सबै नाकामा ल्याव राखेर खाद्यन्य, तरकारी र फलफूलकाे गुणस्तर जाँच हुँदैछ, अब आयात पनि नियन्त्रण हुन्छ

  २०७७ भदौ १२ गते २०:१२     विकासन्युज

बन्दाबन्दी वा निषेधाज्ञाको नाममा विगत पाँच महिनादेखि बजार अस्तव्यस्त छ । देशभित्र मात्र होइन, देश वाहिर पनि सार्वजनिक यातायात प्रभावित भएको छ । यो अवस्था कहिलेसम्म रहने हो, अनुमान गर्न कठिन छ । यस्तो अवस्थामा खाद्यन्य तथा अत्यावश्यकीय बस्तुको आपूर्ति व्यवस्थ कसरी भईरहेको छ ? मूल्य र गुणस्तरको नियमन सरकारले कसरी गरिरहेको छ ? प्रस्तुत छ यस विषयमा केन्द्रीत भई विकासन्युजका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसादसँग गरिएको कुराकानी ।


बन्दाबन्दी वा निषेधाज्ञाको अवस्थामा अत्यावश्यक बस्तु तथा सेवाको आपूर्ति कस्तो छ ?

हामी अहिले अप्ठ्यारो अवस्थामा छौं । निषेधाज्ञा लागू भएको दोस्रो सातामा छौं हामी । तर निषेधाज्ञा आपूर्ति प्रणाली नबिग्रने सर्तमा लागू भएको छ । उत्पादित अत्यावश्यक बस्तु बजारसम्म पुर्याउन ढुवानीमा कुनै समस्या नहुने व्यवस्था गरिएको छ । यद्यपी केही ठाउँमा किसानका उत्पादन बजारमा पुर्याउन कठिन भएको समाचार आएका छन् । त्यसलाई पनि सहजीकरण गर्ने काम भएको छ । अरु शोखको कुरा, हिडडुल गर्ने, मनोरञ्जन लिने विषयमा भने समस्या नै छ । पर्यटन सेवा बन्द छ । सबैलाई थाहा छ कि हवाई र सार्वजनिक यातायत सेवा बन्द नै छ । सेवातर्फ बैकिङ, बीमा, सहकारीले दिने सेवा नियमित बनाउने प्रयास भएको छ । शिक्षा सेवा लकडाउन भएदेखि नै बन्द छ । स्वास्थ्य सेवामा पनि केही समस्या छन् । तसर्थ सेवाको हकमा केही खुला छन् भने केही बन्द छन् । तर अत्यावश्यक बस्तुको आपूर्तिमा समस्या छैन ।

तर बजारमा खाद्यन्यको मूल्य वृद्धि भइरहेको छ, तरकारी, फलफूल, माछा, मासु जस्ता अत्यावश्यक बस्तुको अभाव र मूल्यवृद्धि चरम छ नि ?

तरकारी र फलफूलमा केही हलचल आएको छ । बीचमा मूल्य निकै बढेको थियो । अहिले आपूर्ति पनि बढेको छ र मूल्य पनि घट्न थालेको छ । हार्वेस्टिङ सिजनको कारण पनि यस्तो समस्या देखिएको छ । कही ढुवानीको समस्या छ । कही कामदारको समस्या छ । महामारीको बेलामा म काम गर्दिन भनेर कामदारले काम गर्न नचाहेको, परिवारका सदस्यले काममा नजान भनेको अवस्था पनि छ । त्यसले पनि आपूर्तिमा केही समस्या देखिएको हो । तर अभाव नै भएको भने छैन ।

सरकारले मूल्य तोक्ने बस्तुहरु पेट्रोलियम पदार्थ, नुन, चिनीको मूल्य बढेको छैन । दाल, गेडागुडी, चामल लगायत बस्तु जसको मूल्य बजारले नै निर्धारण गर्छ, त्यसका थोरै मूल्य वृद्धि भएको छ । ढुवानी महँगो हुने, कामदारको ज्याला महँगो हुने भएकोले ५/६ प्रतिशत मूल्य वृद्धि भएको छ । त्यसलाई धेरै मूल्य वृद्धि भयो भन्न मिल्दैन । विल विजकमा उल्लेख नभई मूल्य बढाएर बेचिएको रहेछ भने हामी कारवाही गर्छौ ।

कोभिडपछि माक्स, स्यानिटाईजर, पञ्जाको आपूर्ति र मूल्य कस्तो छ ?

