
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जारी गरेको बुक विल्डिङ विधिबाट सर्वसाधारणमा सेयर निष्काशन गर्न इच्छुक कम्पनीका प्रर्वद्धक उत्साहित भएका छन् । तर उक्त सेयर सर्बसाधारणका लागि महँगो हुनुको साथै लगानीको अवसर पनि खुम्चिने देखिएको छ ।
बुक विल्डिङ विधिबाट साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्दा सेयरको मूल्य १०० रुपैयाँ भन्दा बढी हुन्छ । अंकित मूल्य १०० रुपैयाँ भएपनि त्यसमा प्रिमियम मूल्य जोडर सेयर निष्काशन हुनेछ । विगतमा एफपीओ निष्काशन हुँदा प्रिमियम मूल्य राखे झै अब साधारण सेयर निष्काशन गर्दा प्रिमियम मूल्य जोडिने छ । प्रिमियम मूल्य निर्धारण गर्ने विधि भने अन्तराष्ट्रिय अभ्यासमा आधारित र यथार्थ परक हुने जानकारहरुले बताएका छन् ।
लगानीकर्ताको लागि अवसर पनि खुम्चने भएको छ । बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्दा सर्बसाधारणलाई बिक्री गर्ने सेयरको ४० प्रतिशत संस्थागत लगानीकर्ताको लागि छुट्याउनु पर्नेछ । ६० प्रतिशत मात्र सर्वसाधारणमा वितरण गर्नु पर्ने भएको छ । बुक विल्डिङ विधि प्रक्रियामा कम्तिमा १० वटा कम्पनी भाग लिनु पर्ने र उनीहरुको लागि ४० प्रतिशत सेयर बेच्नुपर्ने व्यवस्था गरिएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । त्यस्तै, यसअघि १० कित्ता सेयर किन्न निवेदन गर्न पाउने नीति परिवर्तन गरी कम्तिमा ५० कित्ता सेयरकाे लागि निवदेन गर्नुपर्ने व्यवस्था गरिएकाे छ ।

‘अरु देशमा संस्थागत लगानीकर्तालाई ७० प्रतिशत र सर्बसाधारणमा ३० प्रतिशत वितरण गर्ने व्यवस्था गरिएको छ । तर हामीले सर्वसाधारणलाई ६० र संस्थालाई ४० प्रतिशतको व्यवस्था गरेका छौं’ विकासन्युजको यूट्युव च्यानलमा कुरा गर्दै गिरीले भने । अन्तराष्ट्रिय अभ्यासमा बुक विल्डिङ विधिबाट तय भएको मूल्य नै संस्थागत तथा सर्बसाधारणको लागि लागू हुने भए पनि नेपालमा संस्थागत लगानीकर्ताले कटअफ प्राइसमा किन्नु पर्ने तर सर्बसाधारणको लागि कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा बिक्री गर्नु पर्ने उनले बताए ।
कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्दा संकलन हुने प्रिमियम कोषको बाँडफाँड अहिलेको व्यवस्थाअनुसार नै हुने गिरीले बताए ।
बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्दा कम्पनीको प्रवद्र्धकको मिहेनत र लगानीले उचित प्रतिफल पाउने उनले बताए । १०० मा निष्काशन गरेको साधारण सेयर नेप्सेमा सूचिकृत भई कारोबार हुँदा सातामा ३/४ सय रुपैयाँ पुग्ने गरेको उदाहरण दिदै गिरीले १०० रुपैयाँको सेयर ४०० मा किनबेच भयो भने प्रवद्र्धकले प्रतिकित्ता ३०० रुपैयाँ गुमाउनु परेको बताए । पुँजी बजारको विकासका लागि कम्पनीको सेयर भ्यालु फेयर बनाउनु पनि नियामकको जिम्मेवारी भएको गिरीको भनाई छ ।
बुक विल्डिङ विधि अन्तराष्ट्रिय अभ्यासका आधारमा नै तयार गरिएको र यो विधि लागू भएपनि उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सेयर सर्वसाधारणमा निष्काशन हुने क्रम बढ्ने धितोपत्र बोर्डको विश्वास छ । ‘बुक विल्डिङ विधि लागू भएपछि पहिला सेयर निष्काशन नगरेका राम्रा कम्पनीहरुले अब सेयर निष्काशन गर्न सक्छन् यसले लगानीको अवसर वृद्धि गर्छ’ गिरीले भने ।
डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले बुक विल्डिङ विधि राम्रो भएको बताए । बुक विल्डिङ विधि आएपछि कम्पनीको थप सेयर निष्काशन गर्न सक्ने सम्भावना उनले व्यक्त गरे । बुक विल्डिङ विधिमा धेरै कुरा राम्रो भएकोले त्यसमा प्रश्न र शंका गर्नुनपर्ने भनाई आचार्यको छ । यस विधिले सेयरको फेयर प्राइस तय गर्ने उनले बताए ।
कम्पनीले यसअघि साधारण प्रकियाबाट १० प्रतिशत सेयर निष्काशन गर्न लागेको थियो । ‘कम्पनीको नेटवर्थ धेरै राम्रो छ । तर सर्वसाधारणलाई १०० रुपैयाँमा नै बेच्नु पर्ने भएकोले हामीले १० प्रतिशत सेयर मात्र सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाएका थियौं’ आचार्यले भने–‘धितोपत्र बोर्डले बुक विल्डिङ विधि जारी गरेकोले अब १० प्रतिशतभन्दा बढी सेयर निष्काशनको सम्भावना बढेको छ । तर कम्पनीमा यस विषयमा छलफल हुन बाँकी छ ।’

डिसहोम प्रवृतिको सेवा मुलक कम्पनी वा उत्पादन मुलक कम्पनीहरुले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्न इच्छुक भएमा यसअघिको प्रक्रिया फिर्ता गरेर नयाँ प्रक्रियामा जान सक्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीले बताए ।
तर बैंक, विकास बैंक, फाइनान्स, बीमा, लघुवित्त लगायत वित्तीय क्षेत्रले भने प्रतिकित्ता १०० रुपैयाँमा साधारण सेयर निष्काशन गर्नुपर्ने उनले बताए । ‘नियामकबाट १०० मा सेयर निष्काशन गर्ने सर्त स्वीकार गरेका कम्पनीहरु बुक विल्डिङ विधिमा जान सक्दैनन’ गिरीले भने–‘बैकिङ र बीमा क्षेत्रले यस्तो सर्त स्वीकार गरेर लाइसेन्स लिएका हुन्छन् ।’
यसअघि श्री फाइनान्सले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न चाहेपनि धितोपत्र बोर्डले स्वीकार नगरेको उदाहरण पनि उनले पेस गरे ।
धितोपत्र बोर्डको यो नियमसँगै साधारण सेयर निष्काशनका सर्त र विधिमा विविधता देखिएको छ । वित्तीय क्षेत्रले साधारण सेयर निष्काशन गर्नुपूर्व प्रर्वद्धकले लाभांश वितरण गर्न पाउँदैनन् । अन्य कम्पनीहरुका प्रवद्र्धकले कम्पनीको नाफा लिएपछि पनि साधारण सेयर निष्काशन गर्न पाउने व्यवस्था छ । बुक विल्डिङ विधिपछि नयाँ मापदण्ड र सर्तहरु बनेका छन् ।