संबैधानिक निकायमा छिटो नियुक्ति गर्ने नेकपा सचिवालयको निर्णय, मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएन

  २०७७ असोज ६ गते १६:५०     विकासन्युज

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानिक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको जानकारी दिए । त्यस्तै, संवैधानिक परिषद्को बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गरेको श्रेष्ठले बताए ।

यसबाहेक पार्टीको साङ्गठनिक एकीकरणका बाँकी काम पुरा गर्न १० दिनभित्र अध्यक्षद्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरी सचिवालयले टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयको सन्दर्भमा दुई तीन दिन भित्रमा बैठक बसी निर्णय गर्ने निष्कर्ष पनि निकालेको प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै स्थायी कमिटीको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकले पार्टीभित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाई सरकारको विश्वसनियता अझबढी बनाउने र सरकारलाई अझ सफल बनाउने दिशा तिर अगाडि बढ्ने विश्वास र अपेक्षा पनि बैठकले गरेको श्रेष्ठले बताए । बैठकले मन्त्रिपरिषद पुनरगठनको सम्बन्धमा कुनै छलफल नगरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.