अहिले पञ्जाको अभाव छ । आयातमा पनि समस्या छ । यसमा सरकारको तर्फबाट सहजीकरण गर्नुपर्ने अवस्था छ । तर माक्स, स्यानिटाइजर, थर्मलगन लगायत मेडिकल सर्जिकलका सामान आपूर्ति राम्रो छ । १००० रुपैयाँ पर्ने एन९५ मास्क अहिले ३०० रुपैयाँ भन्दा कम छ । पहिला ७/८ हजारमा बेचिएका थर्मलगन अहिले ३/४ हजार मै बिक्री भईरहेका छन् । मास्क, स्यानिटाइजर त नेपालमा नै उत्पादन हुन थालेपछि मूल्य निकै घटेको छ ।

१००० रुपैयाँ पर्ने एन९५ मास्क अहिले ३०० रुपैयाँ भन्दा कम छ । पहिला ७/८ हजारमा बेचिएका थर्मलगन अहिले ३/४ हजार मै बिक्री भईरहेका छन् । मास्क, स्यानिटाइजर त नेपालमा नै उत्पादन हुन थालेपछि मूल्य निकै घटेको छ ।

तर भारतमा उत्पादित बहुराष्ट्रिय ब्राण्ड ‘डेटोल’ स्यानिटाईजर २०० मिलिलिटरको मूल्य भारु ३० (४८ रुपैयाँ नेपाली) मा बजारमा किन्न पाइन्छ । तर नेपालमा बनेको ‘अरु सेफ’ ब्राण्डको २०० मिलिलिटरको स्यानिटाईजरको मूल्य १६० रुपैयाँ छ । यो मूल्य कति जायज हो ?

तपाईले पाएको सूचना मलाई जानकारी दिनुहोला । त्यसमा हामीले अध्ययन गर्छौ । लागतको आधारमा मूल्य निर्धारण हुनुपर्छ । हामीले नेपाल औषधि लिमिटेडले उत्पादन गरेको र जडिबुटीले उत्पादन गरेको स्यानिटाईजर प्रयोग गरेका छन् । यिनको मूल्य अस्वभाविक लागेको छैन ।

तपाईहरुले अनुगमन गर्दा मूल्यलाई जोड दिनु भएको छ कि गुणस्तरलाई ?

हामीले बस्तुको उपलब्धता, गुणस्तर, मिति, मूल्य, कम्पोजिशन लगायत पक्षको अनुगमन गर्छौ । बस्तुको गुणस्तर र कम्पोजिशन आँखाले देखेर भन्न नसकिने भएकोले हामी प्रयोगशालामा लगेर त्यसको परीक्षण पनि गर्छौ । सबैभन्दा धेरै मानिसलाई छुने मूल्यले नै हो । त्यसैले हामीले उत्पादन लागत विश्लेषण गरेर तोकिएका मूल्य बढी भए घटाउन लगाउँछौं । व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा लिएको रहेछ भने कालोबजारी अन्तरगत कारवाही गरौं ।

वाणिज्य विभागले मूल्य अनुगमन गरेर कुन कुन बस्तुको मूल्य कति घटाउनु भएको छ ?

