अध्यक्षकाे कुर्सीमा बस्दा शेखर गाेल्छालाई पछुताउन नपराेस्-गुणनिधि तिवारी

  २०७७ भदौ ११ गते २०:०३     विकासन्युज

काेभिड-१९ काे महामारी नेपालीकाे घर आँगनमा पसेकाे छ । दैनिक एक हजार भन्दा बढीमा काेराेना संक्रमण पुष्टि हुन भएकाे तथ्याङ्क सार्वजनिक भइरहेकाे छ । सरकारले लकडाउन पछि निषेधाज्ञकाे बाटाे समातेकाे छ । उद्याेग, व्यापार, सेवा सबै क्षेत्र चाैपट भएका छन् । र, काेराेनाकाे त्रास भन्दा राेजीराेटी, राेजगारी र आर्थिक संकटकाे त्रासकाे तरङ्ग ठूलाे भैसकेकाे छ ।

तर यतिबेला निजी क्षेत्र निजी क्षेत्रका प्रतिनिधि मुलक संस्थाहरू सुस्ताएर छन् । आवाज विहिन भएका छन् । साझा धारणा बनाउनुकाे साटाे निजी क्षेत्रकाे सबैभन्दा ठूलाे संस्था नेपाल उद्याेग वाणिज्य महासंघ आसन्न तर अनिश्चित चुनाव केन्द्रीत भइ विभाजित बनेकाे छ । निजी क्षेत्रका प्रतिनिधि अर्थात नेताहरू किन रूमलिएकाे छन्, किन सुस्ताएका छन् ?  निकासकाे खाेजीमा के कस्ता प्रयास भैरहेका छन् ? प्रस्तुत छ नेपाल उद्याेग वाणिज्य महासंघकाे जिल्ला तथा नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीसँग विकासन्युजले गरेकाे विकास वहस ।

कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा के कस्तो प्रभाव परेको छ ? खासगरी साना व्यवसायीलाई यसले पारेको प्रभाव कस्ताे छ ?

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाम्रो अर्थतन्त्रमा निकै ठूलो असर परिसकेको छ । लामो समयको लकडाउनले हाम्रो उत्पादन र बजारको समग्र चक्र नै क्षतविक्षत पारेको अवस्था हो । लकडाउनका कारण हाम्रो पर्यटन उद्योग पूर्णरुपमा ध्वस्त भएको छ । होटल, ट्राभल, एयरलाइन्स जस्ता व्यवसायमा यसको सबैभन्दा ठूलो र दीर्घकालिन असर परेको छ । त्यस्तै लामो समयदेखि उद्योग व्यवसाय सबै बन्द छन् । धेरैको रोजगारी गुमेको अवस्था छ । यसले उद्योगी, व्यापारी तथा व्यवसायीलाई सबैभन्दा ठूलो प्रभाव परेको छ । साना, मझौला तथा ठूला सबै व्यवसायमा यसको उत्तिकै प्रभाव परेको छ । र, साना तथा मझौला व्यवसाय र व्यवसायी पक्कै पनि यसबाट सबैभन्दा ठूलो मर्कामा परेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तीन तीन पटकसम्म मिति तोकेर फेरि स्थगित भएको छ । यसको तयारी कहाँ पुगेको छ र तपाइँको आफ्नै तयारीचाहिँ कस्तो छ ?

अहिले कोभिड–१९ को संक्रमण दर बढ्दै गएकोले हामीले चुनावी तयारी खासै गरेका छैनौं । हाम्रो समूहगत तयारीको कुरा गर्ने हो भने सार्वजनिक कार्यक्रम नै गरेर वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालकाे नेतृत्वमा उपाध्यक्षका सबै उम्मेदवारहरु सार्वजनिक गरिसकेका छौं । सबैतिरबाट राम्रो रेस्पोन्स पनि आइरहेको छ । जिल्ला/नगरका साथीहरुसँग निरन्तर सम्पर्कमा छौं । म हिजो पनि उहाँहरुसँग प्रत्यक्ष र निरन्तर सम्पर्कमा भएकाले मेरा लागि नियमित भेटघाट जस्तै छ । मैले चुनावकै लागि विशेष तयारी नै गर्नु परेको छैन । त्यस्तै हाम्रो टिमबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको पनि नेपालका ७७ जिल्लामा नै आफ्नो व्यवसायिक नेटवर्क छ । उहाँ पनि व्यवसायकै माध्यमबाट सबै उद्यमी व्यवसायी साथीहरुको सम्पर्कमै हुनुहुन्छ । अरु साथीहरु आआफ्नो क्षेत्रमा सम्पर्क मै हुनुहुन्छ । चुनाव भए पनि नभए पनि हामीहरु सबै आआफ्नो व्यवसायमार्फत व्यवसायी साथीहरुकै बीचमा छौं । यसले गर्दा चुनावको लागि मात्र विशेष कार्यक्रम हामीले कम नै गरेका छौं ।

