दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।
उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।
“अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,” डा श्रेष्ठले भने, “पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।”