सर्जिकल आईटमहरुमा धेरै मूल्य घटाउन सफल भएका छौं । सुपर मार्केटहरुमा अधिकतम बिक्री मूल्य भन्दा बढीमा बेचेको पायौं । त्यसलाई साइजमा ल्याएका छौं । पानी, औषधि, खाद्यन्य सबैको मूल्यमा प्रभाव परेको छ ।

माग र आपूर्तिले मूल्य निर्धारण भईरहेको छ कि वाणिज्य विभागको हस्तक्षेप ?

माग र आपूर्तिबाट नै मूल्य तय भएको हुन्छ । तपाईले कुखुराको मूल्यको कुरा गर्नुभयो । अहिले मूल्य घटिरहेको छ । अहिले गोलभेडा महँगो छ । किन भने अहिले टनेल गोलभोडा मात्र आउँछ । यसको लागत नै धेरै हुन्छ । मौसमी तरकारी बजारमा आउन थालेपछि यसको मूल्य पनि घट्छ ।

माग र आपूर्तिले नै मूल्य निर्धारण गर्छ भने तपाईहरुले मूल्यमा अनुगमन गर्नुको अर्थ के ?

हामीले मूल्य निर्धारणको मापदण्ड बनाउँछौं । मूल्य किन बढ्यो, कसरी बढ्यो हामी हेर्छौ तर यति नै हुनुपर्छ भनेर हामीले तोक्दैनौ । आयल निगमले पेट्रोलियम पदार्थको वा साल्ट ट्रेडिङले नूनको मूल्य निर्धारण गरे झै हामीले ठ्याक्कै मूल्य निर्धारण गर्दैनौं ।

शिक्षित, अशिक्षित सबैले मूल्य सुनेर किन्न वा नकिन्ने निर्णय गर्न सक्छ । तर बजार उपलब्ध औद्योगिक उत्पादनको कम्पोजिसन हेरेर सहि छ वा गलत छ जानकारी लिन सकिदैन । आम उपभोक्ताले चामलको बोरा, ग्यासको सिलिण्डर, तेल वा दुध पाकेट नजोखिकन किन्न वाध्य छन् । तोकिए अनुसार तौल छ वा छैन भन्ने अनिश्चिताबीच किन्नु परेको छ । यस्तो बजारमा तपाईहरु गुणस्तर, तौलमा जोड नदिएर किन मूल्यमा जोड दिनुहुन्छ ?

गुणस्तर हेर्न वाणिज्यसँग प्राविधिक जनशक्ति नै छैन । यसको लागि नाप तौल तथा गुणस्तर विभागले काम गरिरहेको छ । खाद्य गुणस्तर विभागले हेरेको हुन्छ । २५ केजी हुनुपर्नेमा २४ केजी रहेछ भने हामी कारवाही गछौं । २० लिटर भनेको ठाउँमा १९ लिटर छ भने हामी कारवाही गर्छौ । खान योग्य छ छैन, प्रयोग गर्न योग्य छ छैन हामी हेर्छौ । हामी निरिक्षणमा जाँदा जिल्ला प्रशासनको प्रतिनिधि, प्राविधिक पक्ष हेर्ने निकायको प्रतिनिधि र वाणिज्य विभागको निरीक्षण अधिकृतको टोली गएको हुन्छ । त्यस टोलीले व्यवसायिक संस्थाको दर्ता, नविकरण देखि बस्तु तथा सेवाको मूल्य, गुणस्तर सबै पक्षको अध्ययन गर्छ ।

तपाईहरु उपभोक्ताको हित मात्र हेर्नुहुन्छ कि व्यवसायिक वातावरण बनाउने, व्यापार प्रवद्र्धन गर्ने दिशामा पनि काम गर्नुहुुन्छ ?

व्यवसायीहरु पनि देश, समाजको विकासको काम गरिरहेका हुन्छन् । उनीहरुलाई व्यापार व्यवसाय गर्न सहज बनाउनेतर्फ पनि हामीले काम गरिरहेका छौं । अहिले अनलाईनबाट दर्ता निवेदन दिने, नविकरण गर्ने, अनलाईनबाट बैंक खातामा राजश्व बुझाउने व्यवस्था गर्दैछौं । आयात निर्यातको लागि पनि अनुमति पनि अनलाईनबाट गर्न पाउने व्यवस्था गरेका छौं ।

तपाईको बुझाईमा बजारमा फेयर विजनेज छ कि अनफेयर ?