पहिलो त महामारीको जोखिमप्रति हामी सबै सचेत हुनै पर्दछ । यसका लागि नेपाल सरकारले निर्धारण गरेका निश्चित प्रावधानदेखि नीति नियमको पनि पालना गर्नु आवश्यक छ । तर हामी निजी क्षेत्र भनेको इनोभेसन र प्रविधिको जननी पनि हौ । हामी निजी क्षेत्र नै सुस्ताएर, खुम्चिएर बस्ने हो भने त यो महामारीको सोलुसन नै आउँदैन । अहिले संसारभर निजी क्षेत्रका रिसर्चरहरु रातदिन यस कोभिड १९ को भ्याक्सिन बनाउनमा व्यस्त छन् । धेरै निजी औषधी कम्पनीहरुले भ्याक्सिन उत्पादनको तयारी सुरु गरिसकेका छन् । हाम्रो देशमै पनि हेर्नुभयो भने निजी क्षेत्रले उत्पादन देखि वितरण तथा बजारीकरणसम्म यही महामारी कै बीचमा काम गरिरहेका छौं । केही अत्यावश्यक उद्योग कलकारखानाहरु अहिले पनि सञ्चालनमै छन् । कोभिडको कारण भन्दै हामीले सेवा बन्द गरेर बस्ने हो भने त य स्वास्थ्य समस्या भन्दा निकै भयावह आर्थिक तथा सामाजिक समस्या उत्पन्न हुन्छ । मानिसहरु भोकमरी र उपचार नै नपाएर मर्ने सम्भावना हुन्छ । तसर्थ हामीले अहिले पनि स्वास्थ्य सम्बन्धी सबै सावधानी अपनाएर काम गर्ने वातावरण बनाउन पर्यो भनेर भनिरहेका छौं । कृषिजन्य उत्पादनहरु, दुध, तरकारी, फलफूल, खाद्यान्न, औषधी, तेल तथा पानी जस्ता अत्यावश्यक सेवाहरु हामीले बन्द गर्न सकिदैन । यसलाई स्वास्थ्य सुरक्षाको ख्याल गर्दै व्यवस्थापन गर्दै जाने हो ।

लामो समयदेखि उद्योग व्यवसाय सबै बन्द छन् । धेरैको रोजगारी गुमेको अवस्था छ । महामारीले गर्दा उद्योगी, व्यापारी तथा व्यवसायीलाई सबैभन्दा ठूलो प्रभाव परेको छ । साना, मझौला तथा ठूला सबै व्यवसायमा यसको उत्तिकै प्रभाव परेको छ, र साना तथा मझौला व्यवसाय र व्यवसायी पक्कै पनि यसबाट सबैभन्दा ठूलो मर्कामा परेका छन् ।

अर्को कुरा हामी निजी क्षेत्रले मुलुकको झण्डै ५० लाख जनशक्तिलाई रोजगारी पनि दिएका छौं । अहिलेको निषेधाज्ञा तथा बन्दाबन्दीले हाम्रा उद्योग, व्यवसाय बन्द हुँदा ती व्यवसायमा रोजगार व्यक्तिको रोजगारी गुम्दा ती व्यक्तिका आश्रित परिवारले दैनिकी चलाउन समेत समस्या परेको छ । यसलाई पनि सरकारले समयमै हेर्नुपर्छ भनेका हौ । यसका लागि महासंघ जस्तो संस्था निष्कृय हुनुभएन । हामीले सम्भव भएसम्म यसको गौरबपूर्ण इतिहासलाई जोगाउदै नयाँ नेतृत्व दिउँ र यसलाई अहिलेको संकटमा व्यवसायीहरुको असल सारथीका रुपमा अगाडि बढाऔँ भनेका हौँ । तर साथीहरुले यसलाई बङ्गयाई टिङ्गयाई हामीलाई नेतृत्वमा पुग्न हतारो भएको आरोप लगाउनुभयो । आफूलाई नेतृत्व नचाहिएको ढोङ्ग पिटाउनुभयो । तर वास्तविकता त्यस्तो होइन । उहाँहरु आफू अलि कमजोर महशुश भएपछि चुनाव पछाडि सार्न खोजेको देखिन्छ । अहिले हेर्ने हो भने अधिकांश साथीहरु भर्चुअल माध्यममा भएपनि साधारणसभा गर्नुपर्छ भनेर हामीले उठाएकै लाइनमा आइसक्नुभएको छ । यसले पनि हामी सही थियौं भन्ने पुष्टी गरिसकेको छ ।

तर अहिलेको अवस्थामा चुनाव त सम्भव छैन नि ?

