काठमाडाैं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्ध विषयमा अनुसन्धानको लागि सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको अनुसन्धानकाे लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको अन्तर्गत २ लाख बराबरको आर्थिक सहयोग गरेको छ ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानको अनुसन्धान विभागका निर्देशक डा सुमन थापाले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले डा सन्दुक रुईतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको हो । नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको हो ।