काठमाडौं । २०४१ सालको एसएलसी परीक्षामा पास भएपछि साइन्स पढ्ने लक्ष्यका साथ पवन ढकालले पृथ्वी नारायण क्याम्पसमा प्रवेश परीक्षा दिए । नतिजा निस्कियो भन्ने सूचना पाएपछि उनी तनहुँबाट बस चढेर पोखरा गए । तर पहिलो सूचिमा उनको नाम रहेनछ ।
उनी अब कानुन विषय पढ्न तम्सिए । त्यहि दिन बिहानबाट कानुन विषयमा भर्ना बन्द भएको रहेछ । क्याम्पस प्रमुखले तोक लगाए भर्ना हुन सक्ने सम्भावनाबारे उनले जानकारी पाए । तर क्याम्पस प्रमुखलाई भेट्न भोलि बिहान क्याम्पस जानुपर्ने भयो, निवेदनसहित ।
ढकालसँग भोलिपल्टसम्म कुरेर, क्याम्पस प्रमुखको तोक आदेश लिएर भर्ना हुने धैर्य र रुची दुवै भएन । व्यवस्थापन विषय पढ्न भर्ना खुला नै थियो । उनी त्यहि दिन क्याम्पसमा भर्ना भए ।
छरितो शरीर, तिखो बोली, मनमा लागेको बोलिहाल्ने, निर्णय पनि गरिहाल्ने । ‘लागेको कुरा प्रष्ट बोल्ने, निर्णय गरी हाल्ने मेरो सानैदेखिको बानी हो । यही गुणले मलाई यहाँ पुर्यायो, यही गुणले कतिपय ठाउँमा समस्या पनि भयो’ लुम्बिनी विकास बैंकको सिनियर डेपुटी सीईओ पवन ढकालले विकासन्युजसँग भने ।
स्नातकोत्तर तहको दोस्रो वर्ष उनी पढ्दै थिए । स्ट्याडण्डर्ड चार्टर्ड बैंक नेपाल (तत्कालिन ग्रिनलेज बैंक)ले स्थानीय तहबाट प्रोव्यासनरी असिस्टेन्ट (परिक्षणकालसहितको सहायक) पदमा खुला प्रतिस्पर्धा गरायो । उनका सहपाठीहरुसहित करिब ५० जनाले आवेदन दिए । पाँच चरणका छनौट विधि पार गरेर सहपाठीबाट उनको मात्र नाम निस्कियो । ग्रिनलेज बैंकमा शानको जागिर पाए ।
८ वर्ष सोही बैंकमा काम गरे । विदेशी, स्वदेशी बैंकर्सहरुबाट थुप्रै तालिमहरु हासिल गरे । २८ वर्षको बैंकिङ करिअरमा धेरै कुरा ग्रिनलेज बैंकमा सिकेको उनको भनाई छ । उनले मेकेर, चेकेर, एप्रुवल तीनै तहको जिम्मेवारी सोही बैंकमा निर्वाह गर्ने मौका पाएका थिए ।
२०५७ सालमा पोखरामा मुख्य कार्यालय रहने गरी माछापुच्छ्रे बैंक खुल्ने तयारीमा थियो । खुल्ने प्रक्रियामा रहेको बैंकबाट पवनलाई अफर आयो । बैशाख महिनामा उनले ग्रिनलेज बैंकबाट राजीनामा दिए । जेठबाट माछापुच्छ्रे बैंकमा हाजिर भए । तर राष्ट्र बैंकले लाइसेन्स दिन ढिला गर्यो ।
‘धेरै मान्छेका लागि ग्रिनलेज बैंकको जागिर सपना मात्र थियो । एकातिर विदेशी संयुक्त लगानीको बैंक छोडेँ, अर्कोतिर नयाँ बैंकले लाईसेन्स पाउन सकिरहेको थिएन । साथीभाई आफन्त सबैले मलाई गाली गरे’ तनावको कथा सुनाउँदै भने- ‘म र अर्जुन थापा एकै दिन ग्रिनलेज छोडेर माछापुच्छ्रे बैंकमा गएको । हामीलाई बजारमा निस्कन नहुने अवस्था थियो । साथीहरुले हामीलाई मूर्ख भने ।’