हो, अहिले यस्तो अवस्थामा ठूलो जमघट सहितको चुनाव सम्भव छैन । हामी पनि सबै स्वास्थ्य सुरक्षालाई दाउमा राखेर चुनाव गरौं भनेका होइनौँ । तर चुनाव कस्तो समयमा सारिएको छ, तपाईलाई पनि राम्रोसँग थाहा छ । सरकारले तीन महिना लामो लकडाउन खुकुलो बनाउँदै लगेको थियो । सार्वजनिक यातायातहरु सञ्चालनमा आएका थिए । होटल, रेष्टुरेन्टलगायत हवाई यातायात र लामो दूरिका सार्वजनिक यातायातहरुसमेत सञ्चालनको तयारी गरिसकेको अवस्थामा उहाँहरुले एकाएक यसलाई स्थगित गरेर जानुभो । के उहाँहरुलाई यस्तो हुन्छ भन्ने पहिले नै जानकारी थियो र ? अहिले पो यस्तो भयो । तर त्यस समयमा उहाँहरुले लिएको निर्णय पूर्णरुपमा गलत थियो र आफ्नो दुनो सोझाउने बाहेक केही थिएन । मैले पहिले पनि भनी सके उहाँहरु आफू कमजोर देखिएपछि यसलाई पछाडि सार्न खोजिएको मात्र हो । खासमा चुनाव त हामीले नैतिक रुपमा जितिसकेका छौं ।

यसको मतलब अहिले पनि साधारण सभा गर्नुपर्छ भन्ने हो ?

धेरै मुलुकमा सामाजिक दूरी कायम गरेर “न्यू नर्मल” परिवेशलाई आत्मसात गर्दै अगाडि बढेको अवस्था हो । महामारी कै बीचमा धेरै मुलुकहरुमा आम निर्वाचन समेत भए । यहाँ हाम्रो देशमा पनि दुई तीनवटा निजी क्षेत्रका संस्थाहरुले साधारणसभा सम्पन्न गरिसके । हामी आफूलाई निजी क्षेत्रको लिडर भन्ने, उद्योग व्यवसाय खोल, काम गर्ने वातावरण बनाइदिउ भन्दै हिड्ने अनि आफ्नो संस्थालाई बचाउन साधारणसभासम्म गर्न नसक्ने त होइनौं नि । हामीले पनि कुनै पनि भर्चुअल माध्यम वा जुमबाट साधारणसभा गर्न नसकिने होइन । गएको चैतभित्र साधारणसभा गरिसक्नुपर्ने थियो । अब चैत्रमा हुन नसके पनि गर्न सकिने बेलामा त गर्नैपर्छ नि । नत्र वैधतालगायतका अन्य झमेला आउन सक्छन् । त्यसैले हामी सरकारको निर्देशनको सीमाभित्रै रहेर साधारणसभा सम्पन्न गरौ भनेका हौं ।

महामारीको जोखिमप्रति हामी सबै सचेत हुनै पर्दछ । यसका लागि नेपाल सरकारले निर्धारण गरेका निश्चित प्रावधानदेखि नीति नियमको पनि पालना गर्नु आवश्यक छ । तर हामी निजी क्षेत्र भनेको इनोभेसन र प्रविधिको जननी पनि हाैं। हामी नै सुस्ताएर, खुम्चिएर बस्ने हो भने त यो महामारीको सोलुसन नै आउँदैन ।

चन्द्र ढकालसहित तपाइँकाे टिमले दवाव दिएपछि साउन २६ गतेकाे मिति ताेकिएकाे बताइन्छ । चैतमा अध्यक्ष हुनुपर्ने शेखर गोल्छालाई हतार नहुने तर  तपाइहरुकाे टिमलाई हतार हुने किन ?