औसत । म अनफेयर भन्दिन । सूचना संकलन र पद्दति निर्माणमा केही कमजोरी छन् । एक पटक खराव गर्ने व्यवसायीले फेरी पनि खराव गरेको पनि पाइएको छ । उनले गरेको खराव कामको सूचना पाउने उचित मेकानिजम हामीले बनाउन सकेका छैनौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षरण विभागको आफ्नै क्षमता कस्तो छ ?

हामीले हाम्रो क्षमता विकास पनि जरुरी छ । संस्थागत संरचनाको सुधार, जनशक्ति विकासमा काम गरिहेका छौं । हामी आफै नैतिक र अनुशासित बन्नुपर्छ भनेर हामीले आफ्नै आचारसंहिता बनाइरहेका छौं । यहि महिनाभित्र आचारसंहिता सार्वजनिक गर्नेछौं । बजार अनुगमन कार्यविधि बनाउँदैछौं । बजारको तह र मूल्य निर्धारण विधिको निर्देशिका तयार हुँदैछ । अत्यावश्यक बस्तुहरुको सूचि परिमार्जन गर्दैछौं । यी विषय सुधार भएपछि हाम्रो पद्धति राम्रो बन्नेछ ।

तपाईको शब्दमा वाणिज्य विभागसँग आचारसंहिता छैन । बजार अनुगमन कार्यविधि छैन । बजारको तह र मूल्य निर्धारण विधि छैन । यस्तो अवस्थामा तपाईहरुले गर्ने बजार अनुगमन र कारवाही सम्बन्धि निर्णय कसरी स्वच्छ हुनसक्छ ?

हामीले निजामति कर्मचारीको आचारसंहिता पालना गरेका हुन्छौं । अनुगमनमा जाने अधिकृतहरुले लोभ लालच गर्न नहुने, अरुले दिएको उपहार स्वीकार गर्न नहुने भन्नेछ । हामीले नैतिकता र अनुशासनको बारेमा प्रशिक्षण दिएका छौं । अनुगमनमा जानुपूर्व सूचना दिने व्यवस्था पहिला रहेछ, अहिले त्यो हटाइएको छ । बजारमा पुगेपछि आफ्नो परिचय खुलाउनुपर्छ । नरम र सभ्य भाषामा कुराकानी गर्नुपर्छ ।

तर वाणिज्य विभागका कर्मचारीले घुस मागे भनेर व्यवसायीलाई कोट समाचार आउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य विभागको कर्मचारीलाई घुस खाँदाखाँदै पक्रेको छ । यसले त वाणिज्य विभागको कार्यशैलीप्रति प्रश्न र अविश्वास पैदा गरेन ?

म वाणिज्य विभाग आउनुपूर्व के भएका थिए, त्यसबारे मैले जवाफ दिन सक्दिन । २०७६ मंसिरमा म वाणिज्य विभागमा आएपछिको जिम्मा लिन्छु । एक जना नासुलाई अख्तियारले पक्राउ गरेको छ, त्यसमा व्यक्ति जिम्मेवार देखिन्छ, संस्था होइन । म अहिले पनि भन्छु वाणिज्य विभागका कर्मचारीले व्यापारीसँग गलत काम गरे भने त्यसको सजाँय म भोग्न तयार छु ।

तर हालै मात्र एक व्यापारिक फर्ममाथि अनुगमन र कारवाही गर्दै गर्दा तपाईले प्रहरीको दुरुपयोग गर्नुभयो भनेर एसएसपी श्यामलाल ज्ञवालीले विभागलाई सघाउन खटाएको प्रहरी नै फिर्ता गरे । यस्तो अवस्था किन आयो त ?

