निक्षेपमा बेग हाने सेन्चुरी र सिभिलले, एनआइसीको अग्रता कायमै

  २०७७ असोज १५ गते १०:१५     विकासन्युज

काठमाडौं । गत असार मसान्तपछि निक्षेप संकलनमा एनआइसी एसिया बैंकले अग्रता कायमै राखेको छ । साउनदेखि असोज पहिलो सातासम्ममा एनआइसी एसिया बैंकले २२ अर्ब रुपैयाँ निक्षेप थपेको छ ।

बैंक स्रोतका अनुसार सो अवधिमा एनआइसी एसिया बैंकले २२ अर्ब १२ करोड रुपैयाँ निक्षेप थप गरेको छ । यस्तै, बढी निक्षेप थप गर्ने दोस्रो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । इन्भेष्टमेन्ट बैंकले १५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप थप गरेको छ ।

तेस्रो स्थानमा रहेको हिमालयन बैंकले ११ अर्ब ७७ करोड रुपैयाँ निक्षेप थप गरेको छ । सेन्चुरी बैंकले भने ९ अर्ब ९ करोड र सिभिल बैंकले ८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप थप गरेको बैंक स्रोतले जानकारी दियो ।

एभरेष्ट बैंकमा ८ अर्ब ४५ करोड, ग्लोबल आइएमई बैंकमा ५ अर्ब ७९ करोड, एनएमबी बैंकमा ५ अर्ब ७१ करोड, सिटिजन्स बैंक इन्टरनेसनलमा ४ अर्ब २ करोड, सिद्धार्थ बैंकमा ३ अर्ब ६९ करोड, नेपाल एसबीआई बैंकमा २ अर्ब ५५ करोड र माछापुच्छ्रे बैंकमा १ अर्ब ६१ करोड रुपैयाँ निक्षेप थप भएको छ । यस्तै, लक्ष्मी बैंकमा १ अर्ब ११ करोड र एनसीसी बैंकमा ६२ करोड रुपैयाँ निक्षेप थप भएको छ ।

१३ बैंकमा घट्यो निक्षेप

संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १४ बैंकमा निक्षेप बढे पनि १३ वटा बैंकको निक्षेप भने घटेको छ । यसरी निक्षेप घट्नेहरुमा सबैभन्दा अघि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साउनदेखि असोज पहिलो सातासम्ममा १४ अर्ब ९४ करोड रुपैयाँले घटेको छ । यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ९ अर्ब ५४ करोड रुपैयाँले घटेको छ ।

बैंक स्रोतका अनुसार नेपाल बैंकको निक्षेप ५ अर्ब ६७ करोड, कृषि विकास बैंकको ४ अर्ब ८८ करोड, नेपाल बंगलादेश (एनबी) बैंकको ४ अर्ब २ करोड, मेगा बैंकको ३ अर्ब ८९ करोड, नविल बैंकको ३ अर्ब १९ करोड र प्राइम बैंकको ३ अर्ब १० करोड रुपैयाँ निक्षेप घटेको छ ।

यसरी निक्षेप घट्ने बैंकहरुमा कुमारी बैंकको २ अर्ब ४१ करोड, सानिमा बैंकको २ अर्ब २० करोड, सनराइज बैंकको १ अर्ब २ करोड, प्रभु बैंकको ६० करोड र बैंक अफ काठमाडू (विओके) को १ करोड रुपैयाँ घटेको छ ।

किन भयो घटबढ ?

तथ्यांकले सामान्यतः बढी व्याज दिने बैंकमा निक्षेप बढेको र व्याज कम भएका बैंकमा निक्षेप घटेको देखाएको छ । गत चैतसम्म साढे ९ प्रतिशतको हाराहारीमा रहेको मुद्दति निक्षेपको व्याज अहिले घटेर साढे ६ प्रतिशतको हाराहारीमा आएको छ ।

बैंकहरुले व्याज घटाउँदा संस्थागत निक्षेपकर्ताले बढी व्याज पाइने बैंक रोजेका कारण यस्तो परिवर्तन भएको हो । व्याजदर बढाबढको प्रक्रियाबाट निक्षेप राख्ने संस्थागत निक्षेपकर्ताले बढी व्याज दिने बैंकमा रकम राख्ने भएकोले पनि केही बैंकमा बढेको र केहीमा घटेको एक बैंकरले बताए । यस्तै, पछिल्लाे समय व्यक्तिगत निक्षेपकर्ता पनि बढी व्याज पाइने बै‌कमा रकम राख्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.