महासंघलाई विधानअनुसार अगाडि बढाउनुपर्छ, भोलि यत्रो संस्थामा वैधानिक संकट नआओस् र त्यो गर्विलो इतिहास बोकेको संस्था सोही कारणले क्षतविक्षत नहोस् भनेर हामीले आवाज उठाएको हो । चन्द्र ढकालले महासंघलाई विधिसम्मत चलाऔं, साधारणसभा समयमै गरौं भन्दा नेतृत्वमा पुग्न हतारो भयो भनेर ढोल पिटियो । अर्को कुरा यस महासंकटको समयमा व्यवसायीको आवाज बोलिदिने, सुनिदिने र समाधानका लागि पहल गरिदिने नेतृत्व अझ बढी सक्रिय र सबल हुने समयमा यसलाई किन निष्कृय बनाएर राख्ने भन्ने हो ।

साधारणसभा कसलाई चाहिएको हो र होइन भन्ने बाहिर आएका कुराले कुनै अर्थ राख्दैन किनकी साधारणसभाको मिति तोक्ने कार्यकारिणी समितिको निर्णय सर्वसम्मतिले नै भएको हो । हामीलाई नेतृत्वमा पुग्ने हतारोका रुपमा व्याख्या किन गरिँदैछ भनेर मैले बुझ्न सकेको छैन । हामीले त विधि र पद्धतिअनुसार महासंघ चल्न सकेन भने अग्रजहरुले ठूलो मेहनत गरेर हुर्काएको र देशले नै गर्व गर्ने यत्रो संस्थामा संकट आउन सक्छ र त्यो स्थिति नआओस् भनेर नै साधारणसभाको पक्षमा आवाज उठाएका हौ । यसलाई निर्वाचनसँग मात्र जोडेर हेरिनु हुँदैन । अहिले त सबै जसो कार्यकारिणी समिति सदस्यहरुले भर्चुअल माध्यमबाट भएपनि साधारणसभा गर्नुपर्छ भनेर भनिरहनुएको छ । आखिर हामीले उठाएको ठिक हो भन्ने पुष्टी भइसकेको छ

साधारणसभा र निर्वाचनकाे पृष्ठभूमिका एकले अर्काकाे सार्वजनिक रूपमा नै आलाेचना पनि भैराखेकाे छ । निर्वाचनका नाउँमा अहिले भइरहेको प्रतिस्पर्धालाई कत्तिको स्वस्थ मान्नुहुन्छ ?

कुनै पनि संस्थाको नेतृत्व चयन सर्वसम्मतिले हुन सक्यो भने त्यो अन्यन्तै राम्रो हुन्छ । नेतृत्वमा जाने आकांक्षी एकभन्दा बढी हुने वित्तिकै निर्वाचनको प्रक्रियामा जानुलाई अस्वाभाविक पनि मान्न सकिँदैन । महासंघ यस्तो विशाल सञ्जाल भएको संस्था हो जहाँ जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एशोसिएट सदस्य तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य छन् । सबै संस्थागत प्रतिनिधित्व गर्ने साथीहरु आफैं निर्वाचनको माध्यमबाट आउनुभएको हुन्छ । यस्तो अवस्थामा संस्थाको नेतृत्व तहमा सर्वसम्मति होस् भन्ने चाहना राख्नु एउटा कुरा हो तर व्यवहारिकता हेर्दा त्यो त्यति सजिलो चाहिँ छैन । यसैले निर्वाचन हुनु र प्यानल बन्नुलाई ठूलो समस्याका रुपमा लिनु हुँदैन । बरु निर्वाचनमा एक अर्कोलाई हिलो छ्याप्ने काम भने हुनु हुँदैन । हाम्रो टिम यसमा पूर्ण सचेत छौं किनकी हामी आफ्नो योग्यता, क्षमता, अनुभव, गुण, आचरणसहित निश्चित एजेण्डाका आधारमा निर्वाचनमा भाग लिन गइरहेका छौं । यसैले अस्वस्थ प्रतिस्पर्धाको नियतिबाट महासंघलाई जोगाउन हामी सचेत छौं ।

महासंघलाई विधिसम्मत चलाऔं, साधारणसभा समयमै गरौँ भन्दा नेतृत्वमा पुग्न हतारो भयो भनेर ढोल पिटियो । अहिले महामारीको यस्तो समयमा व्यवसायीहरु अभिभावक विहिन जस्ता भएका छौं । हाम्रो आवाज बोलिदिने, सुनिदिने कोही नभए जस्तो भएको छ ।

तपाइँको टिम घोषणा भइसकेको छ । यस टिमको सबल पक्ष के हो ?