म अहिले यतिमात्र भन्छु, लकडाउन अवधिमा उपभोक्ता संरक्षणका काम गर्ने एउटा छुट्टै सेल बनाएका थियौं । त्यसमा निजामति र प्रहरी दुबै छन् । निरिक्षण अधिकृतले एक पटक कल गरेपछि प्रहरीले फलोअप कल गरेको हो । तर त्यसमा एसएसपीसावले बास्तविकता नबुझि प्रहरी फिर्ता गर्नुभयो । जसले कानुनको पालना नगरी व्यापार व्यवसाय गर्छ, कानुनले उसलाई अपराधी भन्छ । कानुनी रुपमा व्यवसाय गराउने क्रममा प्रहरीले एक कल फोन गर्नु गलत हो ? यसलाई त्यसरी लिनु हुदैथ्यो । यस विषयमा मैले गृहसचिवलाई भेटेर कुरा राखेको छु ।

प्रहरीको असहयोगपछि विभागले कसरी काम गर्छ ?

म यसलाई असहयोग भन्दिन । हामीलाई आवश्यक पर्दा सम्बन्धित प्रहरी चौकीबाट सहयोग लिन्छौं । सीडीयो अफिसका कुरा गरेपछि हामीलाई आवश्यक ठाउँमा प्रहरी आएर सहयोग गर्छ, गरिरहेको छ ।

एसएसपी ज्ञवालीले तपाईमाथि लगाएको आरोप झूटो हो त ?

उहाँको आरोप म स्वीकार गर्दिन । सहि पनि होइन । उहाँले मसँग परामर्श लिएर वा सिडियोसँग परामर्श लिएर फिर्ता लिनुपर्ने थियो । उहाँले स्वविवेकमा जे निर्णय गर्नुभयो, त्यो गलत छ । त्यो उहाँको अहमता हो ।

बाढी पहिरोको कारण जुन जिल्लामा सडक सम्बन्ध विच्छेद भएका छन्, त्यस क्षेत्रमा अत्यावश्यक बस्तुको आपूर्ति कसरी भईरहेको छ ?

म हालका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छु । त्यो सरकारी कम्पनीको तर्फबाट सिल्धुपाल्चोक, जाजरकोट, बाजुरा, बजाङ, दार्जुला लगायत जहाजबाट, खच्चडबाट वा बैकल्पिक मार्गबाट अत्यावश्यक बस्तु ढुवानी गरिरहेका छौं ।

वाणिज्य विभागको काम आयात निन्त्रण पनि हो । यसतर्फ कति काम भएको छ ?

हामीले आन्तरिक उत्पादनलाई वृद्धिमा जोड दिएका छौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ग्रामिण क्षेत्रमा सामान पुर्याएर फर्कदा कृषि उत्पादनहरु बजारमा ल्याउने नीति लिएका छौं । त्यस्तै, सरकारले कृषि उपजहरुको समर्थन मूल्य तोकेको छ । त्यसको नतिजा आउँदै छ ।

दोस्रो हामीले तरकारी, फलफूल, खाद्य पदार्थकाे आयात हुँदा हरेक नाकामा गुणस्तर तथा विषादी जाँचको तयारी गर्दैछौं । प्रधानमन्त्री कार्यालयको समन्वयमा उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय र हामीले हरेक नाकामा फलफूल तथा तरकारीको गुणस्तर, विषादी जाँचको ल्याव स्थापना गर्ने तयारी गरिरहेका छौं । माघ महिनासम्म सबै नाकामा यस्तो ल्याव सञ्चालन गर्ने लक्ष्यसहित काम भईरहेको छ । त्यसपछि विषादीयुक्त वा अखाद्य बस्तु आयात राेकिने छ । आयात पनि कम हुनेछ ।

भिडियाे हेर्नुहाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.