असोजमा बैंकले लाईसेन्स पायो । बैंक सञ्चालनमा आयो । उनले १४ वर्ष सोही बैंकमा काम गरे । ‘माछापुच्छ्रे बैंकमा एकदमै रमाइलोसँग काम गरियो । तर स्ट्याण्डर्ड फाइनान्स मर्ज भएपछि त्यहाँ काम गर्ने वातावरण भएन । मैले छोड्ने निर्णय गरेँ’, उनले थपे- ‘नेपालमा धेरै बैंक फाइनान्स मर्ज भएका छन् । कसैले सफल मान्लान्, कसैले नमान्लान् । मर्जपछि धेरै कर्मचारी पीडित भएका छन् । म तपाईलाई यो कुरा पनि भन्छु, ग्रिनलेज बाहेक जतिवटा बैंकबाट मैले राजीनामा गरेँ, त्यसको एउटै कारण थियो मर्जपछिको डोमिनेशन ।’
माछापुच्छ्रे छोडेपछि उनी कैलाश विकास बैंकका सहायक महाप्रबन्धक भए, सीईओपछिको दोस्रो पदमा । तीन वर्ष काम गरेर त्यहाँ पनि छोडे । नेपाल एक्प्रेस फाइनान्स र मेट्रो डेभलपमेन्ट बैंक कैलाशमा गाभिएपछि त्यहाँ भाडभैलो शुरु भयो । उनीसहित त्यतिबेलाको उच्च व्यवस्थापनमा रहेर काम गर्ने सबैले राजीनामा दिए ।
कैलाश विकास छोडेपछि सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सीईओ भए । तर उनी सिद्धार्थमा हाजिर भएको १५ दिनमा जनता बैंकमा मर्ज हुने सम्झौता भयो । ५ महिनामा मर्ज भयो । जनतामा उनी भूमिका विहिन भए ।
‘जनता बैंकमा डेभपलपमेन्ट बैंकबाट आएका कर्मचारीलाई धेरै डोमिनेन्ट गरियो । मर्ज पूर्व नै हामीलाई डिमोरलाईज गरियो । विकास बैंकका कर्मचारीलाई जाँच लिईयो । उच्च अंक आउनेलाई समान तहमा, मध्यम अंक ल्याउनेलाई एक तह घटाएर र कम नम्बर ल्याउनेलाई २ तह घटाउने काम भयो । मलाई दुई तह घटाइयो । जबकी जनता बैंकको उमेरभन्दा बढी वर्ष मैले वाणिज्य बैंकमा काम गरेको थिएँ’ उनले थप पीडाको कुरा सुनाए, ‘सिद्धार्थ डेभपलमेन्ट बैंकबाट जनतामा जानेमा अजय मिश्र बाहेक सबको दुई तह घटुवा गरियो । त्यो पनि मानियो । तर मर्जपछि डेढ महिनासम्म त मलाई कुनै भूमिका नै दिइएन । बैंकका हरेक गतिविधि विकास बैंकका कर्मचारीलाई डोमिनेन्ट गर्ने खालका थिए । डेढ वर्षपछि मैले राजीनामा दिँए ।’

बैंक तथा वित्तीय संस्थाभित्रको मर्ज पुँजीको मात्र मर्ज भएको उनले सुनाए । मर्जमा सबैभन्दा धेरै उपेक्षा जनशक्तिलाई गरिएको उनको निष्कर्ष छ । ‘मर्ज भनेको पुँजीको मात्र होइन, बिजनेशको मर्ज हो । कर्मचारीको मर्ज हो । ग्राहकको मर्ज हो । सिस्टम मर्ज हुनु हो । कल्चर मर्ज हुनु हो । प्रोसेसको मर्ज हुनु हो । तर हामी कहाँ सञ्चालकहरुबीच सहमति भएपछि जे पनि हुन्छ । न स्वाप रेसियोमा वस्तुगत आधार खोजिन्छ, न अरु कुनै पक्षमा ।’ मर्जपछि ठूलो संस्थाका कर्मचारीले सानो संस्थाबाट आएका कर्मचारीलाई दबाउने र ठूला प्रमोटरका आफन्तहरु माथिमाथि जाने अभ्यास बैकिङ क्षेत्रमा भईरहेको उनले बताए ।