यस टिमको सबल पक्ष भनेकै निजी क्षेत्रका समस्या नजिकबाट बुझ्नसक्ने, समस्याको सम्बोधन गर्नसक्ने क्षमता राख्ने तथा बदलिँदो चुनौतीलाई आत्मसात गर्दै देशले खोजेको परिवर्तनका लागि संवाहक हुनसक्ने छ । हाम्रो वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल देशकै एउटा प्रतिष्ठित व्यवसायी हुनुहुन्छ । उहाँमा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको व्यावसायिक अनुभव छ । यो टिम कोरोनाबाट सिर्जना भएका चुनौतीलाई परास्त गर्नेमात्र नभइ समृद्ध नेपाल निर्माणको महाअभियानको अभियन्ताका रुपमा सम्पूर्ण निजी क्षेत्रलाई अगाडि बढाउन सक्षम हुनेछ । अर्को कुरा हाम्रो यो टीम अनुभवले खारिएको छ । विश्वासले भरिएको छ । गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्याउन सक्ने हैसियत राख्छ । यसले कुनै पनि साना तथा ठूला व्यवसायिका कुनै पनि समस्याको समाधानमा सक्रिय भूमिका निभाउन सक्छ । समाधान खोज्न सक्छ । राज्यलाई कन्भिन्स गर्न सक्छ र तत्काल समाधान निकाल्न सक्छ ।

त्यसैले म फेरि पनि दोहोर्याउँछु, चन्द्र ढकालको टिम नै बेस्ट टिम हो । जिल्ला नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म रहेको उहाँको नेटवर्क र नीतिगत तहसम्म रहेको पहुँचको अरु कसैसँग तुलना गर्न मिल्दैन । यस हिसाबले सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने हाम्रो टिम मात्र हो । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ ।

एकातर्फ कोरोना संकटले अर्थतन्त्र थलिएको अवस्था छ भने अर्कोतर्फ निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आसन्न निर्वाचनका नाउँमा दुई भिन्न खेमामा विभाजित छ । यसले निजी क्षेत्रलाई कमजोर बनाउँदैन ?

निर्वाचनले महासंघलाई कमजोर बनाउँछ भन्ने त म मान्दिनँ तर निर्वाचनपछि पनि पुरानै तुष बाँकी राखिरहने हो भने निश्चय नै समस्या ल्याउँछ । निर्वाचनपछि महासंघमा यो वा त्यो खेमा भन्ने रहनु हुँदैन र जिम्मेवारी दिँदा पनि योग्यता, क्षमता र अनुभवका आधारमा दिइनुपर्छ । महासंघभित्रको समिति, फोरमलगायतको जिम्मेवारी कुनै लाभको पद वा बक्सिस होइन यो त स्वयसेवा गर्न दृढ इच्छाशक्ति भएका तथा क्षमतावानले नै पाउनुपर्छ । यसरी पुराना कुरा बिर्सेर अगाडि बढ्ने हो भने महासंघ पक्कै कमजोर हुँदैन र मेरो पनि यही नै प्रयास रहनेछ । निर्वाचनले त कुनै पनि संस्थालाई गतिशील बनाउँछ र नेतृत्वमा पुग्नेलाई राम्रो काम गर्नैपर्ने दबाब सिर्जना गर्ने भएकाले यसलाई सकारात्मक रुपमा नै लिन सकिन्छ ।

 

तपाइ जिल्ला नगर उपाध्यक्षकाे उम्मेदवार । जिल्ला नगरका प्रतिनिधिले महासंघकाे नेतृत्व भाेग माग्न मात्र जिल्ला आउँछन् । जितेपछि फोनसम्म नउठाउने भन्ने गुनासाे गरेकाे देखिन्छ । के यी गुनासा जाहेज हुन् ?

हो, हामी जिल्ला नगरका प्रतिनिधिलाई धेरै पटक यसरी नै ठगिएको हामीले पनि महशुश गरेका छौं । तर तपाईले मलाई लक्षित गरेर यो प्रश्न गरेको हो भने म सधै जिल्ला नगरमै रहेर काम गरेको मानिस हुँ । म विगत १५ वर्षदेखि महासंघमा छु । मेरो देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरुसँग सुमधुर सम्बन्ध छ र यो केबल चुनावले बनाएको सम्बन्ध होइन । त्यस्तै हाम्रो वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालकाे आफ्नै व्यवसायिक सञ्जाल छ । उहाँले वर्षैभरि मुलुकका ७७ वटै जिल्लामा व्यवसायकै शिलशिलामा आउनेजाने भइरहेको हुन्छ । हामीहरु जिल्लाका साथीहरुले बोलाएका धेरै कार्यक्रममा गइरहेका हुन्छौं । हामीले उहाँहरुको भावना बुझेका छौं, सुख दुःखमा हातेमालो गरेका छौं । म आफैं पनि सानो व्यवसायी भएको हुनाले मलाई साना व्यवसायीको समस्या अवगत छ । अहिले पनि म सक्रिय रुपमा साथीहरुका समस्या समाधानमा लागि नै रहेको छु ।

