइन भने ।

आफूले गरेको व्यवसाय, अनुभव तथा आफ्नो पृष्ठभूमिका कारण महासंघको नेतृत्वका लागि आफू उपयुक्त पात्र भएको उनको दाबी छ ।

‘अहिले सरकारले साना तथा मध्यम व्यवसायलाई प्रबर्द्धन गर्ने भनिरहेको छ । ठूला उद्यमी व्यवसायीले आफ्नो व्यवसायिक लाभहानीको कारण सरकारसँग बसेर प्रभावकारी छलफल गर्न सक्दैन । मध्यमवर्गको उद्यम व्यवसाय गर्ने व्यक्ति यसका लागि उपयुक्त हुन्छ । मलाई वर्तमान अध्यक्ष, हुनेवाला अध्यक्ष र पूर्वअध्यक्षहरुले मेरो क्षमता देखेर नै मलाई समर्थन गर्नुभएको हो । व्यवसायीका जायज माग पूरा गराउन म प्रभावकारी भूमिका निर्वाह गर्न सक्छु, म त्यसैका लागि जन्मेको हूँ,’ उनले भने ।

One comment on "प्रतिस्पर्धी व्यक्तिसँग अनुभव छैन, अहिले चुप लागेर बस्नु भनेको छु-किशोर प्रधान"

  • SShrestha says:

    You represent Honesty, Integrity, Passion, Dedication and experience that cannot be matched!
    Best Wishes!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.