राष्ट्र बैंकले अझै पनि वाणिज्य बैंकको संख्या ५० प्रतिशतले घटाउने चाहेको देखिन्छ । लघुवित्तहरुलाई पनि मर्ज गराउन चाहेको देखिन्छ । उनले भने- ‘मर्जपछि कर्मचारी समायोजनका बारेमा राष्ट्र बैंकले स्पष्ट कार्यविधि बनाउनुपर्छ । त्यसको सुक्ष्म निगरानी हुनुपर्छ । ठूलो संस्थामा गाभिने सानो संस्थाका कर्मचारीमाथि भईरहेको अन्याय र ठूला प्रमाेटरकाे प्रभावमा कर्मचारी तहमा हुने भेदभाव रोकिनुपर्छ ।’
२०७६ असार १ गतेदेखि उनी लुम्बिनी विकास बैंकमा सिनियर डेपुटी सीईओको भूमिकामा छन् । ‘हामीले बैंकर्स भएर काम गर्नुपर्छ । ग्राहकलाई राम्रो सेवा दिने हो । संस्थागत हितमा काम गर्ने हो । कानुनको परिपालना गर्ने हो । कसैलाई खुशी बनाउनको लागि गलत कामलाई सहि र सहि कामलाई गलत भन्न हुँदैन’ उनले भने- ‘म त प्रष्ट वक्ता हुँ । सहिलाई सहि भन्छु, गलतलाई गलत । कोही रिसाउन वा खुसाउन ।’
पवन ढकालले बैंकिङ सेवामा काम गरेको २९ वर्ष चालु छ । उनी भन्दा धेरै जुनियरहरु वाणिज्य बैंकका सीईओ पनि भएका छन् । उनी आफूलाई कसरी मूल्याङ्कन गर्छन् त ? उनले तीनवटा तर्क गरे । ‘पहिलो त सीईओ भनेको अत्यन्तै सीमित पद हो । सबैले सीईओ बन्ने मौका पाउँदैनन् । दोस्रो, खुबी पनि चाहिन्छ । बोर्ड, व्यवस्थापन, नियामक, वाह्या पक्ष, बिजनेश सबैतिर डिल गर्न सक्ने हुनुपर्छ । तेस्रो, माथिल्लो तहको आशिर्वाद चाहिन्छ ।’
के तपाईले आर्शिवाद नपाएकै हाे-हामीले प्रश्न गर्याैं ।

‘म त्यसो भन्दिन । अहिलेसम्म मैले जे प्राप्ति गरेको छु, त्यसमा म सन्तुष्ट छु’ उनले व्यवसायिक जीवनबारे विट मार्दै भने- ‘भविष्य अनिश्चित छ । काम गर्दै जाने हो । अब जति समय सकिन्छ, बैंकिङ क्षेत्रमा नै काम गर्ने हो ।’
त्यसपछि नि ?
उनले भने ‘साहित्य र समाज सेवामा लाग्छु । सानैदेखि लाइन्स क्लब, रोटरी क्लबमा रहेर काम गर्थें । लेख लेख्नु, कविता रचना गर्नु मेरो रुचीको विषय हो । अवकाशपछिको जीवन त्यतै व्यतित गर्छु ।’
२०२६ सालमा तनहुँको भानु नगरपालिका वडा नम्बर ४ मा जन्मिएका ढकालले चन्द्रावती उच्च माविबाट स्कूल शिक्षा लिएका थिए । बुबा सरकारी जागिरे भएको र काकाहरु शिक्षक भएकोले उनलाई शिक्षामा आउन राम्रो वातावरण थियो ।
‘बुबा सरकारी सेवाबाट अवकाश पाउनु भएको हो । दाइ शिक्षकबाट अवकाश लिनु भयो । भाई पनि क्याम्पस पढाउँछ । श्रीमती पनि पहिला कलेज पढाउथिन्, अहिले छोडिन् । छोरा पुल्चोक इन्जिनियरिङ क्याप्पसमा मास्टर डिग्री हासिल गर्दैछन् । छोरी पोखरामा म्यानेजमेन्टमा ब्याचलर डिग्री गर्दैछिन् । तनहुँ र पोखरामा घर छ । काठमाडौंमा डेरामा बसिन्छ’ उनले पारिवारिक जीवनबारे खरर्र भने ।