चन्द्र ढकालको टिम नै बेस्ट टिम हो । जिल्ला नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म रहेको उहाँको नेटवर्क र नीतिगत तहसम्म रहेको पहुँचको अरु कसैसँग तुलना गर्न मिल्दैन । यस हिसाबले सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने हाम्रो टिम मात्र हो । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ ।

महासंघकै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विराटनगर पुगेर अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालमा ठूलो भ्रष्टाचार गरेको, कुनै पनि हिसाबकिताब नराखेको भनेर आरोप लगाउनु भएको थियो । याे विषयमा सिंग्गाे कार्यसमिति किन माैन बस्याे ?

हो । शेखर गोल्छाले विराटनगरमा पुगेर एउटा सार्वजनिका कार्यक्रमबाटै वर्तमान अध्यक्ष राणाले आफ्नो कार्यकालमा ठूलो भ्रष्टाचार गरेको, कुनै पनि हिसाबकिताब नराखेको र महासंघको व्यवस्थापन देखेर आफूलाई लाज लागेको जस्ता अभिव्यक्ति दिनुभएको थियो । उहाँले आफू अध्यक्ष भएर आएको ६ महिनाभित्रै हर हिसाबको सम्पूर्ण अडिट गरेर सब कुरा सार्वजनिक गर्ने पनि बताउनुभएको छ । उहाँ आफै पनि वरिष्ठ उपाध्यक्ष जस्तो पदमा भएको मान्छे आफ्नै संस्थाको बारेमा किन यसरी बोल्नुभयो भन्ने सबै कार्यसमितिका व्यवसायी साथीहरुलाई लागेको छ । उहाँ एउटा गुटको नेतृत्व गरेर चुनावमा हाेमिनु भएकाे छ । भाेट तान्नकाे लागि राजनीतिमा विपक्षी दलका नेताले जस्ताे भाषण दिनु भएकाे छ । उहाँ अहिले वरिष्ठ उपाध्यक्ष जो आगामी निर्वाचन पछि स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । याे विषय तपाइले उहाँलाई साेध्नुहाेस्, उहाँले नै जवाफ दिनु हाेला ।

वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छा आगामी निर्वाचन पछि स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । तर उहाँ आफ्नाे टिमलाई जिताउन र तपाइहरूकाे टिमलाई हराउन कस्सिएर लाग्नु भएकाे छ । तपाइँहरु निर्वाचित हुनुभयो भने अध्यक्ष  गोल्छासँगको सम्बन्ध कसरी अगाडि बढ्नेछ ?

साधारणसभापछि नेतृत्व शेखर गोल्छाले लिँदै हुनुहुन्छ । अहिलेको कोरोना संकटले थलिएको र नयाँ चुनौती थपेको अर्थतन्त्रलाई पुनर्जीवन दिएर मात्र पुग्दैन कि नेपाललाई समृद्ध बनाउने योजनाका सारथी निजी क्षेत्रलाई हेर्ने नीति निर्माताको चश्मा फेरिनै पर्छ । यसका लागि हामी निजी क्षेत्र नै एक आपसमा झगडा गरेर बस्यौं भने हाम्रो अन्तरविरोधमा अरुले खेल्न सक्छ । यसैले साधारणसभापछि महासंघमा पक्ष विपक्ष भन्ने नै हुँदैन र हुनु हुँदैन । अध्यक्षलाई सफल बनाउनु भनेको महासंघलाई पनि सफल बनाउनु हो र त्यसका लागि खुला हृदयले नै सहयोग गर्नुपर्छ र नेतृत्व लिनेले पनि फराकिलो छाती बनाउनै पर्छ भन्ने मेरो भनाइ हो । जहाँसम्म शेखरजीको को कुरा उठाउनुभएको छ यहाँले त्यो उहाँले विचार गर्ने कुरा हो । भोलि काम गर्न उहाँलाई टिम त पक्कै चाहिएला । त्यसबखत पछुतो नहोस् मात्र भन्छु म त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.